न्युजिल्यान्डसँग नेपाल ‘ए’ २ विकेटले पराजित
अष्ट्रेलियामा जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोली पराजित भएको छ

काठमाडौं। अष्ट्रेलियामा जारी अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोली पराजित भएको छ । भर्खरै सम्पन्न खेलमा नेपाल ए न्युजिल्यान्ड ए सँग २ विकेटले पराजित भएको हो ।
नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्डले ४९.५ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । रिस मारिउले शतकीय पारी खेले । १३४ बल खेलेका उनले १३७ रन जोडे ।
यस्तै, म्याथ्यु फिसरले २३ तथा मुहम्मद अब्बासले २० रन बनाउँदा अन्य ब्याटरले दोहोरो रनको आँकडा छोएनन् ।
बलिङतर्फ नेपालका रिजन ढकाल, शाहब आलम र युवराज खत्रीले दुई–दुई विकेट लिए भने पवन शर्राफ र विपिन खत्रीले एक–एक विकेट लिए ।
त्यसअघि डार्विनस्थित रारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २११ रन बनायो ।
अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ५९ रनको योगदान दिए । अर्का ब्याटर लोकेश बमले ४७ रन बनाए ।
यस्तै, कप्तान अनिलकुमार साह २४, मयन यादव २० तथा विपिन खत्री १२ रनमा आउट भए । बाँकी नेपाली ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् ।
न्युजिल्यान्डका लागि बलिङतर्फ म्याथ्यु फिसरले ४ विकेट लिए । नेपालले जारी एकदिवसीय शृङ्खलाको अघिल्लो दुई खेलमा लगातार पराजय व्यहोरेको थियो ।
यसअघिका खेलमा नेपाल तस्मानियाविरुद्ध २ विकेट तथा साउथ अष्ट्रेलियाविरुद्ध १३८ रनको हार व्यहोर्यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




