नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई आजदेखि शुल्क लाग्ने
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।

काठमाडौँ। आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (टोल शुल्क)उठाइने भएको छ ।
नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो ।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुङ्गा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो । सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।
कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौँ प्रवेश गर्दा रु ६५ र सोही वर्गका सवारीसाधन काठमाडौँबाट प्रस्थान गर्दा भने रु ६० तोकिएको छ ।
मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौँ प्रवेश गर्दा रु १२५ र काठमाडौँबाट प्रस्थान गर्दा भने रु ८० दस्तुर तोकिएको छ ।
यस्तै, बस, ट्रक (सिङ्गल रियर एक्सल) सवारीको लागि काठमाडौँ प्रवेश गर्दा रु २६० र काठमाडौँबाट प्रस्थान गर्दा रु २०० दस्तुर तोकिएको छ ।
यस्तैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौँ प्रवेश गर्दा रु ६०० र काठमाडौँबाट प्रस्थान गर्दा रु २५० दस्तुर तोकिएको छ ।
यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर सवारीसाधन परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




