प्रहरी नेतृत्वमाथि खगेन्द्र सुनारको प्रलाप, ‘अनर्गल’ आरोपको वर्षा
दानबहादुरजीले एआईजी डम्बर विकलाई ‘तेरो थरको मान्छे हो, गएर कुरा मिला’ भनेर पठाउनुभएको रहेछ । एआईजी साबले मलाई फोन गरेर ‘चिफ साब रोएर हैरान हुनुभयो, जोगाइदिनुपर्यो’ भन्नुभयो । मैले बिर्सेर पनि यस्तो कुरा नगर्नु भनेर फर्काइदिएँ । यताबाट सम्झौता नभएपछि मलाई सिध्याउन अहिले मिडिया र उजुरीको खेती गरिएको हो ।’ उनले भने ।

काठमाडौं । रास्वपा सांसद खगेन्द्र सुनार फेरि एकपटक प्रहरी नेतृत्वविरुद्ध गालीगलौजमा उत्रिएका छन् ।
राजदूत नियुक्तिमा रकम असुली गरेको आरोप लागेपछि उनले संयम गुमाउँदै प्रहरी महानिरिक्षक दानबहादुर कार्कीमाथि लाञ्छना लगाएका हुन् ।
सुनारले राजदूत नियुक्तिमा आर्थिक चलखेल गरेको भन्दै संसदीय समितिमा उजुरी परेको छ । आज केही कन्टेन्ट क्रियटरहरुले यो विषयमा प्रश्न राखेपछि सुनार नराम्ररी भड्किए । उनले सिधा जवाफ नदिइकन यसमा प्रहरी महानिरिक्षक कार्कीले आफूविरुद्ध षडयन्त्र रचेको आरोप लगाए ।
म्यादी प्रहरीको लत्ताकपडा खरिद प्रकरणमा भएको अनियमितताबारे संसदीय उपसमितिका सदस्य हुन् सुनार । तर छानविन सुरु नहुँदै उनले कार्कीलाई भ्रष्ट करार गरेका छन् । आज पनि उनले आइजीपी कार्कीको नामै लिएर लल्कारे ।
प्रहरी महानिरीक्षक कार्कीले पद र बर्दीको आडमा राजनीति गरिरहेको आरोप लगाउँदै सुनारले भने, ‘हेडक्वार्टरमा बसेर स्रोत–साधनको दुरुपयोग गर्ने ? मान्छेलाई हत्कडी, बन्दुक र बर्दी देखाएर तर्साउने ? मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई— भाइ दम छ भने बर्दी खोल, अनि बाहिर आएर चुनाव लड । होइन भने यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने कुनै नैतिक अधिकार छैन ।’
उनले प्रहरी मुख्यालयभित्रैबाट सामाजिक सञ्जालमा ‘साइबर सेल’ खडा गरेर आफ्नो चरित्रहत्या गर्ने प्रयास भइरहेको दाबीसमेत गरे ।
आफूमाथि लागेको आर्थिक अनियमितताको आरोपमा छानबिन गर्न तयार रहेको बताउँदै उनले आईजीपीको सम्पत्तिमाथि पनि तत्काल छापा मार्नुपर्ने माग गरे ।
उनले भने, ‘म पनि चोर, आईजीपी पनि चोर ठहरिए हामी दुवैलाई एउटै हत्कडी लगाएर अदालत लगियोस् । म हत्कडी लाउन तयार छु, के आईजीपी दानबहादुर कार्की तयार हुनुहुन्छ ?’
सांसद सुनारले सीआईबीले आफूलाई अपराधी जसरी लखेटिरहेको आरोप लगाए । आफ्ना नजिकका व्यक्तिहरूलाई अज्ञात नम्बरबाट फोन गरेर धम्काउने र तस्बिर तथा भिडियो खोज्ने काम भइरहेको उनको दाबी थियो ।
आफ्नो पछाडि प्रहरीका अधिकृतहरू सुराकीका रूपमा खटाइएको दाबी गर्दै उनले भने, ‘मेरो पछाडि लामा थरका डीएसपी र भण्डारी थरका एसपी जुँगा ठड्याएर लागिरहेका छन् । म कहाँ जान्छु, के गर्छु भनेर चियोचर्चा गरिँदैछ । तिमीहरू मेरो पछि लागेका छौ, तर तिम्रो पछाडि पनि मेरो नजर छ । कुन वृत्तको गाडी कति बजे घुसको पैसा लिएर हेडक्वार्टर छिर्छ र कति बजे रक्सी छिर्छ, हामीलाई सबै थाहा छ ।’
सांसद सुनारले यसअघि प्रहरी नेतृत्वले आफूसँग ‘सेटिङ’ मिलाउन एआईजी डम्बर विकलाई परिचालन गरेको अरेको दाबी गरे ।
‘दानबहादुरजीले एआईजी डम्बर विकलाई ‘तेरो थरको मान्छे हो, गएर कुरा मिला’ भनेर पठाउनुभएको रहेछ । एआईजी साबले मलाई फोन गरेर ‘चिफ साब रोएर हैरान हुनुभयो, जोगाइदिनुपर्यो’ भन्नुभयो । मैले बिर्सेर पनि यस्तो कुरा नगर्नु भनेर फर्काइदिएँ । यताबाट सम्झौता नभएपछि मलाई सिध्याउन अहिले मिडिया र उजुरीको खेती गरिएको हो ।’ उनले भने ।
संसदीय उपसमितिले म्यादी प्रहरीको कपडा खरिद अनियमितताको अनुसन्धान सुरु गरेपछि त्यसलाई तुहाउन र आफूलाई दबाबमा राख्न प्रहरी मुख्यालयले नियोजित षड्यन्त्र र घेराबन्दी गरेको सांसद सुनारको निष्कर्ष छ।
प्रहरी नेतृत्वविरुद्ध यस्तो थियो सुनारको अभिव्यक्तिः
म यहाँबाट चुनौती के पेस गर्न चाहन्छु भने, हेडक्वार्टरका दुई(चार क्वार्टर खाएकाहरूले जसरी वाकिरहेका छन्, ती हेडक्वार्टरलाई पनि र हेडक्वार्टरका क्वार्टर खाएकाहरूलाई पनि मेरो चुनौती छ ।
अहिले भर्खरै मात्र एकजना पूर्वप्रधानन्यायाधीशको घरमा छापा हानेको जस्तै हाम्रो पनि घरमा छापा हानौँ र ती आरोपितहरूको पनि घरमा छापा हानौँ । अझ त्यो हेडक्वार्टरमै गएर पनि छापा हानौँ । र खोजौँ फेरि तिनलाई पनि । तिनलाई पनि कठघरामा उभ्याउँ ।
अहिले मैले यसो सुनिरहेको छु, हेडक्वार्टरले खगेन्द्र सुनारको समाचार छाप्नेलाई यति, फोटो ल्याउनेलाई यति, प्रमाण ल्याउनेलाई यति… मेरो यहाँबाट चुनौती छ । त्यो सीआईबी भन्ने एउटा सङ्गठनले, त्यो उमा चतुर्वेदी भन्ने एउटा बदमासले, त्यो एआईजीले जसरी त्यहाँ बसेर मसँग फोटो जोडिएका मान्छेहरूलाई बोलाउँदै प्रत्येक दिन धम्काइरहेको केही प्रमाणहरू प्राप्त भएको थियो ।
मैले अहिले चिफसँग परिरहेको हुनाले अलि तल्लो लेभलमा नझरौँ भनेर त्यता नफर्केको । सीआईबीले गरिरहेको बदमासको पनि चाङ हामीसँग छ ।
एउटा सार्वभौम सांसद आज सिंहदरबारबाट के भन्दै छ भने, प्रहरीले गरेको बदमासीमा यो कुरा लुक्न सक्दैन । सीआईबीलाई पनि मेरो चुनौती छ, दम छ भने पुलिस त्यहाँ छ, म यहाँ छु, हात यहाँ छ, हत्कडी लगाएर लिएर जाने । दम कहिँ कतै देखिन्छ भने । पत्रकार बोलाउने, रातभरि खुवाउने, पकेटभरि हालेर खामभरि दिएर हेडक्वार्टरले… मेरो यहाँबाट चुनौती छ दानबहादुर कार्कीलाई । भाइ दम छ भने बर्दी खोल्ने, आउने बाहिर चुनाव लड्न । होइन भने तत्काल यस्ता भ्रष्टहरूलाई त्यहाँ बस्ने नैतिक अधिकार छैन ।
मैले यसो हेरेको छु, बालेन शाहको नाममा आईजीपीको त्यो कोठाभन्दा यता पट्टिबाट छुट्टै एउटा साइबर चलिरहेको छ । त्यहाँ, छुट्टै त्यहाँबाट मिडिया चलिरहेको छ आईजीपीको नाममा । आईजीपीले त्यसो गर्न मिल्छ ? नेपाल प्रहरीको त्यसमा बसेर स्वास्नी यताबाट पैसा उठाउने, यिनका लोग्ने–स्वास्नीले गरेको बदमासीका हामीसँग चाङ छन् ।
आज यिनीहरूलाई के लागिरहेको छ भने मतर्फ हिलो छ्यापिँदै गर्दा यसलाई पनि हिलो छ्यापियो भने यो पनि चोर हो भन्लान् । म पनि चोर हो भने मलाई र आईजीपी दानबहादुर कार्कीलाई एउटै कोठामा लगेर थुनिदिनुस् न । थुनिदिनुस्, म त हत्कडी लाउन तयार छु । तर आईजी दानबहादुर कार्की हत्कडी लाउन तयार हो कि होइन त ?
