Logo
Logo
राजनिती

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्ष हटाउने षड्यन्त्र हो : ओली

त
तिलिचो न्यूज
२०८३ भदौ ८ गते ०३:२१
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘पार्टी पुनर्गठन’को नाममा आफूलाई अध्यक्ष पदबाट हटाउने अभियान चलाइएको आरोप लगाएका छन् । उनले पार्टी पुनर्गठनको आवश्यकता अहिले नरहेको भन्दै त्यस्तो प्रचारबाट भ्रमित नहुन कार्यकर्तालाई आग्रह गरेका छन् ।

अखिल नेपाल महिला संघ कोशी प्रदेशको दोस्रो सम्मेलनलाई आइतबार भर्चुअल सम्बोधन गर्दै ओलीले पार्टीमा गम्भीर संकट उत्पन्न भएका बेला मात्रै पुनर्गठन हुने गरेको बताए । उनले विगतमा २०१९, २०२८ र २०७७ सालमा कम्युनिस्ट आन्दोलनमा उत्पन्न विशेष परिस्थितिका कारण पार्टी पुनर्गठन गरिएको स्मरण गरे ।

‘पार्टी पुनर्गठन’ शब्दको दुरुपयोग गरेर अध्यक्ष हटाउने अभियान चलाइएको उनको आरोप थियो । अध्यक्ष हटाउने विषयलाई पार्टी पुनर्गठनसँग जोड्न नमिल्ने भन्दै ओलीले नेतृत्व परिवर्तनका लागि निश्चित प्रक्रिया र समय हुने बताए ।

विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठकको मागप्रति संकेत गर्दै उनले नेतृत्वका विषयमा उठाइएका यस्ता मागलाई ‘बेमौसमी बाजा’को संज्ञा दिए । कुनै पनि विषयमा आफ्नो धारणा राख्ने उपयुक्त समय र प्रक्रिया हुने भन्दै उनले पार्टीभित्र स्वेच्छाचारी ढंगले धारणा राख्ने प्रवृत्ति स्वीकार्य नहुने बताए ।

ओलीले वर्तमान सरकार देशमा डर, त्रास र भयको वातावरण सिर्जना गर्दै स्वेच्छाचारी ढंगले अघि बढिरहेको आरोप पनि लगाए । उनले सरकार फासीवादतर्फ उन्मुख भएको दाबी गर्दै जनताले दिएको बहुमत देशमा आतंक सिर्जना गर्न नभई सुशासनका लागि भएको बताए ।

उनका अनुसार एमालेको अहिलेको मुख्य जिम्मेवारी देशलाई ‘प्रतिगमन’बाट संवैधानिक बाटोमा फर्काउनु हो । त्यसका लागि पार्टीलाई वैचारिक र सांगठनिक रूपमा बलियो बनाउँदै आन्दोलनमा सहकार्य गर्न सक्ने सबै शक्तिलाई साथमा लिएर अघि बढ्नुपर्ने उनले बताए ।

गत फागुन २१ गतेको निर्वाचनमा एमालेले धक्का बेहोरेको स्वीकार गर्दै ओलीले त्यसका कारण पार्टीको राजनीतिक आन्दोलन कमजोर नहुने दाबी गरे । उनले पार्टीभित्रका कमजोरी पहिचान गरी सुधार गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘पार्टी नबदल्ने, भोट बदल्ने, त्योभन्दा लज्जाजनक कुरा के हुन्छ ?’

प्रतिगमनविरुद्धको आन्दोलनलाई सफल बनाउन पार्टीलाई एकताबद्ध र सक्रिय बनाउनुपर्नेमा जोड दिँदै ओलीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिए ।

उनले सामाजिक सञ्जाललगायतका माध्यमलाई पार्टीको हितमा प्रभावकारी रूपमा प्रयोग गर्न तथा निराशा र हतोत्साह त्यागेर उच्च मनोबलका साथ पार्टी काममा सक्रिय हुन कार्यकर्तालाई आग्रह गरे ।

ओलीले एमालेको अन्तिम राजनीतिक गन्तव्य समाजवाद भएको पनि बताए । साम्यवाद परिकल्पना भए पनि समाजवाद आफ्नै समयमा हासिल गर्न सकिने यथार्थ लक्ष्य भएको उनको भनाइ थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को गन्तव्य पनि समाजवाद नै भएको उनले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

एमाले निर्वाचन घोषणा पत्रका लागि सुझाव सङ्कलन गर्दै

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

निर्वाचनमा एकताबद्ध भएर लाग्न नेता तथा कार्यकर्तालाई महामन्त्री पौडेलको आग्रह

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन : अध्यक्ष ओली

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित