Logo
Logo
समाचार

‘राज्यका सबै अंगलाई स्वार्थको आज्ञाकारी निकाय बनाइँदैछ’ : प्रदीप ज्ञवाली

नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाएका छन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १२ गते २३:४७
३४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले वर्तमान सरकारले राज्यका सबै अंगलाई आफ्ना निहित स्वार्थको आज्ञाकारी निकायका रूपमा रूपान्तरण गर्न खोजेको आरोप लगाएका छन् । 

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरी, कर्मचारीतन्त्रलगायत राज्यका विभिन्न निकायमा कार्यरत व्यक्तिले राम्रो कार्यसम्पादन गरे पनि उनीहरूको व्यक्तिगत स्वार्थ पूरा हुन्छ कि हुँदैन भन्ने आधारमा व्यवहार गरिने अवस्था रहेको बताए ।

लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था भएको उल्लेख गर्दै ज्ञवालीले जनमत प्राप्त गरेको सरकारले पनि लोकतान्त्रिक प्रक्रिया र संसदीय अभ्यासको पालना गर्नुपर्ने बताए । प्रतिनिधि सभाबाट आवश्यक कानुन पारित गर्नसक्ने अवस्था हुँदाहुँदै सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गरिरहेको भन्दै उनले यसले मुलुकलाई असहज परिस्थितितर्फ धकेलेको टिप्पणी गरे ।

नेता ज्ञवालीले दण्डहीनतालाई निरन्तर प्रश्रय दिइए प्रत्येक १० वर्षमा हिंसा र विध्वंशका माध्यमबाट सत्ता परिवर्तन गर्ने गलत नजिर स्थापित हुने चेतावनी दिए । नेपालले शान्तिपूर्ण आन्दोलनबाट २४० वर्ष लामो राजसंस्थाको अन्त्य गरेको र १० वर्ष लामो सशस्त्र द्वन्द्वलाई शान्ति वार्तामार्फत समाधान गरेको उदाहरण प्रस्तुत गर्दै उनले नेपालले विगतमा शान्तिपूर्ण राजनीतिक परिवर्तनको दृष्टान्त स्थापित गरेको बताए । 

गत वर्ष हिंसा र विध्वंशको बाटोबाट सत्ता परिवर्तन भएको भन्दै उनले त्यसलाई लोकतान्त्रिक अभ्यासका रूपमा स्वीकार गर्न नसकिने बताए । निर्वाचनमा आफ्नो पार्टीलाई शून्य सिटमा झार्न सकिने तर त्यसका लागि निर्वाचन नै उपयुक्त माध्यम भएको उनको भनाइ छ । अहिले एमाले २५ र नेपाली काँग्रेस ३८ सिटमा रहेको उल्लेख गर्दै उनले निर्वाचनबाट पराजित भए पनि पाँच वर्ष कुर्न तयार रहेको बताए । तर कानुन हातमा लिएर देशका महत्त्वपूर्ण संरचनाहरू जलाउने र मुलुकलाई खरानी बनाएर गरिने परिवर्तनलाई कुनै पनि हालतमा उचित ठहर्‍याउन नसकिने उनले बताए ।

भदौ २३ र २४ गतेका घटनाले राष्ट्रिय भावनाको आधारलाई नै उल्ट्याउने अवस्था सिर्जना गरेको टिप्पणी गर्दै ज्ञवालीले राजनीतिक परिवर्तनका नाममा हिंसा र विध्वंशलाई वैधता दिन नहुनेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित