रोहित पौडेलको कप्तानी यात्रा टुंगियो, सन्दीप लामिछानेले सम्हाले नेपाली टोलीको नेतृत्व

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई धन्यवाद दिँदै कप्तानी जिम्मेवारीबाट बिदाइ गरेको छ। क्यानले रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धिहरू स्मरणीय रहेको जनाएको छ।
क्यानले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै रोहितले नेपाली क्रिकेटको विकास र सफलताका लागि पुर्याएको योगदानको प्रशंसा गरेको हो।
“नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ संकल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले उल्लेख गरेको छ। “देश, टोली र खेलप्रतिको तपाईंको प्रतिबद्धता सधैँ प्रेरणादायी रहनेछ।”
क्यानले कप्तानीको जिम्मेवारीबाट अलग भए पनि रोहितले आगामी दिनमा नेपाली टोलीको प्रतिनिधित्व उही गर्व र समर्पणका साथ गर्ने विश्वास व्यक्त गरेको छ। साथै उनलाई ‘एकपटकको नेता, सधैँको नेता’ भन्दै सम्मान गरेको छ।
रोहितको स्थानमा क्यानले लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय टोलीको नयाँ कप्तान नियुक्त गरेको छ। सन्दीपको नेतृत्वमा नेपालले आगामी अगस्ट ३० देखि मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।
नेदरल्याण्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको कमजोर प्रदर्शनपछि क्यानले नेतृत्व परिवर्तन गरेको हो। यसअघि नै टी–२० टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीलाई दिइसकेको क्यानले अब ओडिआई टोलीको जिम्मेवारी पनि सन्दीपलाई सुम्पिएको हो।
सन् २०२२ मा कानुनी विवादपछि कप्तानी गुमाएका सन्दीप करिब चार वर्षपछि पुनः राष्ट्रिय टोलीको नेतृत्वमा फर्किएका हुन्।
एसीसी प्रिमियर कपका लागि नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, डा. इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त धामी।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



