मध्य पेरुमा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ- मध्य पेरुमा शुक्रबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। प्रारम्भिक विवरणअनुसार भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षति भएको पुष्टि भएको छैन। केही पहाडी क्षेत्रमा पहिरो र चट्टान खसेको खबर प्राप्त भएको छ।
पेरुको भूभौतिक संस्थानका अनुसार स्थानीय समयअनुसार शुक्रबार बिहान ७ः०९ बजे जुनिन सहरबाट ३० किलोमिटर उत्तरपश्चिममा केन्द्रविन्दु रहेको भूकम्प गएको हो। १२९ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पको कम्पन राजधानी लिमासहित हुआनुको र कालाओ क्षेत्रमा समेत महसुस गरिएको थियो।
पेरुको राष्ट्रिय आपत्कालीन सञ्चालन केन्द्र (सिओएएन) ले भूकम्पको धक्का मध्यमदेखि तीव्र रूपमा महसुस गरिएको जनाउँदै जोखिमयुक्त क्षेत्रको निगरानी जारी राखिएको बताएको छ।
स्थानीय टेलिभिजन तथा सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा भूकम्पपछि लिमा र अन्य प्रभावित क्षेत्रका बासिन्दा घर तथा भवनबाट बाहिर निस्केर सडकमा भेला भएको देखिएको छ।
पेरुको भूभौतिक संस्थानका अध्यक्ष हर्नान्डो तावेराले एएफपीसँग कुरा गर्दै जमिनको कम्पन निकै तीव्र भए पनि तत्काल मानवीय तथा भौतिक क्षतिको विवरण प्राप्त नभएको बताए। उनका अनुसार पहाडी क्षेत्रमा भने पहिरो गएको र चट्टान खसेको छ।
पेरु जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्रशान्त महासागरीय क्षेत्रमा फैलिएको उच्च भूकम्पीय गतिविधियुक्त क्षेत्र ‘प्यासिफिक रिङ अफ फायर’ मा पर्दछ। भूकम्पविद्हरूका अनुसार पेरुमा प्रत्येक वर्ष कम्तीमा ४०० वटा भूकम्प जाने गरेका छन्। तीमध्ये करिब तीन चौथाइ भूकम्प यति कमजोर हुन्छन् कि मानिसले त्यसको कम्पनसमेत महसुस गर्न सक्दैनन्।
यसअघि गत जुलाईमा जुनिन क्षेत्रमा ५.१ म्याग्निच्युडको भूकम्प जाँदा छ जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए। उक्त भूकम्पबाट ५२ घरसमेत पूर्ण रूपमा ध्वस्त भएका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




