Logo
Logo
समाचार

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशत बढ्यो, सञ्चालन आय घट्यो

नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २९ गते १८:१०
५२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ३२ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा यसपालि ४९ करोड ५० लाख रुपैयाँले बढेको हो ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार खुद नाफा ३७.३५ प्रतिशतले बढ्दा करअघिको नाफा ३.६५ प्रतिशतले बढेको छ । गत वर्ष पहिलो त्रैमासमा २ अर्ब ८८ करोड २१ लाख रुपैयाँ रहेको करअघिको नाफा यस वर्ष २ अर्ब ९८ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कुल आय ०.०७ प्रतिशतले बढेर ९ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । सञ्चालन आय भने १३ लाख रुपैयाँले घटेर ८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँमा झरेको छ । ब्याज, कर, ह्रासकट्टी र परिशोधन अघिको सञ्चालन मुनाफा (इबिट्डा) पनि ६.१३ प्रतिशतले घटेको छ । गत वर्ष पहिलो त्रैमासमा ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ रहेको इबिट्डा यस वर्ष ४ अर्ब ४५ करोड ९० लाख रुपैयाँ छ ।

कम्पनीका अनुसार भोटेकोशी क्षेत्रमा बाढी पहिरोले दूरसञ्चार सेवा अवरुद्ध हुनु र प्रभावित ग्राहकलाई १७ दिनसम्म निःशुल्क डेटा तथा भ्वाइस सेवा दिनुले सेवा बिक्रीको राजस्वमा असर पारेको छ । असोज २५ गते बूढी गण्डकीमा आएको बाढीले पनि सेवा प्रभावित भएको कम्पनीले जनाएको छ ।

कम मूल्यका तथा बढी डेटा उपलब्ध हुने मोबाइल प्याकेजको प्रयोग बढ्दा आम्दानीमा प्रभाव परेको कम्पनीको भनाइ छ । यस अवधिमा जीएसएम सेवाको सञ्चालन राजस्व १० लाख १६ हजार रुपैयाँ र फाइबर इन्टरनेट (एफटीटीएच) सेवाको सञ्चालन राजस्व ४ करोड ४० लाख रुपैयाँले बढेको छ ।

तलब वृद्धिसँगै कर्मचारी खर्च बढे पनि कम्पनीको खुद खर्च ४८ करोड १२ लाख रुपैयाँ अर्थात् ५.९० प्रतिशतले घटेको छ । ह्रास खर्च घट्नु र यसअघि सम्पत्तिको मूल्य घटेको भनी लेखांकन गरिएको क्षतिको रकम फिर्ता समायोजन हुनु खुद खर्च घट्नुका कारण रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले दुर्गम क्षेत्रमा सेवा विस्तार र सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित