रुसी डिजेल किन्ने ट्रम्पको सम्झौताले मस्कोको आर्थिक युद्धलाई ठूलो बल पुग्ने
रुसी डिजेल इन्धन किन्ने भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको सम्झौता र रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण रोक्न युक्रेनमाथि उनको तीव्र दबाबले किएभसँगको आर्थिक क्षयीकरणको युद्धमा मस्कोलाई ठूलो बल दिन सक्छ ।

एजेन्सी । रुसी डिजेल इन्धन किन्ने भनी अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले गरेको सम्झौता र रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण रोक्न युक्रेनमाथि उनको तीव्र दबाबले किएभसँगको आर्थिक क्षयीकरणको युद्धमा मस्कोलाई ठूलो बल दिन सक्छ ।
ऊर्जा विज्ञहरूका अनुसार, यो डिजेल सम्झौता अगाडि बढेमा यसले रुसी अर्थतन्त्रमा करिब ४ अर्ब अमेरिकी डलर पठाउन सक्छ । युक्रेन प्रशोधन केन्द्रहरूमा हुने आक्रमण रोक्न सहमत भयो भने त्यो क्रेमलिनका लागि अझ धेरै मूल्यवान हुन सक्छ ।
अर्को महिनाको सुरुमा हुने मध्यावधि निर्वाचनअघि इरानविरुद्धको अमेरिका–इजरायल युद्धका कारण आकाशिएको डिजेलको मूल्य घटाउने आफ्नो प्रयासमा ट्रम्पले रुसको सहयोग लिइरहँदा यसको बदलामा युक्रेनले केही पनि नपाउने देखिन्छ ।
मस्को भने युक्रेनी बन्दरगाह, इस्पात कारखाना, गोदाम, विद्युत् गृह र डेटा सेन्टरहरूमा आक्रमण जारी राख्न स्वतन्त्र छ । यस अभियानले युक्रेनको अर्थतन्त्रलाई क्रमशः चरम संकटतर्फ धकेलिरहेको छ । यस्ता आक्रमणहरूले हरेक वर्ष करिब १० अर्ब डलर बराबरको व्यावसायिक सम्पत्ति नष्ट गर्ने युक्रेनका अर्थमन्त्रीले बताएका छन् ।
साथै, रुसी युद्ध संयन्त्रलाई आम्दानीबाट वञ्चित गर्ने आफ्नो सबैभन्दा प्रभावकारी हतियारलाई त्याग्न ट्रम्पले किएभसँग माग गरिरहेका छन् । रुसी प्रशोधन केन्द्रहरू र अन्य व्यवसायहरूमा भएका युक्रेनी आक्रमणका कारण रुसले आफ्नो कुल गार्हस्थ्य उत्पादनको करिब १ प्रतिशत गुमाउनु परेको राष्ट्रपति भ्लादिमिर पुटिनले यसै महिना स्वीकार गरेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी डिजेल किन्ने ट्रम्पको निर्णयको निन्दा गर्दै शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘रुसले डिजेलको मूल्य थप आतंक र विश्वासघातका साथ ’चुक्ता’ गर्नेछ ।’
अमेरिकालाई इन्धन बेच्न अनुमति दिन प्रतिबन्धहरू फुकुवा गरेका ट्रम्पले पुटिनसँग त्यस्तो बेला आर्थिक सम्झौता गरे जब रुसी आक्रमणले युक्रेनमा सर्वसाधारणको हताहतीलाई संयुक्त राष्ट्रसंघले ‘नयाँ भयावह स्तर’ भनेको अवस्थामा पुर्याएको छ ।
पछिल्लो एक हप्तामा मात्रै १०० भन्दा बढी युक्रेनी सर्वसाधारण मारिएका छन् । युक्रेनको हवाई प्रतिरक्षा प्रणालीमा रहेका कमजोरीहरूको फाइदा उठाउँदै मस्कोले निरन्तर बढ्दै गएका शक्तिशाली र सटीक हतियारहरूको भण्डारमार्फत युक्रेनमाथि आक्रमण गरिरहेको छ ।
