राजदेवी मन्दिरमा करिब १५ हजार बोका बलि प्रदान
बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो

जनकपुरधाम । जनकपुरधामस्थित राजदेवी मन्दिरमा यस वर्ष १४ हजार ८९१ वटा बोका बलि चढाइएको छ ।
बडादसैँ पर्वअन्तर्गत महाअष्टमीको अवसरमा आइतबार रातिदेखि आज बिहानसम्म १४ हजार ८९१ वटा बोका बलि दिएको हो । महावीर युवा कमिटी जनकपुरधामका अध्यक्ष दीपककुमार साहका अनुसार राजदेवी माताप्रति आस्था राख्ने श्रद्धालु भक्तजनले धार्मिक परम्पराअनुसार एवं भाकल गरेकाहरूले बोका बलि प्रदान गरेका हुन् ।
बोका बलि दिने कामलाई व्यवस्थित बनाउन सो युवा कमिटीले मन्दिर परिसरमा चार स्थानमा बलि दिन सकिने व्यवस्था मिलाएको थियो । अघिल्लो वर्ष २०८२ सालको विजयादशमीमा १४ हजार ९०३ वटा बोका बलि प्रदान गरिएको थियो ।
बोका बलि सुरु हुनुअघि राममन्दिरका पुजारी महन्तराम गिरीले निशा पूजा गरेका थिए । महाअष्टमीको रात राजदेवी मन्दिर माताको दर्शन तथा पूजाआजाका लागि भारतबाट पनि श्रद्धालुहरु आउने गरेको अध्यक्ष साहले जानकारी दिए।
मन्दिरमा दर्शनार्थीको चाप बढ्ने भएकाले भक्तजनलाई सहज रूपमा पूजाआजा र दर्शन गर्ने वातावरण मिलाउन आवश्यक तयारी गरिएको अध्यक्ष साहले बताए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्काले चाडपर्वका बेला हुने भीडभाड व्यवस्थापन तथा सुरक्षा अवस्थालाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरिएको जानकारी दिए ।
उनका अनुसार चाडपर्वलाई ध्यानमा राखेर लामो दूरीका सवारीसाधनमा जाँच, नियमित गस्ती तथा बैंक एवं वित्तीय संस्था, सुनचाँदी पसल र मोटरसाइकल चोरी नियन्त्रणका लागि जिल्लाभर विशेष सुरक्षा कार्ययोजना लागू गरिएको छ ।
यस वर्षको बडादसैँमा धनुषा जिल्लामा ७० वटा पिकेट, ४६ वटा पैदल गस्ती, सातवटा बजार अनुगमन टोली, सातवटा विशेष अपरेसन टोली, १५ वटा विपद् प्रतिकार्य टोली तथा १३ वटा गाडी र मोबाइल टोली परिचालन गरिएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