आज जसरी प्रत्येक रात मान्छे बोलाउने, पैसा दिने, धम्काउने, थर्काउने, खगेन्द्र सुनारको बारेमा यसो भन्यो भनेर, हिजो खगेन्द्र सुनार केही नहुँदा त नडराएर लड्यो भने आज एउटा जनताको प्रतिनिधिलाई सीआईबीले लखेट्न मिल्छ ? एउटा लामा थर गरेको त्यो डीएसपी पछि लाग्या छ, मैले नाम नभनौँ अहिले, यति मात्र भनिरहेको छु । त्यो भण्डारी थर गरेको एउटा एसपी जुँगा ठड्याएर पछि लागिरहेको छ, मलाई सब थाहा छ ।
यिनीहरूको उठाउने धन्दा कहाँ हो, यिनीहरूले कता फर्केर सुत्छन्, कता फर्केर थुक्छन्, कहाँबाट चाट्छन् भन्ने सब थाहा छ हामीलाई पनि । तर हामीले यसलाई प्रक्रियाबाट लिउँ भनेको । अहिले राजदूतको बारेमा उजुरी आह्वान गरिएको छ, खगेन्द्र सुनारको बारेमा उजुरी पर्या छ । त्यो के मिलेको थियो ? त्यो बिचरा को मान्छे हो, एउटा पीएचडी गरिरहेको डाक्टर आयो, उहाँसँग मेरो थरमात्रै मिलेको हो, सुनार सुनार मिलेको हो ।
डम्बर विक भन्ने एआईजीलाई पनि जसरी उहाँहरूले लखेट्नुभयो, दानबहादुरजीले त्यो एआईजीलाई पठाउनुभएको रहेछ । उहाँले के भनेर पठाउनुभएको रहेछ भने यो तेरो थरको मान्छे हो, यसलाई गएर भेटेर कुरा मिला भन्नुभयो ।
मलाई एआईजी डम्बर विकले फोन गरेर, ‘भाइ यो चिफ साबले चाहिँ यहाँ रोएर हैरान गर्नुभयो, चिफ साब जोगाउनु पर्यो ।’ मैले भनेँ– मलाई बिर्सेर पनि फोन गर्नुभयो भने विचार गर्नु फेरि । मैले उहाँलाई भनेको कुरा यही हो ।
मेरो पछि–पछि डीएसपी लाइरहनु भएको छ । त्यो लामा एउटा डीएसपी मेरो पछि–पछि लाइरहनु भएको छ । कहाँ जान्छ के गर्छ जासुसी गर्न । भाइ आउनुस् हाम्रो पछि पछि । तर तिमी पनि कहाँ जान्छौ फेरि ? तिम्रो पछाडि पनि मेरो गाडी लागिराख्या छ नि १ हामीले पनि हेर्या छौँ नि कुन वृत्तको गाडी कति बजे पैसा लिएर छिर्छ । हामीलाई थाहा छैन ? तिम्रो रक्सी कति बजे छिर्छ हामीलाई थाहा छैन ? तिम्रो कुन ऊबाट कति बेला के आउँछ ?
उहाँको जसरी बालुवाटारमा घर छ,
महाराजगन्जमा घर छ, भक्तपुरमा जसरी घर बनाइरहनु भएको छ, उहाँको साढुभाइको नाममा जति ऊ छ, एउटा एसपीलाई अहिले क्यानडामा त्यो थापा एसपी अहिले पैसा लिएर क्यानडामा गएर व्यवस्थापन गर्न गइराख्या छ ।
यी सबै ठाउँको सम्पत्ति उहाँ राज्यको नाममा बुझाउन तयार हुनुहुन्छ र हत्कडी लाउन तयार हुनुहुन्छ भने म पनि तयार छु । छानबिन गरियोस् हामीमाथि ।
होइन भने मैले फेरि पनि भनेँ, यी जति पनि हेडक्वार्टरका क्वार्टर खाएर डकारिरहेका छन् मलाई कुनै आपत्ति छैन । यी भेलुबाजे भन्दा तल्लो स्तरका भिडिओसँग, मेरो त फलोअर्स बढ्छ भाइ । मलाई केही फरक पर्दैन । मेरो आइरहनु पर्यो भिडियो चाहिँ । तर सानो–सानो आउनुभएन । अलि करोड करोडमा जोडिएर आउनुपर्यो, ठूला ठूला मान्छेसँग जोडिएर आउनुपर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




