Logo
Logo
समाज

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

त
तिलिचो न्यूज संवाददाता
२०८३ भदौ २० गते १३:५२
६
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । म त पर्खेको पर्खै छु
बतास बनी छुन आइदेऊ न
फेरि मेरै हुन आइदेऊ न
बतास बनी छुन आइदेऊ न
फेरि मेरै हुन आइदेऊ न
म त पर्खेको पर्खै छु
म त पर्खेको पर्खै छु
मत पर्खेको पर्खै छु …

उक्त हरफहरू नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको विरह रसले भरिएको गीत‘म त पर्खेको पर्खै छु’ बाट साभार गरिएको हो । यस गीतमा प्रेमको गहिरो अनुभूति, बिछोडको अनन्त पीडा र आफ्नो प्रियतम (प्रियसी) लाई पुनः आफ्नो जीवनमा फिर्ता पाउनका लागि गरिएको आत्मिक पुकारलाई व्यक्त गरिएको छ । छोडेर जानेहरूको यादमा पर्खनेहरूको एउटा पीडा बोकेको उक्त गीतको भाव ठ्याक्कै मिल्न गएको छ, काठमाडौँ गोङ्गबुका परिवेश चिलुवालका लागि ।

मायालु र असल श्रीमती अनुष्का पाण्डे । काखमा दुई वर्षको छोरा । गर्भमा हुर्किरहेको अर्को सन्तान । परिवार पूर्ण बन्दै थियो । घरमा खुसीको वातावरण थियो । केही समयपछि परिवारमा नयाँ सदस्य थपिँदै थियो । दोस्रो पटक अभिभावक बन्ने उत्साहले परिवेश र अनुष्काको मनमा अनेकौँ सपना सजिएका थिए । छोराले भाइ वा बहिनी पाउने दिन गन्दै थिए । गर्भमा हुर्किरहेको शिशुको आगमनका लागि परिवार आतुर थियो ।

अब एक महिना मात्र बाँकी थियो । “अब त त्यो दिन पनि चाँडै आए हुन्थ्यो,” दम्पतीबीच यस्तै कुरा हुन्थे । तर यही भदौ १० गते बिहान कसैले कल्पना नगरेको एउटा विपत्ति आयो । सबै सपना एकाएक चकनाचुर पारिदियो ।

जुन घरमा अर्को सदस्यको आगमनको तयारी भइरहेको थियो, त्यही घरबाट अहिले गर्भवती अनुष्का र उनको दुई वर्षे छोरा हराइरहेका छन् । प्रतीक्षा पहिलेको जस्तो छैन । पहिलेको प्रतीक्षा खुसीको थियो । अहिलेको प्रतीक्षा पीडाको छ । पहिले पेटमा हुर्किरहेको सन्तानलाई काखमा लिने दिनको प्रतीक्षा थियो । अहिले हराएकी जीवनसङ्गिनी र छोरा फर्केर आउने आशाको प्रतीक्षा छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले अनुष्कालाई परिवारबाट टाढा बनाइदियो । एकैछिनमा परिवेशको संसार फेरियो । श्रीमतीसँगै सजाएका सपना नदीको भेलसँगै बगेझैँ भए । दुई वर्षको छोरा पनि अनुष्कासँगै बगेँ । संसार राम्रोसँग चिन्न बाँकी नै थियो । अझ पेटमा हुर्किरहेको शिशुले संसार देख्नै पाएको थिएन ।

रसुवाको टिमुरे स्वास्थ्य चौकीमा कार्यरत थिइन् अनुष्का । श्रीमान् परिवेश भने केही दिनअघि मात्रै काठमाडौँ फर्किएका थिए । अनुष्काको पनि केही दिनपछि काठमाडौँ आउने तयारी थियो ।

बाढी आएको दिनदेखि नाबालक छोरासहित सम्पर्कविहीन छिन् । दुर्गममा अरूको स्वास्थ्यमा खटिएर जीवन जोगाउन लाग्ने अनुष्काको जीवन जोगिएको छ कि छैन पत्तो छैन । कतै घाइते भएर बस्नुभएको पो छ भन्ने झल्को परिवारलाई आउँछ । घटना भएको अघिल्लो रात परिवेश र अनुष्काबीच कुराकानी भएको थियो । त्यो दिन बिहान भने कुरा हुन पाएन ।

भदौ १० गते बिहानीपख रसुवामा ठूलो बाढी आयो भन्ने खबर पाए परिवेशले । मोबाइलमा भिडियोहरू पनि आउन थाले । दर्दनाक दृश्यले मन झस्कायो । श्रीमती र बच्चाको के हालत होला ? मन भतभती पोल्यो । पटकपटक श्रीमतीलाई फोन गर्दा सम्पर्क भएन । कता होलिन् ? यत्रो विपत्तिमा भाग्न भ्याएकी होलिन् कि भ्याइनन् होलिन् ? बिचरा आठ महिनाको गर्भको शिशु दुई वर्षे बच्चा बोकेर कसरी दौडिन् होलिन् ? आफ्नो प्राणभन्दा प्यारो बच्चालाई जोगाउन कति प्रयास गरेकी होलिन् ? यी र यस्तै प्रश्नको घेरामा थियो उनको मन पनि ।

घण्टा बित्तै गयो । दिन पनि बित्न लाग्यो । घाम अस्ताएर साँझ पर्ने तर्खर गर्‍यो । रात पर्‍यो । बाहिर अँध्यारो बढ्दै थियो तर परिवेशको मनमा अनिश्चितताको अँध्यारो झन् बाक्लिँदै गयो । न श्रीमतीको फोन आउँछ न उनको खबर ।

मनमा झन् चिसो पस्यो । परिवेश भने श्रीमती अनुष्काको एक कल म ठीक छु भन्ने आवाज सुन्न आतुर थिए। कसैको फोन आए पनि अनुष्काकै हो कि भन्ने झल्को लाग्थ्यो । रात पनि बित्यो । भोलिपल्टको बिहानी सुरु भयो । अझै खबर आएन । मन अतालिन थाल्यो ।

आमा, छोरा कतै कुनै अस्पतालमा उपचारत छन् कि भन्दै खोजी हुन थाल्यो । पत्तो पाइएन । दिन बित्दै गए । साता दिन नाग्यो । न फोन आयो । न अनुष्का आइन् । न सास भेटियो न लास भेटियो । न फर्कने पूर्ण आश छ । न पूर्ण रूपमा आश मार्न सकिएको छ । “छोरा डोहोराउँदै अनुष्का अझै आउछिन् होला । छोराले बाबा भनी बोलाउँछ होला भन्ने अझ आशा लागेर कुरिरहेकै छु । फर्केर उनी आएकी छैनन्,” परिवेश भन्छन् “घटना हुनु अघिल्लो रातको जस्तै हरेक रातमा लाग्छ–अनुष्काको फोन आउँछ र भन्छिन्, समयमा नै सुत्नु बुढा भोलि कुरा गराैँला । ‘गुड नाइट । टेक केयर ।’ झल्को लाग्छ । तर फोन आउँदैन ।” एकैछिन फोन नउठ्दा के भयो होला ? भनेर अत्तालिने परिवेश । अहिले त साता दिनसम्म कुरा नहुँदा छटपटीमै समय बितिरहेको छ । यस्सो लड्दा अइया बाबा… बाबा भन्ने छोरा । ढुङ्गा माटो, चट्यानसहित भेलमा बग्दै गर्दा कति ठोक्कियो होला । अइया बाबा… पनि भन्न पाएन होला ।

अग्निलाई साक्षी राखेर जुनीजुनीसँगै जिउने मर्ने कसम खाएर बिहे बन्धनमा बाँधिएको यो जोडी अब सधैँका लागि छुट्टिएका हुन् या कुनै आश्चर्य भएर अनुष्का फर्केर आउने छिन् त्यो भने पत्ता छैन ।

परिवेशको घरमा अनुष्काको सम्झना ताजा छ । उनले लगाएका कपडा, प्रयोग गरेका सामान र घरका कुनाकाप्चामा रहेका उनका सम्झनाले हरेक क्षण परिवेशलाई झस्काइरहन्छन् । परिवेश अझै आशावादी छन्, सायद कुनै दिन ढोकामा अनुष्का उभिएर भन्नेछिन्ः “म आएँ नि ।” त्यही एउटा आशाले परिवेशलाई पर्खाइरहेको छ । परिवेशको प्रतीक्षा रोकिएको छैन । उनको मनमा अझै एउटा विश्वास बाँकी छ–अनुष्का फर्केर आउन सक्छिन् ।

बतास बनी छुन आइदेऊ न,
फेरि मेरै हुन आइदेऊ न…

गीतकारले “यस हरफमा प्रेमीको निस्वार्थ र पवित्र पर्खाइ बसिरहेको कुरालाई स्पष्ट पारेका छन् । गीतमा मायालुले छोडेर गए पनि प्रेमीको मनमा उसको उपस्थितिको तिर्सना मेटिएको छैन । यस्तै भएको छ परिवेशका लागि पनि । गीतकारले भनेझैँ परिवेशलाई पनि लाग्दो हो– अनुष्का तिमी आफ्नै रूपमा आउन सक्दैनौँ भने पनि कमसेकम ‘बतास’ (हावाको झोक्का) बनेर भए पनि आउ र मलाई स्पर्श गरेर जाऊ, ताकि म तिम्रो सामीप्यता महसुस गर्न सकूँ । समय बित्दै जाँदा मधुरो बन्दै गएको आशाको दियो, निम्न लागिसक्यो । पत्तो छैन अझै ।

जब जब मलाई उज्यालोको आश लाग्छ
आमा यो टुकीमा किन बतास लाग्छ ?
गलकार प्रदीप रोदनले बहिनी अनुष्का र अन्य बाढीमा बेपत्ता भएर सासको आशामा बस्नेहरूलाई इङ्गित गरेजस्तै भएको छ ।

“अनुष्का नानु, दुई वर्षको बच्चा काखमा र आठ महिनाको शिशु कोखमा लिएर कसरी दौडियौँ होला । कहाँ छौँ तिमी ? बा हरू खोज्न निस्कनुभएको छ । एक आवाज देऊ ल ? गलकार प्रदीपले अनुष्कालाई इङ्कित गर्दै केही दिनअघि लेखेको यो ‘स्ट्याटस’ले जो कोहीलाई पनि भावुक बनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

७८ वर्षका उमेरमा नागरिकता पाएपछि कपलेश्वरीले भनिन,‘अब ढुक्कले मर्छु’

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक(तालिकासहित)

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

प्रतिनिधि सभा निर्वाचन : एक हजार ६१ उजुरी फर्छ्यौट

६ दलले पाए राष्ट्रिय दलको मान्यता

६ दलले पाए राष्ट्रिय दलको मान्यता

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित