ममता काफ्ले हत्या प्रकरण : पति नरेश भट्ट दोषी ठहर
प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।

काठमाडौँ।नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् ।
प्रिन्स विलियम काउन्टीको अदालतमा मंगलबार भएको सुनुवाइपछि जुरीले नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीरलाई विकृत बनाउने अभियोगमा दोषी ठहर गरेको हो ।
जुरीले करिब पाँच घण्टा विचारविमर्श गरेपछि स्थानीय समयअनुसार साँझ ५ बजे फैसला सुनाएको थियो । फैसला सुनाइएसँगै नरेशलाई सजाय निर्धारण नभएसम्म धरौटीमा रिहा गर्न अस्वीकार गरिएको छ । उनको सजाय निर्धारण सन् २०२७ को मार्चमा हुने तय भएको छ ।
फैसलापछि कमनवेल्थका अभियोजनकर्ता एमी एशवर्थले ममताको जीवन अन्त्य गर्ने नरेशविरुद्धको फैसलाले न्यायको महत्त्वपूर्ण पक्ष पूरा गरेको बताइन् । उनले ममताको परिवारले दुई वर्षभन्दा बढी समयदेखि पीडा र अनिश्चितता भोग्नुपरेको उल्लेख गरिन् ।
मंगलबार भएको सुनुवाइमा अभियोजन पक्षले प्रतिवादका लागि विषविज्ञान विशेषज्ञ डा। अबिगेल केर्न्स र नरेशका पूर्वरूममेट आकाश रचलाई साक्षीका रूपमा प्रस्तुत गरेको थियो ।
विशेषज्ञ केर्न्सले ममताले आत्महत्या गर्न प्रयोग गरेको भनिएको सेल्फोस नामक कृषि विषादीमा हुने एल्युमिनियम फस्फाइडको असरबारे अदालतमा बयान दिएकी थिइन् । उनका अनुसार उक्त पदार्थ शरीरमा प्रवेश गरेपछि फस्फिन ग्यास उत्पादन हुन्छ । यसले पेटमा तीव्र दुखाइ, बान्ता, मुटुसम्बन्धी समस्या र श्वासप्रश्वासमा कठिनाइ गराउन सक्छ । गम्भीर अवस्थामा विष सेवन गरेको केही घण्टाभित्रै ज्यान जान सक्ने उनले बताएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




