मन्त्री साहको प्रश्न : ‘ग्यास हाम्रो नियन्त्रणमा छैन, चामल आयात हुन नसके मकै उत्पादन गरेर किन नखाने ?
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताएका छन् ।

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताएका छन् ।
सोमवार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री साहले यस्तो बताएका हुन ।
उनले अन्तर्राष्ट्रिय भू–राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताए । साहले युक्रेन-रुस तथा मध्यपूर्वको द्वन्द्वका कारण नेपालको आपूर्ति प्रणाली प्रभावित भएको भन्दै परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको जिकिर गरे । मन्त्री साहले रुस-युक्रेन तथा इरान-अमेरिका द्वन्द्वका कारण विश्व बजारमा इन्धनको मूल्य र आपूर्तिमा देखिएको अस्थिरताले नेपाल जस्तो मुलुकमा गम्भीर असर पारेको बताए। आपूर्ति व्यवस्थालाई सहज बनाउन सञ्चारमाध्यमले पनि नागरिकलाई स्वदेशी स्रोतको प्रयोगतर्फ उत्प्रेरित गर्नुपर्ने उनको भनाइ छ ।
मन्त्री साहले कृषि उत्पादनमा जोड दिँदै पहाडी क्षेत्रमा हुने रैथाने बालीको प्रवर्द्धन गर्न जरुरी रहेको बताए । उनले जनतालाई ‘के मात्रै गर्न सकिन्छ’ भन्ने सोचबाट माथि उठेर ‘स्वदेशी उत्पादन र ऊर्जा प्रयोगले नै दिगो समाधान दिन्छ’ भन्ने भाष्य निर्माण गर्नुपर्नेमा जोड दिए।
उनले भने, ‘ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिमा आउने अवरोध हाम्रो नियन्त्रणमा हुँदैन । त्यसैले वाह्य निर्भरतामात्र बढाउनेभन्दा स्वदेशमै वैकल्पिक ऊर्जा र खाना पकाउने प्रविधिको विकासमा जोड दिनुपर्छ । ब्रिकेट, विद्युत तथा अन्य स्वदेशी ऊर्जाको प्रयोग बढाउन सकिन्छ । त्यसैगरी, आयातित चामलमा निर्भर हुनुको सट्टा स्थानीय स्तरमा मकै, फापर, कोदो, सिमी लगायतका कृषि उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ । यसमा सञ्चारमाध्यमको भूमिका पनि महत्त्वपूर्ण छ । जनतालाई समस्या मात्र होइन, स्वदेशमै उपलब्ध विकल्प र सम्भावनाबारे पनि जानकारी गराउँदै आत्मनिर्भरतातर्फ प्रेरित गर्नुपर्छ ।’
सांसदहरूले उठाएका ग्यास आपूर्तिसम्बन्धी प्रश्नमा मन्त्री साहले भू-राजनीतिक परिस्थितिका कारण वाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




