राजीव खत्रीले पत्रकारलाई ‘असनकाे साँढे’ भनेकाेमा महासंघकाे विराेध
महासंघले प्रेस विज्ञप्तिमार्फत खत्रीको अभिव्यक्ति पत्रकारिता क्षेत्रको अपमान हुने खालको रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासंघलाई जोडेर दिएको अभिव्यक्तिप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले प्रेस विज्ञप्तिमार्फत खत्रीको अभिव्यक्ति पत्रकारिता क्षेत्रको अपमान हुने खालको रहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
महासंघका अनुसार असोज १४ गते बसेको प्रतिनिधिसभा बैठकमा खत्रीले प्रेस काउन्सिललाई लक्षित गर्दै ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै ‘पत्रकारको नाममा कसैलाई पनि असनको साँढे बन्ने छुट हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।
महासंघका नेताहरूले दलहरूको दलदलमा पसेर गुण्डागर्दीको भाषा बोल्नु आपत्तिजनक रहेको भन्ने खत्रीको अभिव्यक्तिलाई महासंघले अशोभनीय, अमर्यादित र अराजक भनेको छ ।
महासंघले खत्रीको उक्त अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै तत्काल क्षमायाचना गर्न आग्रह गरेको छ । विवादित अभिव्यक्तिका कारण खत्रीले शुक्रबारका लागि राखेको अन्तर्क्रिया भक्तपुरका पत्रकारहरूले बहिष्कार गर्ने जनाउ दिएको भन्दै महासंघले तत्काल क्षमा माग्नुपर्ने जनाएको छ ।
त्यस्तै, महासंघले खत्रीको अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सभामुखसँग माग गरेको छ । संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरुद्ध दूषित मानसिकता राखेर पत्रकार तथा प्रेस जगत्लाई धम्क्याउने वा अपमानित गर्ने कार्यमा संलग्न खत्रीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग महासंघले माग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




