क्व्होलासोथारमा पूर्वाधार योजना चैतभित्रै सक्ने कार्ययोजना

लमजुङको क्व्होलासोथार गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ मा सञ्चालन हुने पूर्वाधार विकासका योजनाहरू समयमै सम्पन्न गर्ने गरी कार्ययोजना बनाएको छ।
गाउँपालिकाले ठूला आयोजनाको बोलपत्रदेखि योजनाको भुक्तानीसम्मका लागि समयसीमा तोकेको हो।
गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले उक्त कार्ययोजना पारित गरेको हो। गाउँपालिकाले गरेका निर्णय सोमबार सार्वजनिक गरिएको छ।
गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङका अनुसार आगामी भदौ मसान्तभित्र ठूला आयोजनाको बोलपत्र आह्वान गरिसक्ने र उपभोक्ता समिति गठन गरिसक्ने लक्ष्य राखिएको छ। असोज मसान्तभित्र सबै योजनाको लागत अनुमान तथा डिजाइन तयार गर्ने र कार्तिक मसान्तसम्म योजना सम्झौता सम्पन्न गर्ने गाउँपालिकाले जनाएको छ।
त्यसैगरी चैत मसान्तभित्र योजनाको निर्माण कार्य सम्पन्न गरिसक्ने र आगामी जेठ मसान्तसम्म योजनाको भुक्तानी गरिसक्ने कार्यतालिका बनाइएको छ।
अध्यक्ष गुरुङले विकास निर्माणका कामलाई आर्थिक वर्षको अन्त्यमा मात्र केन्द्रित गर्ने प्रवृत्ति अन्त्य गर्दै समयमै योजना सञ्चालन र सम्पन्न गर्ने उद्देश्यले कार्ययोजना बनाइएको बताए। ‘योजनाको काम समयमै सुरु गरी गुणस्तरीय रूपमा सम्पन्न गर्ने र भुक्तानीमा समेत ढिलाइ हुन नदिने गरी स्पष्ट समयसीमा तोकेका छौं,’ उनले भने।
गाउँपालिकाले तोकिएको समयसीमाअनुसार योजना कार्यान्वयन गर्न सम्बन्धित शाखा, प्राविधिक कर्मचारी, उपभोक्ता समिति तथा निर्माण व्यवसायीलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!



