Logo
Logo
समाचार

पुल नहुँदा पाँच मिनेटको दूरी पार गर्न ५५ किलोमिटर घुम्नुपर्ने बाध्यता, वर्षौंदेखि पुलको पर्खाइमा भरवलियावासी

स्थानीयका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २२ गते १५:२९
५७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । रुपन्देहीको मर्चवारस्थित सम्मरीमाई गाउँपालिका-५ को भरवालिया गाउँका बासिन्दा वर्षौंदेखि आधारभूत पूर्वाधार र सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य छन् ।

नदीमा पक्की पुल नहुँदा नजिकै रहेको बस्तीमा पुग्नसमेत घण्टौँ खर्चिनुपर्ने अवस्था छ । पाँच मिनेटमा पार गर्न सकिने नदी तर्न स्थानीयले ५० देखि ५५ किलोमिटर घुम्नुपर्ने र गाडीमा गए पनि डेढदेखि २ घण्टा टाढाबाट घुम्नुपर्ने बाध्यता रहेको छ । नदीको वारी र पारी रहेका बस्तीका बासिन्दालाई आवतजावत गर्न मात्रै होइन, खेतीपाती गर्न, कृषि उपज ओसारपसार गर्न तथा दैनिक जीवनयापन गर्नसमेत धेरै नै समस्या हुने गरेको छ । गाउँमा सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सुविधाको सहज पहुँचसमेत नपुगेको स्थानीयको गुनासो छ ।

 स्थानीय जमेरून निशा, जेलिल देवान, नुरूद होदा मुसलमान, बेचन हरिजनले वर्षौंदेखि आफूहरूले दुःख भोग्दै आएपनि समस्या समाधानका लागि सम्बन्धित निकायले पर्याप्त चासो नदिएको बताए । 

उनीहरूकाअनुसार गाउँमा न सिधा सडक छ, न सहज आवागमनको व्यवस्था,शिक्षा र स्वास्थ्य सेवाका लागि समेत सहज पहुँच नहुँदा स्थानीयले अनेक कठिनाइ झेल्नुपरेको छ । 

स्थानीयकाअनुसार विसं २०३२ मा बाढी पसेपछि एउटा गाउँ खोला वारी र पारी छुट्टाएको हो । गाउँ विस्थापित हुँदा बस्तीलाई पुरानो स्थानबाट करिव एक किलोमिटर टाढा सार्नुपरेको थियो । त्यसपछि पनि प्राकृतिक विपत्तिको जोखिम र पूर्वाधार अभावले गाउँलेको जनजीवन सहज हुन सकेको छैन ।

विसं २०६० मा तत्कालीन वडा नम्बर ५ अन्तर्गतको मंगलपुर गाउँमा भएको आगलागीले ५ जनाको मृत्यु भयो भने ठूलो क्षति पुर्‍याएको स्थानीयले स्मरण गरेका छन् । आगलागीका बेला उद्धार र उपचारको पर्याप्त व्यवस्था नहुँदा पीडा भोग्नुपरेको तथा परिवारका सदस्यसमेत गुमाउनुपरेको उनीहरूको भनाइ छ । विपत्तिका बेला आवश्यक सहयोग नपाएको र त्यसपछि पनि आफूहरूको अवस्था बुझ्न तथा समस्या समाधान गर्न कोही नफर्किएको स्थानीयको गुनासो छ । 

‘वर्षौंदेखि दुःख भोगिरहेका छौँ । गाउँमा सिधा बाटो छैन, शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच छैन । नदीपारि जानुपर्दा लामो बाटो घुम्नुपर्छ । हाम्रो समस्या सुन्ने र समाधान गर्ने कोही भएन,’ खेतमा बदाम खन्दै गरेका स्थानीय राजेन्द्र गुप्ताले भने।

पक्की पुल बने ५० हजार मानिस लाभान्वित हुने दाबी
स्थानीय अगुवा वाजिद अली देवानले भरवालिया गाउँको आवागमन सहज बनाउन सडक निर्माणका लागि पहल गर्दै आएको बताए । उनकाअनुसार नदीमा पक्की पुल निर्माण हुनसके भरवालियासहित बुद्ध जन्मस्थल लुम्बिनी आसपासका क्षेत्रका करिव ५० हजार मानिस प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । 

‘एउटा पक्की पुल र सिधा सडक निर्माण हुन सके यहाँका नागरिकले भोग्दै आएको ठूलो समस्या समाधान हुन्छ,किसानलाई खेतबारीमा पुग्न, कृषि उपज बजारसम्म पुर्‍याउन र बिरामीलाई उपचारका लागि लैजान सहज हुन्छ,’ स्थानीय अगुवा देवानले भने। 

उनकाअनुसार पुलको अभावले स्थानीयको समय र खर्च मात्रै बढाएको छैन, शिक्षा, स्वास्थ्य, कृषि र आर्थिक गतिविधिमा समेत असर पारेको छ । सहज सडक सञ्जाल नहुँदा गाउँको समग्र विकास प्रभावित भएको उनको भनाइ छ । यस वडामा करिव ६ हजार ५ सय जनसंख्या छ भने पालिकाभर ४३ हजार जनसंख्या छ । उनले यहाँको वास्तविक अवस्थाका बारेमा अहिलेको सरकार र पूर्वाधार मन्त्री सुनिल लम्सालसहित यसक्षेत्रका संघीय सांसदहरू कन्हैया वनिया र तैफिक अहमदलाइ समेत भेटेरै जानकारी गराइएको बताए । यो रुपन्देहीको क्षेत्र न ४ अन्तर्गत पर्दछ । 

तिनाउ दानव नदीमा एउटा झोलुङ्गे पुल भएपनि त्यसबाट सवारीसाधन लैजान सकिने अवस्था छैन । त्यसैले नदीको अर्को किनारमा रहेका खेतबारीमा पुग्न किसानलाई कठिनाइ हुने गरेको छ । खेतमा बाली लगाउनेदेखि स्याहार्ने र उत्पादन भित्र्याउने बेलासम्म किसानले अतिरिक्त समय, श्रम र खर्च व्यहोर्नुपरेको छ । बीउबिजन, पानी तथा कृषि सामग्री ओसारपसार गर्नसमेत समस्या हुने गरेको उनीहरूको भनाइ छ । 

चुनावी आश्वासनमा सीमित छ यहाँको विकास
स्थानीयले चुनावका बेला विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर विकासका आश्वासन दिने गरे पनि व्यवहारमा अपेक्षित परिवर्तन नआएको गुनासो गरेका छन् । स्थानीयका अनुसार राजनीतिक नेतृत्व विभिन्न पदमा पुगे पनि बरवरियाको सडक, पुल र आधारभूत सेवासम्बन्धी समस्या समाधान हुन सकेको छैन । मर्चवार क्षेत्रका विभिन्न बस्तीमा पूर्वाधार विकासको आवश्यकता रहेको उल्लेख गर्दै स्थानीयले बरवरियाको समस्यालाई प्राथमिकतामा राख्न माग गरेका छन् । खासगरि उनीहरूले तिनाउ दानव नदीमा पक्की पुल निर्माण, सडकको स्तरोन्नति तथा शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् । उनीहरूको मूल पेशा नै खेतिकिसानी र मजदुरी रहेको छ ।

स्थानीयका लागि पक्की पुल केवल नदी वारपार गर्ने संरचना मात्रै होइन, वर्षौंदेखि भोग्दै आएको सास्तीबाट मुक्ति पाउने आशा पनि हो । पुल निर्माण भए किसानलाई खेतीपाती गर्न, बालबालिकालाई विद्यालय जान, बिरामीलाई अस्पताल पुर्‍याउन र गाउँका बासिन्दालाई दैनिक कामकाज गर्न सहज हुने स्थानीय नन्दलाल हरिजनको भनाइ छ । वर्षौंदेखि विकासको प्रतीक्षामा रहेको भरवलियाका बासिन्दाले अब आश्वासनभन्दा कामको अपेक्षा गरेका छन् । आधारभूत सेवाको समेत सहज पहुँच नभएको यो गाउँमा सरोकारवालाको ध्यान समयमै जान जरूरी देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित