Logo
Logo
समाचार

प्रधानमन्त्रीले इन्जिनियर सांसदहरुसँग अन्तरक्रिया गर्दा रास्वपा महामन्त्री नै छुटेपछि

बायोटेक इन्जिनियर आचार्यलाई हिजोको वैठकको निम्तो नआएको निकट स्रोतले बताएको छ । ‘उहाँलाई कुनै पनि माध्यमबाट खबर आएको थिएन, नबोलाइकन जाने कुरा पनि भएन,’ निकट स्रोतले भन्यो । प्रधानमन्त्रीकी प्रेस विज्ञ दिपा दाहालले हिजो इआर ब्याकग्राउन्डका इन्जिनियरलाई मात्रै बोलाइएको बताइन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १५ गते २३:०७
४८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले हिजो सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट संसदमा प्रतिनिधित्व गर्ने इन्जिनियरहरुसँग अन्तरक्रिया गरे । तर उक्त अन्तरक्रियामा रास्वपा महामन्त्रीसमेत रहेका सांसद विपिन आचार्य नै छुटेका छन् ।

रास्वपाको संसदीय दलभित्र इन्जिनियरहरु भरिभराउ छन्, जसमध्ये एक महामन्त्री आचार्य पनि हुन् । उनी रास्वपा सभापति रवि लामिछानेका विश्वासपत्र पनि मानिन्छन् । बायोटेक इन्जिनियर आचार्यलाई हिजोको वैठकको निम्तो नआएको निकट स्रोतले बताएको छ ।

‘उहाँलाई कुनै पनि माध्यमबाट खबर आएको थिएन, नबोलाइकन जाने कुरा पनि भएन,’ निकट स्रोतले भन्यो । प्रधानमन्त्रीकी प्रेस विज्ञ दिपा दाहालले हिजो इआर ब्याकग्राउन्डका इन्जिनियरलाई मात्रै बोलाइएको बताइन् ।

उनले भनिन्, ‘उहाँ टेक ब्याकग्राउण्डको हुनुहुन्छ । टेक र आइटी ब्याकग्राउन्ड भएका सांसदलाई छलफलका लागि पछि समय मिलाउने प्रधानमन्त्रीज्यूको योजना छ । हिजो चाहीँ इआर ब्याकग्राउण्डका सांसदज्यूहरुसँग मात्रै छलफल थियो ।’

हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियर सांसदहरुलाई ‘एक्स्ट्राअर्डिनरी’ (असाधारण) भनेको विषय अहिले चर्चामा छ । उपस्थित सांसदहरुका अनुसार प्रधानमन्त्रीले संसदहरुलाई तीन वर्गमा छुट्याएका थिए । पहिलो एभरेज (औसत), दोस्रो बिलो एभरेज (औसतभन्दा तल) र तेस्रो एक्स्ट्रा अर्डिनरी (असाधारण)। त्यसमध्ये इन्जिनियरिङ पृष्ठभूमिका सांसदलाई उनले असाधारण वर्गमा राखेका हुन् ।

प्रधानमन्त्रीको भनाइ उदृत गर्दै एक सांसदले भने, ‘एक्स्ट्रा अर्डिनरी भएकोले तपाईंहरूले संसद बैठकमा सिर्जनात्मक कुरा उठाउनुपर्छ । तपाईंहरुकै आइडियाले देश बन्छ, हामीलाई कुनै विदेशी परामर्शदाता वा सल्लाहकार चाहिँदैन । तपाईंहरु नै पुनर्निर्माणको विज्ञ हो ।’

प्रधानमन्त्रीले यसरी सांसदहरुलाई नै तीन श्रेणीमा राखेको विषय अहिले चर्चामा छ । आज रास्वपा महामन्त्री आचार्यले नै यसमाथि कटाक्ष गरेका छन् । उनले संसद बैठकमा बोल्दै आफू एउटा औसत क्षमताको इन्जिनियर भएको बताएका थिए । अर्कै विषयमा बोल्न उठेका आचार्यले आफ्नो सम्बोधनको सुरुमा प्रधानमन्त्रीलाई व्यङ्ग्य कसेका हुन् ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, म आफू औसत क्षमताको इन्जिनियर भएर पनि होला, मलाई क्षमता, नियत र तथ्यमा अब्बल हरेक विधाका व्यक्तिहरु ‘एक्स्ट्रा अर्डिनरी’ लाग्छन् । म पनि एक्स्ट्रा अर्डिनरी बन्ने इमानदार कोशिष गर्दै छु ।’

प्रधानमन्त्रीले आफूलाई हिजोको बैठकमा नबोलाएपछि असन्तुष्ट बनेर आचार्यले यस्तो लाक्षणिक अभिव्यक्ति दिएको अनुमानसमेत गरिएको छ । त्यसो त आजैको संसद बैठकमा नेकपाका सचेतक युवराज दुलालले पनि प्रधानमन्त्रीले संसदहरुको वर्गीकरण गरेकोप्रति कडा प्रहार गरेका थिए ।

दुलालले भने, ‘रास्वपामा रहेका इन्जिनियर सांसदहरू ‘ए’ अर्थात ‘एक्स्ट्रा अर्डिनरी’ मा पर्नुभएछ, उहाँहरूलाई बधाइ छ । प्रधानमन्त्री स्वयंलाई निर्देशन दिने पार्टी सभापति एभरेजमा पर्नुभयो कि बिलो एभरेजमा ? र, अरु सांसदहरू केमा पर्नुभयो ? या यो पनि अर्को ठट्टा हो जसले हाम्रो प्रधानमन्त्री ठिकठाक हुनुहुन्छ भनेर हामीले बुझौं ?’

प्रधानमन्त्रीको सचिवालय भने हिजोको वैठकमा प्रधानमन्त्रीले बोलेका कुरालाई बङ्ग्याएर प्रचार गरिएको बताउँछ । प्रधानमन्त्रीले फरक प्रसंगमा गरेको टिप्पणीलाई अपब्याख्या गरिएको सचिवालय स्रोतको दाबी छ ।

सचिवालयका एक सदस्यले भने, ‘हिजोको बैठकको फोकस भनेको बाढीपछिको पुनर्निर्माणमा इन्जिनियर विधाका सांसदहरुले कसरी योगदान दिन सक्नुहुन्छ भन्नेमा केन्द्रीत थियो । प्रधानमन्त्रीले सांसदहरुलाई ‘तपाईहरु नै विज्ञ हुनुहुन्छ, हामीलाई विदेशी विज्ञ चाहिँदैन’ भनेर उहाँहरुको हौसला बढाउनुभएको हो । ‘एक्स्ट्रा अर्डिनरी’ भन्नुभएको पनि उहाँहरुको विज्ञताको प्रसङ्गमा हो । तर यही शब्दलाई हाइलाइट गरेर समाचार बनाइयो र वास्तविक विषयवस्तु ओझेलमा पर्‍याे ।’

रास्वपा महामन्त्रीले पनि मिडियामा आएका समाचारकै आधारमा संसदमा टिप्पणी गरेको ती सदस्यको भनाइ छ । ‘उहाँ बैठकमा हुनुहुन्नथ्यो । मिडियामा आएका समाचार हेरेर नै संसदमा त्यसरी बोल्नुभएको हुनुपर्छ,’ उनले भने ।

हिजोको छलफलमा १२ जना सांसदहरु सहभागी थिए । सिराहा ४ का तपेश्वर यादव, दोलखा १ का जगदिश खरेल, सिन्धुली २ का आशिष गजुरेल, महोत्तरी ३ का उज्ज्वलकुमार झा, बारा ३ का अरविन्द साह, लमजुङ १ का धर्म केसी, तनहु २ का श्रीराम न्यौपाने, गुल्मी १ का सागर ढकाल, बाग्लुङ १ का सुशील खड्का, खगेन्द्र कर्ण, मोहन आचार्य र डा. राम लामा छलफलमा सामेल भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित