मौसमविद्लाई प्रश्न : असोज ८ गतेदेखि ठुलो वर्षा हुन थालेको हो ?
बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएको छ। न्यून चापीय प्रणाली थप बलियो हुँदै पश्चिम–उत्तर पश्चिमतर्फ अघि बढिरहेको मौसमविद्ले बताएका छन् ।

काठमाडौँ । बङ्गालको खाडीको पूर्वी भूभाग अर्थात् उत्तर अण्डमान सागर आसपास विकसित भएको न्यून चापीय क्षेत्रको प्रभाव नेपालमा समेत पर्न सक्ने देखिएको छ। न्यून चापीय प्रणाली थप बलियो हुँदै पश्चिम–उत्तर पश्चिमतर्फ अघि बढिरहेको मौसमविद्ले बताएका छन् ।
आगामी असोज ७ गते आसपास भारतको दक्षिण ओडिशा तथा उत्तर आन्ध्र प्रदेशको तटीय क्षेत्र नजिक पुग्ने अनुमान गरिएको यो प्रणालीको सम्भावित असर नेपालमा पनि पर्न सक्ने भएकाले सतर्कता र पूर्व तयारी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । यसै प्रसङ्गमा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेसँग हामीले कुरा गरेका छौँ ।
जल तथा मौसम विज्ञान विभागले ती सम्भावित मौसम प्रणालीहरूलाई निरन्तर अनुगमन गरिरहेकै छ। नेपालमा प्रभाव पार्ने प्रणालीहरूको हामी नियमित अनुगमन (मोनिटरिङ) गर्छौँ। अहिले नै त्यो प्रणाली पूर्ण रूपमा बनिसकेको अवस्था भने छैन। बजारमा हल्ला भएजस्तो एकदमै ठुलो वितण्डा नै ल्याउने किसिमको परिस्थिति त देखिँदैन, तर हामी निरन्तर सतर्क भने हुनुपर्छ।
नेपालमा आउने न्यून चापीय प्रणालीका कारण यसको प्रभाव पर्न सक्ने सम्भावना देखिन्छ। अहिले मनसुनकै समय छ र बङ्गालको खाडीबाट जल वाष्पयुक्त हावा आउँदा धेरै पानी पर्न सक्छ भन्ने अनुमान छ। यद्यपि, कुन ठाउँमा कति पानी पर्छ भनेर अहिले नै यकिन गर्न सकिने अवस्था छैन, किनकि अझै केही दिन बाँकी छ। पूर्वानुमानहरू परिवर्तन हुँदै जान सक्छन् र प्रणालीको दिशा पनि फेरिन सक्छ।
अहिले अण्डमान सागर र बङ्गालको खाडी आसपास न्यून चापीय क्षेत्र बनिरहेको छ। त्यो बिस्तारै बलियो हुँदै उत्तर–पश्चिम अर्थात् भारतको पश्चिम बङ्गाल र ओडिशा आसपासका क्षेत्रतर्फ अघि बढ्दै छ। त्यो प्रणाली अझै अघि बढ्न १–२ दिन लाग्छ। त्यसपछि सेप्टेम्बर २३ देखि २८ (असोज ७ देखि १२) को समयमा नेपालमा यसको बढी प्रभाव पर्न सक्ने देखिन्छ।
मौसमविद्हरूले असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको सम्भावना औँल्याएका छन् । अध्ययन भइरहेको भए पनि यसले कस्तो प्रभाव पार्छ भन्ने यकिन भइनसकेको हो ?
हो, अहिले नै ठोस पूर्वानुमान गरिहाल्नु उपयुक्त नहोला। किनकि भोलि–पर्सि सम्ममा प्रभावको स्वरूप परिवर्तन हुन सक्छ। नेपालको पूर्वी, पश्चिमी वा सुदूर पूर्वी कुन भागमा बढी असर गर्छ भन्ने अहिल्यै ठोकुवा गर्न सकिँदैन। तर केही न केही प्रभाव भने पक्कै पर्नेछ। समय नजिकिँदै जाँदा भोलि–पर्सि कुन ठाउँमा कति प्रभाव पर्छ भन्ने विस्तृत विवरण हामी दैनिक रूपमा अद्यावधिक गर्दै जानेछौँ।
भनेपछि पूर्व सतर्कता भने अपनाउनुपर्ने देखियो, होइन ?
हो, सतर्कता त पक्कै अपनाउनुपर्छ। किनभने केही समयअघि पनि राम्रै पानी परेको थियो र धेरै ठाउँमा पहिरो गएका खबरहरू आएका थिए। बाढी तथा पहिरो प्रभावित क्षेत्रमा फेरि धेरै पानी परेमा अवस्था अझ बिग्रन सक्छ र उद्धार तथा राहत कार्यमा पनि बाधा पुग्न सक्छ। यसका साथै, अहिले धेरै ठाउँमा धान काट्ने र भित्र्याउने समय पनि भइसकेको छ। फसल काटिसकेपछि क्षति हुनुभन्दा पहिले नै सतर्कता अपनाउनु बुद्धिमानी हुन्छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




