प्रेस काउन्सिलमा बबण्डर, अध्यक्षलाई झ्यालबाट टिपेर फ्याँक्ने पत्रकारको चेतावनी
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनसम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौं । नेपाल प्रेस काउन्सिलका पदाधिकारी र नेपाल पत्रकार महासंघबीच आज गम्भीर वादविदाद भएको छ । पत्रकारका नेताले आफूहरुमाथि धाकधम्की दिएको आरोप काउन्सिल पदाधिकारीले लगाएका छन् ।
लोक कल्याणकारी विज्ञापनको रकम घटाइएको विषयलाई लिएर महासंघ केही दिनदेखि आन्दोलित छ । महासंघका सदस्यहरुले काउन्सिलमा धर्ना दिइरहेका छन् ।

यसै सिलसिलामा आज महासंघको टोलीसँग काउन्सिल पदाधिकारीबीच अनौपचारिक छलफल हुँदा लफडा भएको हो । छलफलमा विशेषतः पत्रकार नेताहरु आक्रामकरुपमा प्रस्तुत भएका थिए ।
यही क्रममा पत्रकार नेता दीपक पाण्डेले प्रेस काउन्सिलका अध्यक्ष उमेश श्रेष्ठलाई टिपेर झ्यालबाट फ्याँक्ने चेतावनी दिएको बताइएको छ । अध्यक्ष श्रेष्ठले यो विषयमा काउन्सीललाई दवाव दिएर केही नहुने भन्दै मन्त्रालय जान सुझाएका थिए ।
‘तपाईंहरुले गलत बाटो रोज्नुभयो । हामी यसको समाधान गर्न सक्दैनौं’ उनले लाचारी देखाउँदै भनेपछि महासंघका प्रतिनिधि आक्रोशित बने ।
‘यदि समस्या समाधान गर्न नसक्ने भए कुर्सीमा बस्ने अधिकार छैन’ भन्दै उनीहरु जंगिएका थिए । यही क्रममा पाण्डेले झ्यालबाट फ्याँक्ने चेतावनी दिएका हुन् । जवाफमा श्रेष्ठले पनि फ्याकेर देखाउन चुनौति दिएका थिए ।
काउन्सिलका ४ जना सदस्यले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेका छन् । रविराज बराल, उपासना घिमिरे, नम्रता शर्मा र प्रकाशभक्त माथेमाले जारी गरेको विज्ञप्तिमा अध्यक्षको कार्यकक्षमा अपमानजनक व्यवहार भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल पत्रकार महासंघको नेतृत्वसँग लोककल्याणकारी विज्ञापनसम्बन्धी छलफलका क्रममा पत्रकार दीपक पाण्डेले काउन्सिलका अध्यक्षलाई ‘झ्यालबाट टिपेर फालिदिन्छु’ लगायतका धम्कीपूर्ण अभिव्यक्ति दिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ । छापामाध्यम बचाउ सुझाव कार्यदलका मागका सम्बन्धमा काउन्सिल अध्यक्षको कार्यकक्षमा छलफल जारी रहँदा अन्य सहभागीबाट काउन्सिलका पदधिकारी र कर्मचारीसमेतलाई अपमानजनक व्ववहार भएकोमा हामी भर्त्सना गर्छौं ।’
छलफल र असहमतिका क्रममा समेत यस्तो धम्कीपूर्ण भाषा स्वीकार्य नहुने उनीहरुले बताएका छन् । काउन्सिलको पदेन सदस्य रहेकी पत्रकार महासंघ अध्यक्ष निर्मला शर्माको भने विज्ञप्तिमा हस्ताक्षर छैन ।
नेपाल प्रेससँग कुरा गर्दै शर्माले अनौपचारिक कुराकानीका क्रममा अभद्र व्यवहार भएको स्वीकारोक्ति गरिन् ।
उनले भनिन्, ‘व्यक्तिविशेषले के भन्नुभयो भन्दा पनि महासंघका प्रतिनिधिहरु आक्रामकरुपमा नै प्रस्तुत हुनुभएको थियो । अलिकति अभद्र व्यवहार भएकै हो । यसमा म महासंघ अध्यक्षका हिसाबले क्षमाप्रार्थी छु ।’
आफू महासंघको पनि नेतृत्वदायी पदमा भएकाले विज्ञप्तिमा हस्ताक्षर गर्न नमिलेको तर, बैठक राखेर घटनाको भर्त्सना गर्न तयार रहेको उनको भनाइ छ ।
के हो विवाद ?
सञ्चार मन्त्रालयले नयाँ कार्यविधि बनाएर लोककल्याणकारी विज्ञापनको रकम घटाएपश्चात महासंघका महासचिवको नेतृत्वमा पत्रकारहरुले आन्दोलन गरिरहेका छन् ।
यस कार्यमा काउन्सिल जिम्मेवार रहेको ठहर महासंघको छ । काउन्सिल भने आफूहरुले विज्ञापनको रकम घटाउने निर्णय नगरेको भनेर मन्त्रालयतिर पन्छाउन खोजिरहेको छ ।
नेपाल प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल लोककल्याणकारी विज्ञापनको रकम घटाउने काम काउन्सिलले नगरेको बताउँछन् ।
उनले भने, ‘हामीले पत्रपत्रिकाको वर्गीकरण गर्ने हो । लोक कल्याणकारी विज्ञापनको रकम घटाउने निर्णय काउन्सिलबाट कहिले पनि भएको छैन । यो विज्ञापन बोर्डको सिफारिसमा मन्त्रालयले गरेको हो ।’
भुषालका अनुसार महासंघले आन्दोलन गरिरहेपछि आज काउन्सिलले यसको समाधानका विषयमा बोर्ड वैठकमा छलफल गर्ने तयारी गरेको थियो । तर, त्यसपूर्व नै महासंघको टोली अध्यक्षको कार्यकक्षभित्र पसेपछि अप्रिय अवस्था आएको उनको भनाइ छ ।
‘(महासंघका) महासचिवज्यूले भेट्न खोज्नुभएको छ भन्ने सन्देश आएपछि उहाँलाई भित्र बोलाइएको थियो । तर महासचिवसँगै महासंघको टोली नै भित्र छिर्यो र उहाँहरु अलिकति अमर्यादितरुपमा प्रस्तुत हुनुभयो ।’
महासंघकी अध्यक्ष शर्मा लोककल्याणकारी विज्ञापन घटाइएको विषयमा मन्त्रालयले नै काउन्सिललाई देखाएपछि पत्रकारहरुले दवावमूलक कार्यक्रमहरु गरिरहेको बताउँछिन् ।
उनी भन्छिन्, ‘हाम्रो कार्यदललाई मन्त्रीज्यूले काउन्सिलको निर्णय सच्चिएर आयो भने म मान्छु भन्नुभएको रहेछ । त्यसैले महासंघका साथीहरु काउन्सीललाई दबाब दिन जानुभएको हो । यसै विषयमा प्रष्ट पारेर मन्त्रालयलाई पत्र लेख्नका लागि आज ४ बजे बैठक बोलाइएको थियो । म त्यही बैठकमा भाग लिन गएकी थिएँ । तर बैठकपूर्व नै वादविवाद भयो । पछि बैठक बसेर पत्र लेख्ने विषयमा निर्णय भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




