राष्ट्रसंघीय महासभामा जाँदै प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने भएका छन् । महासभामा उनले नेपालमा हालै आएको भोटेकोशीको विनाशकारी बाढी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने भएका छन् ।
नेपालमा बाढीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा रास्वपाका नेताहरूले आग्रह गरेपछि शाह जान लागेको स्रोतको भनाइ छ । परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि न्युयोर्कस्थित नेपालको स्थायी नियोगलाई परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीको भ्रमण छोटो हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । ‘प्रधानमन्त्री नेतृत्वको नेपाली टोलीको भ्रमणका लागि तयारी थालिसकेका छौं,’ ती अधिकारीले भने, ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट भ्रमण तालिका छोटो राख्न र प्रतिनिधिमण्डल पनि सानो बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन आएको छ ।’ निर्देशन भर्खर मात्रै पाएकाले प्रधानमन्त्रीको टोलीमा कोको जाने भन्ने टुंगो लागि नसकेको ती अधिकारीले बताए ।
३ भदौको मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री खनाललाई महासभामा पठाउने निर्णय गरेको थियो । तर १० भदौमा सयौंको ज्याने जाने गरी र लाखौं परिवार प्रभावित हुने गरी भोटेकोशीमा बाढी आएपछि जलवायु परिवर्तनजन्य विपद्बाट हिमाली क्षेत्रमा परिरहेको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री महासभामा जानुपर्ने माग उठेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