जेलेन्स्कीले सोमबार युक्रेनले रातभर रुसी तेल प्रशोधन केन्द्रहरूमा आक्रमण गर्नबाट परहेज गरेको बताए । तर, मस्कोले युक्रेनी ऊर्जा पूर्वाधारहरूमा आक्रमण गर्न बन्द गरेमा मात्र युक्रेन विस्तारित युद्धविराममा सहमत हुने उनले बताएका छन् । रुस युक्रेनी विद्युत् र खानेपानी प्रणाली ध्वस्त पार्ने आफ्नो लक्ष्यमा सफल भयो भने यस हिउँदमा युक्रेनमा मानवीय संकट आउन सक्ने चिन्ताहरू व्यक्त भइरहेका छन् ।
डिजेल सम्झौता यस द्वन्द्वको आक्रमणकारी रुसतर्फ सन्तुलन ढल्काउन ट्रम्प इच्छुक रहेको अर्को संकेत हो । यसपटक दुवै सेनाहरू मुख्य मोर्चामा ठूलो मात्रामा अलमलिएको बेला उनले क्रेमलिनलाई यस्तो आर्थिक लडाइँमा सहयोग प्रस्ताव गरिरहेका छन् जसले युद्धको भाग्य निर्धारण गर्न मद्दत गर्न सक्छ ।
रुसको तेल पूर्वाधारविरुद्ध युक्रेनको अभियान सन् २०२४ मा तेल डिपो र प्रशोधन केन्द्रहरूमा आक्रमण गरेर सुरु भएको थियो । सुरुमा यस प्रयासको खासै असर देखिएको थिएन । तर, युक्रेनले आफ्ना आक्रमणकारी ड्रोनहरूको संख्या विस्तार गर्दै र मर्मत गर्न कठिन हुने महत्त्वपूर्ण अंगहरूलाई कसरी निशाना बनाउने भन्ने सिक्दै गएपछि यसको असर बढ्दै गयो ।
सन् २०२५ को स्तरको तुलनामा पेट्रोल उत्पादन २० प्रतिशतले घटेको र डिजेल उत्पादन झण्डै ३० प्रतिशतले घटेको अनुमान अन्तर्राष्ट्रिय ऊर्जा निकायले गत महिना सार्वजनिक गरेको एक प्रतिवेदनमा जनाएको छ । युक्रेनी आक्रमणले रुसलाई डिजेल निर्यातमा प्रतिबन्ध लगाउन बाध्य पारेको थियो जसलाई मस्कोले अहिले अमेरिकालाई इन्धन बेच्न फुकुवा गर्ने बताएको छ ।
जनवरीदेखि अगस्टसम्म रुसको तेल कर राजस्व सन् २०२५ को सोही अवधिको तुलनामा झण्डै १७ प्रतिशतले कम थियो, ऊर्जा एजेन्सीले थप्यो ।
किएभ आफ्ना प्रशोधन केन्द्र आक्रमणहरू रोक्न बाध्य भयो भने एक अर्कालाई आर्थिक रूपमा कमजोर बनाउने यी दुई देशहरूको प्रतिस्पर्धामा रुसको अग्रता अझ बढ्नेछ ।
युक्रेनी बन्दरगाहहरू प्रायः पूर्ण रूपमा बन्द हुनुभन्दा प्रस्ट रूपमा त्यो असन्तुलन अन्यत्र कतै देखिँदैन ।
महिनौंदेखि रुसले दक्षिणी ओडेसा क्षेत्रका बन्दरगाहहरूमा आवतजावत गर्ने व्यावसायिक जहाजहरूमा आक्रमण गर्दै आएको छ । त्यहाँ जहाजहरू आउनबाट हतोत्साहित गर्नु त्यसको उद्देश्य हो । यी बन्दरगाहहरू युक्रेनको अर्थतन्त्रका लागि जीवनरेखा हुन् । तिनले देशको कुल निर्यात परिमाणको ६० प्रतिशत हिस्सा ओगट्छन् । देशको उर्वर कृषि भूमिबाट खाद्यान्न निर्यात गर्न यिनै बन्दरगाहहरू प्रयोग गरिन्छ जुन आम्दानीको मुख्य स्रोत हो ।
द न्युयोर्क टाइम्सले प्राप्त गरेको बन्दरगाह तथ्यांक अनुसार, रुसी आक्रमणका कारण गत वर्षको सोही अवधिको तुलनामा अगस्ट र सेप्टेम्बरमा ओडेसाका तीन बन्दरगाहहरूको आवागमन झण्डै ९५ प्रतिशतले घटेको थियो । गत वर्षको सोही महिनामा २६६ वटा जहाज बन्दरगाहबाट बाहिरिएका थिए भने यस वर्ष सेप्टेम्बरमा १२ वटा जहाज मात्र बाहिरिन सकेका थिए ।
युक्रेनले केही आवागमनलाई देशलाई रोमानियासँग जोड्ने ड्यान्युब नदीका बन्दरगाहहरूतर्फ मोड्ने प्रयास गरेको छ । जहाजहरू रोमानिया हुँदै नदीबाट यात्रा गरेर फेरि कृष्ण सागरमा प्रवेश गर्न र नेटो देशहरूको तटीय क्षेत्र हुँदै टर्कीतर्फ जान सक्छन् । तर, ड्यान्युबका बन्दरगाहहरूले सामान्यतया ओडेसाका बन्दरगाहहरूबाट आवतजावत हुने कार्गोको करिब आधा मात्र धान्न सक्छन् ।
र अब ड्यान्युब मार्ग पनि जोखिममा परेको छ । गत साता रोमानिया र बुल्गेरियाको तटनजिक ड्रोनहरूले तीनवटा जहाजमा आक्रमण गर्दा दुईवटा डुबेका थिए र चालक दलका धेरै सदस्यहरू मारिएका थिए । रोमानियाली अधिकारीहरू र बन्दरगाह तथ्यांक अनुसार, ती तीनवटै जहाजहरूले विगतमा युक्रेनी अन्न ढुवानी गरेका थिए ।
रोमानिया र बुल्गेरियाले कसैलाई दोष दिनबाट जोगिए तापनि युक्रेनले ती आक्रमणहरू रुसले गराएको आरोप लगाएको छ । रुसले यी आक्रमणहरूबारे कुनै टिप्पणी गरेन ।
युक्रेनको समुद्री निर्यात रोकिनुले देशको अर्थतन्त्रमा विनाशकारी परिणाम ल्याउन सक्छ जसको असर धेरै क्षेत्रहरूमा पर्नेछ । युक्रेनका कृषिमन्त्रीले यसै महिना बताएअनुसार, किसानहरू करिब ३० अर्ब डलर बराबरको करिब ३ करोड टन कृषि उत्पादन निर्यात गर्न असमर्थ भएका छन् ।
रुसले पनि आफ्ना कृष्ण सागरस्थित बन्दरगाहहरूमा भएका युक्रेनी आक्रमणहरूबाट क्षति बेहोरेको छ जसले गर्दा उसको कृषि निर्यात सीमित भएको छ । तर, यसको असर तुलनायोग्य नरहेको अर्थशास्त्रीहरू बताउँछन् किनभने रुससँग बाल्टिक र क्यास्पियन सागरसहित युक्रेनभन्दा धेरै निर्यात मार्गहरू छन् जहाँ युक्रेनी हतियारहरू सजिलै पुग्न सक्दैनन् ।
त्यही असन्तुलनको संकेतस्वरूप अमेरिकी कृषि विभागको अनुमान अनुसार, रुस सन् २०२५–२६ को मार्केटिङ वर्षमा दुई दशकमा पहिलोपटक युक्रेनलाई उछिन्दै सूर्यमुखी तेलको विश्वकै सबैभन्दा ठूलो निर्यातक बन्यो ।
रुसले युक्रेनको आर्थिक आधारलाई तहसनहस पार्न योजनाबद्ध शैली अपनाइरहेको देखिन्छ जहाँ उसले निर्यात मार्ग, कारखाना र ऊर्जा पूर्वाधारहरू लगायत अर्थतन्त्र सञ्चालनका लागि आवश्यक पर्ने सबै प्रकारका सम्पत्तिहरूमा आक्रमण गरिरहेको छ ।
युक्रेनको सबैभन्दा ठूलो इस्पात उत्पादक कम्पनी मेटइन्भेस्टको अवस्था यसको एउटा ज्वलन्त उदाहरण हो ।
दक्षिणपूर्वी युक्रेनका दुई ठूला इस्पात कारखानाहरूसहित यसका प्लान्टहरू विद्युत् प्रसारण ग्रिडमा भएका रुसी आक्रमणका कारण बिजुली कटौतीको समस्या पहिलेदेखि नै झेलिरहेका थिए । त्यसपछि बन्दरगाहहरूमा आक्रमण भयो र त्यसले मुख्य निर्यात मार्ग अवरुद्ध ग¥यो । रेलवेमा भएका आक्रमणहरूले यसका उत्पादनहरू देशभित्रै अलपत्र पारे । अन्ततः प्लान्टहरूमा नै भएका आक्रमणहरूले गर्दा गत महिना ती बन्द हुन बाध्य भए ।
गत वर्ष युक्रेनको आर्थिक उत्पादनमा ७ प्रतिशतभन्दा बढी योगदान पुर्याएको युक्रेनी इस्पात उद्योगको पतनले गम्भीर आर्थिक परिणाम ल्याउने मेटइन्भेस्टका प्रमुख सञ्चालन अधिकृत ओलेक्सान्डर मिरोनेन्कोले बताए । कम्पनीले प्रशासनिक कर्मचारीहरूको कटौती गर्ने योजना बनाइरहेको छ र इस्पात प्लान्टहरूमा निर्भर शहरहरूको बजेट खुम्चिनेछ ।
सेप्टेम्बर महिनामा एक शताब्दीमै पहिलोपटक युक्रेनमा एक हप्तासम्म एक मेट्रिक टन इस्पात पनि उत्पादन हुन सकेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




