रसुवा बाढीः एक हजार २९३ शव फेला, उद्धारमा सात हजार ९१२ प्रहरी परिचालन
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन

रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण शुक्रबार अपराह्नसम्म एक हजार २९३ जनाको शव फेला परेको छ ।
केन्द्रीय प्रहरी कार्यालयका प्रवक्ता अविनारायण काफ्लेका अनुसार रसुवामा १४०, नुवाकोटमा १८६, धादिङमा ६५, चितवनमा ३५९, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासीपूर्वमा २२१ र नवलपरासीपश्चिममा १९४ र भारतमा भेटिएको (नवलपरासी पश्चिममा बुझाएको) १८ गरी एक हजार २९३ शव फेला परेको हो ।
घाइते भएकामध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ । जसमध्ये एक जनाको टिचिङ अस्पताल र एक जनाको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
फेला परेका शवको पहिचानका लागि डीएनए नमुना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ नखुलेको गरी जम्मा एक हजार ३० वटा शव व्यवस्थापन गरिएको छ ।
शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका ८४६ गरी दुई हजार १०६ वटा डीएनए नमुना संकलन गरिएको छ । साथै पहिचान नभएका एक हजार २६३ शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा पनि राखिएको प्रहरी प्रवक्ता काफ्ले जानकारी दिए ।
बाढीप्रभावित क्षेत्रमा उद्धार, खोजी, राहत वितरण, शव व्यवस्थापनलगायतका कार्यका लागि हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।
हालसम्म बेपत्ता भएका चार हजार ८९८ जनाको खोजी भइरहेको छ । यसैगरी विभिन्न जिल्लामा रहेका होल्डिङ सेन्टरमा तीन हजार ६५५ व्यक्तिलाई राखिएको छ ।
प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्धार एवं खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने काम गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




