Logo
Logo
समाचार

मिथिलाञ्चलमा सामाचकेवा पर्व सुरु

कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २८ गते १७:२०
४८
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

जनकपुरधाम । दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीक मानिने सामाचकेवा पर्व मिथिलाञ्चलमा सुरु भएको छ ।

कार्तिक शुक्ल पञ्चमीमा सुरु भई १० दिनसम्म मनाइने यस पर्वको एघारौँ दिन अर्थात् पूर्णिमाको रात सामाचकेवाको विसर्जन गरिन्छ । पर्वका अवसरमा मिथिलाञ्चलका दिदीबहिनी, छोरीबुहारीले सामूहिक रूपमा नाचगान गर्दै दाजुभाइको सुख, समृद्धि र दीर्घायुको कामना गर्ने परम्परा छ ।

यो पर्वका जानकार पण्डित रामकुमार शास्त्रीका अनुसार पर्वको पहिलो दिन दिदीबहिनीहरू समूह बनाएर परम्परागत गीत गाउँदै गाउँबाहिरका खेत तथा भिरमा पुगेर दाजुभाइको हातबाट खनिएको माटो ल्याई त्यसलाई गिलो बनाएर विभिन्न आकृतिका सामा र चकेवा निर्माण गर्छन् ।

रातो रङको बाँसको डालामा सामाचकेवा सजाएर दियो बाल्ने र राति गाउँका चोक, दोबाटो, चौबाटो, विद्यालय, धर्मशाला, मन्दिर तथा छठघाटमा लगेर नाचगान गर्ने प्रचलन छ । यसरी दिदीबहिनीहरू १० दिनसम्म सामाचकेवा खेल्दै दाजुभाइको दीर्घायुको कामना गर्दछन् ।

यस अवसरमा महिलाहरूले ‘गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाई दिय, चम्पा फूल लगाइदिय’ तथा ‘सामचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो’ बोलका गीत गाउने चलन छ ।

पर्वको एघारौँ दिन बिहानै पुनः सामाचकेवा बनाएर रङ्गरोगन गरिन्छ । साँझ दाजुभाइलाई दहीचिउरा खुवाई परम्पराअनुसार फाँर भर्ने र दाजुभाइबाट सामाचकेवा फुटाइन्छ । त्यसपछि बाजागाजासहित नाचगान गर्दै सामाचकेवाको विसर्जन गरिन्छ ।

सामाचकेवा पर्व मनाउन विवाहित नारी माइत जाने परम्परा रहेकाले टाढा रहेका दिदीबहिनीसमेत माइतीघर फर्किने गर्दछन् । दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले पनि छरछिमेकका आफन्तसँग मिलेर यो पर्व मनाउने गरेका छन् ।

मधेस प्रदेशका महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा र पर्साका साथै सीमावर्ती भारतीय जिल्लाहरूमा पनि यो पर्व हर्षोल्लासका साथ मनाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित