ओलीको प्रस्ताव : वैशाखमा स्थानीय र मंसिरमा प्रदेश तथा संघको चुनाव गरौँ
विभिन्न सञ्चार माध्यमका सम्पादकसँग गरेको भेटघाटमा बोल्दै संविधान मिच्नु छुट कसैलाई नभएको बताए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशको चुनाव हुनैपर्ने बताएका छन्। आज विभिन्न सञ्चार माध्यमका सम्पादकसँग गरेको भेटघाटमा बोल्दै संविधान मिच्नु छुट कसैलाई नभएको बताए।
पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने उनको भनाइ छ।
उनले भने, ‘प्रदेशको मध्यावधि हुन लागेको हो र? मध्यावधि होइन भने त्यसको आफ्नो प्रक्रिया हुन्छ नि। लोकतन्त्रमा चुनाव गराउँदा खर्च भयो भन्ने कुरालाई कहाँ पुर्याउँला? १५ १६ अर्ब खर्च हुन्छ रे, त्यसो भए सरकार छँदै छ किन चुनाव गराउने खर्च बेकार। देश आगो लगाइन्जेल खर्च भएन। चुनाव गराउनुपर्छ भन्दा खर्च हुन्छ भनेर हुन्छ। ०८४ मा हुनुपर्ने चुनाव अस्ति किन गर्न परेको थियो त? खर्च हुन्थ्यो भने त सुशीला कार्कीको सरकारलाई ०८४ सम्म चल्न दिएको भए हुन्थ्यो त।’
उनले संविधान र कानून अनुसार देश चल्नुपर्ने बताए। खर्च जोगाउने भए मंसिरमा प्रदेशसँगै संघको पनि चुनाव गर्न प्रस्ताव गरे।
उनले भने, ‘देश कसैको हुकुमबाट चल्दैन। वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्छ। पटक पटक चुनाव गराउँदा खर्च हुन्छ भने प्रदेश र संघको चुनाव एकै पटक हुने गरेकै छ मंसिरमा गरौँ न। एकै पटक गराउँदा ५ वर्षका लागि भइहाल्थ्यो। पहिले पनि गरेकै थियो। अब पनि खर्च जोगाउन प्रदेश र संघको एकै पटक गरौँ। आफ्नो चाहिँ पूरै कार्यकाल चल्नुपर्ने अरूको नभएपनि हुने?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




