Logo
Logo
समाचार

नेपाली सेनामा २८० सेकेन्ड लेफ्टिनेन्टको भर्ती खुल्यो, कक्षा १२ देखि स्नातकसम्मले आवेदन दिन पाउने

त
तिलिचो न्यूज
२०८३ साउन २९ गते १५:५३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी) पदमा २८० जनाका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न शुक्रबार सूचना जारी गरेको हो।

कुल २८० पदमध्ये खुलातर्फ १४६, महिलातर्फ २४, आदिवासी/जनजातितर्फ ३९, मधेसीतर्फ ३३, दलिततर्फ १८, पिछडिएको क्षेत्रतर्फ ६ र कर्तव्य पालनाका क्रममा मृत्यु भएका वा शारीरिक रूपमा अशक्त सैनिकका सन्ततिका लागि १४ पद छुट्याइएको छ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। नियमित दस्तुरमा साउन २९ गतेदेखि भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भदौ १९ देखि २५ गतेसम्मसमेत आवेदन दिन सकिने व्यवस्था छ।

दरखास्त दस्तुर १ हजार रुपैयाँ तोकिएको छ। एकभन्दा बढी समावेशी समूहबाट प्रतिस्पर्धा गर्न चाहने उम्मेदवारले प्रत्येक थप समूहका लागि तोकिएको दस्तुरको २० प्रतिशत अतिरिक्त शुल्क बुझाउनुपर्नेछ।

कक्षा १२ उत्तीर्ण २१ वर्ष ननाघेको हुनुपर्ने

अधिकृत क्याडेट पदका लागि प्रमाणपत्र तह, कक्षा १२ वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। तोकिएको ग्रेडिङ प्रणालीअनुसार न्यूनतम GPA वा CGPA पूरा गरेको हुनुपर्नेछ र सम्बन्धित प्रमाणपत्र प्राप्त गरेको हुनुपर्नेछ। एसईई वा एसएलसीमा अनिवार्य गणित विषय अध्ययन गरेको हुनुपर्नेछ।

स्नातक अधिकृत क्याडेटतर्फ आवेदन दिनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। यसका लागि पनि एसईई वा एसएलसी तहमा अनिवार्य गणित विषय लिएको हुनुपर्नेछ।

कक्षा १२ वा प्रमाणपत्र तह उत्तीर्ण उम्मेदवारको उमेर भदौ १९ गतेसम्म १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको हुनुपर्नेछ।

स्नातक उत्तीर्ण उम्मेदवारको उमेर १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ। बहालवाला सैनिकको हकमा भने २६ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ।

शारीरिक योग्यता

पुरुष उम्मेदवारको न्यूनतम उचाइ ५ फिट ३ इन्च र महिलाको ५ फिट हुनुपर्नेछ। पुरुषको छाती नफुलाउँदा कम्तीमा ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ।

पुरुषको न्यूनतम तौल ५० किलो र महिलाको ४० किलो तोकिएको छ। चश्मा प्रयोग गर्ने उम्मेदवारको आँखाको दृष्टि तोकिएको मापदण्डअनुसार हुनुपर्नेछ।

आवश्यक कागजात

आवेदनका क्रममा नेपाली नागरिकताको प्रमाणपत्र, एसएलसी/एसईई, कक्षा १२ तथा लागू हुने अवस्थामा स्नातक तहको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाणपत्र र प्रोभिजनल प्रमाणपत्र पेश गर्नुपर्नेछ।

त्यस्तै, पासपोर्ट साइजका चारवटा फोटो र दुवै कान स्पष्ट देखिने २×२ साइजको एउटा फोटो आवश्यक पर्नेछ।

सात स्थानबाट भर्ती प्रक्रिया

उम्मेदवारले काठमाडौंको स्वयम्भूस्थित केन्द्रीय भर्ना छनोट केन्द्र वा इटहरी, बर्दिबास, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र दीपायलस्थित पृतना हेडक्वार्टरमध्ये आफूलाई पायक पर्ने केन्द्रबाट भर्ती प्रक्रिया अघि बढाउन सक्नेछन्।

अनलाइन आवेदन फाराम भरेपछि त्यसको प्रिन्टसहित आवश्यक कागजात लिएर सम्बन्धित भर्ना केन्द्रमा स्वयं उपस्थित भई आवेदन दर्ता गराउनुपर्नेछ।

चार चरणमा छनोट

नेपाली सेनाको अधिकृत क्याडेट छनोट प्रक्रियामा शारीरिक परीक्षा, लिखित परीक्षा, गुणमापक परीक्षा तथा अन्तर्वार्तालगायतका चरण रहनेछन्। आवेदनपछि उम्मेदवारले तोकिएको भर्ना छनोट केन्द्रबाट सम्बन्धित प्रक्रिया पूरा गर्नुपर्नेछ।

सेनाले योग्यता पुगेका इच्छुक उम्मेदवारलाई निर्धारित समयभित्र आवेदन दिन आग्रह गरेको छ। आवेदन तथा थप विवरण नेपाली सेनाको आधिकारिक भर्ती प्रणालीमा उपलब्ध सूचनाअनुसार हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित