Logo
Logo
समाचार

पर्यटकीय सम्भावना बोकेको बुकाचो गढी ओझेलमा, संरक्षण र प्रचारमा नेपाली सेनाको सक्रिय

ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले भक्तपुरको सूर्यविनायक क्षेत्रमा सञ्चारकर्मीसहित पदयात्रा कार्यक्रम आयोजना गरेको छ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १८ गते १६:०६
३५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले भक्तपुरको सूर्यविनायक क्षेत्रमा सञ्चारकर्मीसहित पदयात्रा कार्यक्रम आयोजना गरेको छ। नेपाली सेनाले मंगलबार बिहान घ्याम्पेडाँडादेखि बुकाचो गढी हुँदै डोलेश्वरसम्म पदयात्रा सञ्चालन गरेको हो।

नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतको नेतृत्वमा सम्पन्न उक्त पदयात्रामा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो। सूर्यविनायकस्थित नेपाली सेनाको शेरदल गणले कार्यक्रमको आवश्यक व्यवस्थापन तथा समन्वय गरेको थियो।

पदयात्राको मुख्य उद्देश्य ऐतिहासिक गढी, किल्ला तथा पुरातात्त्विक सम्पदाको पहिचान, संरक्षण र प्रवर्द्धनका लागि सञ्चारमाध्यममार्फत जनचेतना अभिवृद्धि गर्नु थियो।

पदयात्राका क्रममा सहभागी सञ्चारकर्मीले बुकाचो गढीलगायत ऐतिहासिक स्थलको अवलोकन गर्दै तिनको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्त्वबारे जानकारी लिए। यसका लागि नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, प्रमुख सेनानी सागर केसीको भूमिका महत्त्वपूर्ण थियो।

नेपाली सेनाको ऐतिहासिक सम्पदा संरक्षणसम्बन्धी प्रयासलाई आम नागरिकसम्म पुर्‍याउन सञ्चारकर्मीको सहभागिता सुनिश्चित गर्ने र कार्यक्रमलाई सफल बनाउन उनको भूमिका महत्त्वपूर्ण थियो।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ५ मा अवस्थित बुकाचो गढी ऐतिहासिक, सामरिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो।

भक्तपुर सदरमुकामबाट करिब पाँच किलोमिटर दक्षिणपूर्वमा रहेको यो गढी शिखर शैलीमा निर्माण गरिएको छ। यस स्थानबाट काठमाडौँ उपत्यका तथा काभ्रे जिल्लाका विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिन्छ। अग्लो स्थानमा रहेकाले यसलाई दृश्यावलोकन केन्द्र (भ्यु पोइन्ट) का रूपमा समेत विकास गरिएको छ।

गढीको वरिपरि आशापुरी महादेव, अनन्तलिङ्गेश्वर, डोलेश्वर र मुण्डलेश्वरजस्ता धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका स्थलहरू रहेका छन्। यसले बुकाचो गढीलाई ऐतिहासिक सम्पदासँगै धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा समेत महत्त्वपूर्ण बनाएको छ।

इतिहासविद् प्रा.डा.पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार राष्ट्र निर्माता पृथ्वीनारायण शाहको नेतृत्वमा सञ्चालित नेपाल एकीकरण अभियानका क्रममा गोरखाली फौजले उपत्यका विजयका लागि मल्लकालीन पुराना किल्लाहरूलाई सामान्य मर्मतसम्भार गरी रणनीतिक गढीका रूपमा उपयोग गरेको थियो।

वि.सं. १८२६ कात्तिक २९ गते गोरखाली सेनाले भक्तपुरमाथि विजय हासिल गर्दा यस गढीलाई सामरिक ब्यारेक तथा भन्सार चौकीका रूपमा प्रयोग गरिएको ऐतिहासिक पृष्ठभूमि रहेको छ।

बुकाचो गढीबाट देखिएको काठमाडौँ उपत्यका र विभिन्न हिमालहरू।

नेपाली सेनाको पहलमा पुनर्निर्माण

नेपाली सेनाले सूर्यविनायक नगरपालिकासँगको सहकार्यमा बुकाचो गढीको पुनर्निर्माण गरेको हो। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार अमरगढी शैलीमा ६०/६० फिटको गढी निर्माण गर्ने योजनाअनुसार तत्कालीन अवस्थामा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिकसहित गढीको संरचना निर्माण गरिएको थियो।

वि.सं. २०७९ पुस १५ गतेबाट सुरु भएको निर्माण कार्य ०८० जेठ ३२ गते सम्पन्न भएको थियो। निर्माण सम्पन्न भएपछि ०८० असार १५ गते समुद्घाटन गरी असार ३१ गते सूर्यविनायक नगरपालिकालाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो। त्यस्तै, नेपाली सेनाले आर्थिक वर्ष २०७८/७९ मा करिब ६० फिटको भ्यु टावरसमेत निर्माण गरी नगरपालिकालाई हस्तान्तरण गरेको थियो। भ्यु टावरबाट विभिन्न हिमालहरूको दृश्यसमेत छर्लङ्ग देखिन्छ।

नगरकोट-साँगा-बुकाचो गढी-रानीकोट-लाकुरी भञ्ज्याङ पदमार्गसँग जोडिएको यस गढीले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका साथै स्थानीय बासिन्दाको जीविकोपार्जन र आर्थिक विकासमा समेत योगदान पुर्‍याउने सेनाको भनाइ छ।

सेनाले देशका विभिन्न स्थानमा रहेका ऐतिहासिक गढी, किल्ला, युद्धस्थल, पाटीपौवा तथा अन्य पुरातात्त्विक सम्पदाको अन्वेषण, उत्खनन, संरक्षण, जीर्णोद्धार र प्रवर्द्धनका काम गर्दै आएको छ।

सरकारको एकीकरण मार्गसम्बन्धी अभियानसँग जोडिएका ऐतिहासिक सम्पदाको संरक्षणमार्फत राष्ट्रिय एकता, सामूहिक पहिचान र ऐतिहासिक पर्यटन प्रवर्द्धनमा समेत सेनाले योगदान पुर्‍याउँदै आएको छ।

पदयात्राका क्रममा सहायक रथी बस्नेतले ऐतिहासिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा राज्यका निकायसँगै आम नागरिक, सञ्चारमाध्यम र स्थानीय समुदायको पनि उत्तिकै दायित्व रहेको बताए।

ऐतिहासिक स्थलहरूको संरक्षण सबैको साझा जिम्मेवारी भएको बताउँदै बस्नेतले यस्ता सम्पदाको प्रचारप्रसार र संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा राखेका थिए।

बुकाचो गढीको प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र पर्यटकीय सम्भावनालाई समेट्दै एक सञ्चारकर्मीले भने,‘काठमाडौँ उपत्यकाको कोलाहलपूर्ण वातावरणबाट केही समय टाढा रहेर प्राकृतिक शान्तिको अनुभूति लिन चाहनेहरूका लागि बुकाचो गढी उत्कृष्ट गन्तव्य हो। यहाँबाट हिमशृंखलाको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ। चारैतिरको हरियाली, शान्त वातावरण र रमणीय पहाडी दृश्यले जोकोहीलाई आकर्षित गर्छन्। पैदलयात्रा गर्न रुचाउनेदेखि सवारीसाधनमार्फत घुम्न चाहनेसम्मका लागि यहाँ पुग्न सहज छ।’

उनले बुकाचो गढी प्राकृतिक सौन्दर्यमा मात्र सीमित नभई ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका दृष्टिले पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। ‘राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको पूर्णकदको सालिक, भ्युटावर तथा बिन्दुवासिनी मन्दिरजस्ता संरचनाले यस क्षेत्रको ऐतिहासिक र धार्मिक महत्त्व बढाएका छन्। वरिपरिका परम्परागत घर, कृषि उत्पादन र हरियालीले स्थानीय मौलिकता झल्काउँछन्,’ उनले भने।

स्थानीय पालिका र नेपाली सेनाले सम्पदा संरक्षणमा गरेको प्रयासको प्रशंसा गर्दै उनले यस क्षेत्रको पर्याप्त प्रचारप्रसार हुन नसकेको बताए।

‘काठमाडौँ नजिकै यति सुन्दर, शान्त र ऐतिहासिक महत्त्व बोकेको गन्तव्य हुँदाहुँदै पनि धेरैलाई यसबारे जानकारी छैन। यसको व्यापक प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुनुका साथै स्थानीय आर्थिक गतिविधि र पर्यटन विकासमा समेत टेवा पुग्नेछ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित