Logo
Logo
समाचार

नेपाल-युरोप आर्थिक साझेदारी विस्तार गर्न लक्जेम्बर्गमा अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

त
तिलिचो न्यूज संवाददाता
२०८३ मंसिर १२ गते १६:०९
१५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- नेपाल र युरोपबीच व्यापार, प्रविधि, लगानी तथा पर्यटनका क्षेत्रमा नयाँ अवसर पहिचान गर्दै आर्थिक साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यले लक्जेम्बर्गमा ‘नेपाल–युरोप टेक, ट्रेड एन्ड इन्भेस्टमेन्ट थिम्ड सेमिनार २०२६’ आयोजना हुने भएको छ। नोभेम्बर २९ र ३० मा हुने सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

नेपाली व्यवसायी संघ युरोप (नेबा युरोप) को आयोजनामा डबलट्री बाई हिल्टन होटलमा हुने सम्मेलन बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग तथा युरोपेली संघका लागि नेपाली राजदूतावासको संरक्षणमा आयोजना हुन लागेको हो।

दुई दिनसम्म चल्ने सम्मेलनमा प्रतिनिधिसभा सदस्य मनीष झा, नेपाली राजदूत सेवा लम्साल, युरोपेली लगानी बैंकका प्रतिनिधि एडभार्डस बुम्स्टाइनस तथा युरोपेली संघको बाह्य कार्य सेवाका प्रतिनिधिसहित नेपाल र युरोपका व्यवसायी, लगानीकर्ता र विभिन्न क्षेत्रका विज्ञहरूको सहभागिता रहनेछ। नेपालका लागि युरोपेली संघका राजदूत चार्ल्स ह्वाइटलीले भर्चुअल माध्यमबाट सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।

‘नेपाल–युरोप साझेदारीका लागि सरकार, व्यवसाय र प्राज्ञिक क्षेत्रको सहकार्य’ भन्ने मूल अवधारणामा केन्द्रित सम्मेलनमा पाँचवटा प्रमुख विषयलाई प्राथमिकताका साथ उठाइनेछ। व्यापार तथा लगानी, सूचना प्रविधि र डिजिटल नवप्रवर्तन, युवा उद्यमशीलता, पर्यटन प्रवर्द्धन तथा व्यावसायिक सहकार्य सम्मेलनका मुख्य छलफलका विषय हुनेछन्। युवा उद्यमशीलता तथा आईटी इनोभेसनसम्बन्धी सत्रको नेतृत्व चिरन खवासले गर्नेछन्।

नेपालका उत्पादनलाई युरोपेली बजारसम्म पुर्‍याउने सम्भावना, युरोपेली लगानी भित्र्याउने वातावरण, प्रविधि हस्तान्तरण तथा डिजिटल क्षेत्रमा संयुक्त अवसर सिर्जना गर्ने विषयमा सम्मेलनले विशेष जोड दिने अपेक्षा गरिएको छ। त्यसैगरी नेपालको पर्यटन क्षेत्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन र दुवै क्षेत्रका व्यवसायीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार पनि सम्मेलनका महत्वपूर्ण एजेन्डा रहनेछन्।

सम्मेलनलाई विभिन्न संस्थाले समेत सहकार्य गरेका छन्। नेपालका लागि युरोपेली संघको प्रतिनिधिमण्डल ज्ञान साझेदार, जेनेस सोलुसन प्रविधि साझेदार, निर्यात उद्यमी महासंघ नेपाल महासंघ साझेदार, युरोपियन इकोनोमिक चेम्बर नेपाल आर्थिक साझेदार तथा काठमाडौं–नेपालको स्वाद कार्यक्रम साझेदारका रूपमा सहभागी छन्।

नेबा युरोपका अध्यक्ष याम निरौलाले सम्मेलनलाई औपचारिक भेटघाट र छलफलमा मात्र सीमित नराखी व्यावहारिक व्यावसायिक सहकार्य तथा दीर्घकालीन साझेदारीको आधार बनाउने लक्ष्य रहेको बताए। उनका अनुसार नेपाल र युरोपबीच विद्यमान आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रम संयोजक हरि खत्रीले अतिथि व्यवस्थापनदेखि विषयगत सत्रसम्मका तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए। सम्मेलनमा उठेका विषय र प्राप्त सुझावलाई आगामी सहकार्यका लागि उपयोग गर्ने गरी आवश्यक तयारीसमेत भइरहेको उनले बताए।

संघका सचिव मदन दवाडीका अनुसार सम्मेलनबाट प्राप्त सुझाव, छलफलका निष्कर्ष तथा नीतिगत विषय समेटेर ‘नेपाल–युरोप सेमिनार रिजोलुसन एन्ड पोलिसी रेफरेन्स डकुमेन्ट २०२६’ तयार गरिनेछ। उक्त दस्तावेजले नेपाल र युरोपबीच व्यापार, लगानी तथा संस्थागत सहकार्यलाई आगामी दिनमा थप प्रभावकारी रूपमा अघि बढाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।

आयोजकका अनुसार सम्मेलनको मूल उद्देश्य नेपाल र युरोपबीचको सम्बन्धलाई कूटनीतिक तथा औपचारिक सम्पर्कमा मात्र सीमित नराखी व्यापार, लगानी, प्रविधि र पर्यटनका क्षेत्रमा परिणाममुखी साझेदारीमा रूपान्तरण गर्नु हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित