पोखराको सीपमूलक तालिममा युवाको आकर्षण, १२० कोटामा ६ सयभन्दा बढी आवेदन
सीप सिकेर रोजगारीसँग जोडिने आशासहित युवाहरू अन्तरवार्तामा सहभागी भइरहेका छन्।

कास्की । पोखरा महानगरपालिकाले सञ्चालन गरेको सीपमूलक तालिमको अन्तरवार्तामा सहभागी हुन युवायुवतीको उल्लेख्य भीड देखिएको छ। सीप सिकेर रोजगारीसँग जोडिने आशासहित युवाहरू अन्तरवार्तामा सहभागी भइरहेका छन्।
महानगरपालिकाले प्रत्येक विधामा २० जनाका दरले १२० जनालाई तालिम दिने लक्ष्य राखेको छ। सीमित कोटाका लागि आवेदन दिने युवायुवतीको सङ्ख्या भने निकै ठुलो छ, जसले रोजगारीका लागि आवश्यक सीप सिक्न युवाहरूमा रहेको उत्साह देखाउँछ।
तालिमका लागि महानगरमा पुग्नुभएकी तमन्ना थापाले केही सीप सिकेर स्वदेशमै केही गरौँ भन्ने ध्येयले आएको बताइन्। अर्की प्रशिक्षार्थी स्वस्तिका कँडेलले महानगरपालिकाले निःशुल्क तालिम दिएकाले केयर गिभरको प्रशिक्षण लिन आएको बताइन्।
पर्यटकीय नगरी पोखरामा होटल, रेस्टुरेन्ट तथा पर्यटनसँग सम्बन्धित व्यवसायमा दक्ष जनशक्तिको माग बढिरहेको छ। यही सम्भावनालाई ध्यानमा राखेर युवालाई सीप सिकाई दक्ष जनशक्ति उत्पादन गर्ने तथा रोजगारीका अवसरसँग जोड्ने उद्देश्यले तालिम सञ्चालन गरिएको मेयर धनराज आचार्य बताउँछन्।
रोजगारीको खोजीमा रहेका युवाहरूलाई आवश्यक सीप र दक्षताको अभावमा अवसर पाउन कठिन भइरहेको अवस्थामा सीपमूलक तालिमले आफ्नै ठाउँमा रोजगारी खोज्न, स्वरोजगार बन्न र आत्मनिर्भर जीवनयापन गर्न सघाउने अपेक्षा गरिएको मेयर आचार्यको भनाइ छ।
मेयर आचार्यले भने, ‘पोखराभित्र कोही पनि बेरोजगार नरहुन्, जो बेरोजगार हुनुहुन्छ, उहाँहरू स्वरोजगार बन्नुहोस्, आफैँ वा अन्यत्र प्रतिष्ठानमा काम गरेर रोजगार बन्नुहोस् भन्ने हिसाबले व्यावसायिक प्रवर्द्धन गर्ने उद्देश्यले प्रवर्द्धन केन्द्र सञ्चालन गरेका हौँ। यसबाट आवश्यकताअनुसारको तालिम दिन्छौँ। कम्तीमा २० जना जम्मा भएर हामीलाई यस किसिमको तालिम चाहियो, हामी यो काम गर्न सक्छौँ, प्राविधिक ज्ञान चाहियो भन्नुभयो भने बैंक र वित्तलगायतका कुरामा पनि सहजीकरण गर्नेगरी काम गरिरहेका छौँ। अहिलेसम्म झन्डै तीन हजार युवा तथा व्यवसायी यस संस्थाबाट लाभान्वित हुनुभएको छ। चालु आर्थिक वर्षका लागि आवश्यकताका आधारमा आएकाहरूलाई तालिम दिइरहेका छौँ। केयर गिभर, कुक, बारिस्तालगायतका विषयमा भर्ना खुलेको छ।’
पोखरालाई पर्यटकीय सहरका रूपमा मात्र नभई दक्ष जनशक्ति उत्पादन गर्ने सहरका रूपमा समेत विकास गर्ने महानगरको प्रयासले युवामा आशा जगाएको छ। बीस जनाको कोटामा ६ सयभन्दा बढी आवेदन पर्नुले युवाहरूमा सीप सिक्ने र आफ्नो भविष्य आफैँ निर्माण गर्ने चाहना बढ्दै गएको त्यहाँ उपस्थित युवायुवतीले बताएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




