Logo
Logo
समाचार

क्वाटरफाइनल प्रिभ्यूः ‘डार्क हर्स’ नेपालसँग सतर्क रहनेछ श्रीलंका

नेपाल हाल टी–२० अन्तर्राष्ट्रियमा राम्रो फर्ममा छ । अहिलेको नेपाली टीमलाई कुनै पनि टेस्ट राष्ट्रले सहजै नजरअन्दाज गर्न सक्दैनन् ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १२ गते २३:४६
७
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौं । टेस्ट राष्ट्रविरुद्ध भिडन्त नेपालका लागि अहिले पनि दुर्लभ नै छ । यसका लागि कुनै ठूलो प्रतियोगिता नै पर्खिनुपर्छ ।

त्यही दुर्लभ म्याच नेपालले भोली श्रीलंकासँग खेल्दैछ जापानको निशिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा ।

एसियन गेम्स पुरुष टी–२० क्रिकेटको तेस्रो क्वाटरफाइनलमा नेपाल र श्रीलंका भिड्न लागेका हुन् । स्थानीय समय बिहान ९ बजे (नेपाली समय बिहान करिब ५ः४५ बजे) सुरु हुने यो खेलमा विजेता टीम सेमिफाइनलमा पुग्नेछ, जहाँ भारतको सामना गर्नुपर्ने हुन्छ ।

नेपाल समूह ‘ए’ मा उत्कृष्ट प्रदर्शनसहित शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । अर्को टेस्ट राष्ट्र अफगानिस्तानलाई ५ विकेटले हराएर नेपालले आफ्नो सामर्थ्य देखाइसकेको छ ।

जापानविरुद्धको दोस्रो म्याच भने वर्षाले बिथोलेपछि नतिजाबिहिन भएको थियो ।

नेपाल हाल टी–२० अन्तर्राष्ट्रियमा राम्रो फर्ममा छ । अहिलेको नेपाली टीमलाई कुनै पनि टेस्ट राष्ट्रले सहजै नजरअन्दाज गर्न सक्दैनन् ।

खासगरि नेपालको स्पिन आक्रमणले जस्तोसुकै ब्याटिङपंक्तिलाई पनि समस्यामा पार्न सक्छ । टीममा विशेषज्ञ स्पिनरहरू सन्दीप लामिछाने, ललित राजवंशी, शेर मल्लसँगै स्पिन अलराउन्डरहरु कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल रहेका छन् ।

उस्तै परे नेपालसँग पचासै ओभर स्पिन फ्याँक्न सक्ने क्षमता छ । नेपालको ब्याटिङ लाइनअप पनि गहिरो र सुदृढ छ । ९–१० नम्बरसम्म नै ब्याटिङ क्षमता भएको हुँदा यो टीमले जुनसुकै अवस्थाबाट पुनरागमन गर्न सक्छ ।

यद्यपि नेपालको ब्याटिङमा एकरुपताको भने अभाव छ । स्टार ब्याट्सम्यानहरुको कमी नभए पनि उनीहरुको ब्याटिङमा स्थिरताको कमी हुन्छ । विपक्षी टिमले प्रहार गर्ने भनेको नेपालको यही कमजोरीमा हो ।

टेस्ट राष्ट्र भएकाले श्रीलंका यसै पनि बलियो मानिने भइहाल्यो । यद्यपि पछिल्ला वर्षहरुमा श्रीलंकाको क्रिकेट स्तर खस्किँदै गएको छ ।

खेलाडीको एउटा पुस्ता बाहिरएपछि नयाँ पुस्ताले त्‍यस्तो दमखम देखाउन सकिरहेको छैन । त्यसमाथि अहिले एसियन गेम्समा सहभागी श्रीलंकाको टीम पहिलो रोजाइको पनि होइन ।

मुख्य टी–२० खेलाडीहरू इंग्ल्यान्डविरुद्धको ओडीआई सिरिजमा व्यस्त भएकाले श्रीलंका क्रिकेटले दोस्रो/अनुभवी–मिश्रित स्क्वाड पठाएको छ । टीमका कप्तान सहन अराचिगे छन् ।

निरोशन डिकवेला (२०२१ पछि टी–२०आईमा फर्किएका), अशेन बण्डारा, नुवान तुषारा, बिनुरा फर्नान्डो, चमिका करुणारत्ने जस्ता अनुभवीहरूलाई स्थान दिइएको छ ।

टीममा धेरै युवा र अनक्याप्ड खेलाडीहरू (सिनेथ जयवर्धने, वानुजा सहन, गरुका संकेथ आदि) छन् । श्रीलंका हाल टी–२०आईमा कमजोर फर्ममा छ । लामो समयदेखि राम्रो प्रदर्शन गर्न सकेको छैन ।

हालै इंग्ल्यान्डविरुद्धको सिरिज ३–० ले हारेको थियो । श्रीलंका सीडेड टीमका रूपमा सिधै क्वाटरफाइनलमा आएको हो र यो टुर्नामेन्टमा अहिलेसम्म कुनै खेल खेलेको छैन ।

श्रीलंकाको टीम जापानको पीचमा अभ्यस्त नभइसकेको फाइदा नेपालले उठाउन सक्छ । श्रीलंकाका निरोशन डिकवेला, नुवान तुषारा, सहन अराचिगे, अशेन बण्डारा र स्पिनरहरूसँग नेपाल सतर्क रहनुपर्ने हुन्छ ।

यो प्रतिस्पर्धा नेपालको स्पिन आक्रमण र श्रीलंकाको युवारमिश्रित ब्याटिङविरुद्धको हुनेछ । यता, श्रीलंकाको पेस (तुषारा, बिनुरा) नेपालका ओपनरहरूका लागि परीक्षा बन्न सक्छ ।

मौसम र पीच

निशिनमा लगातार वर्षा भइरहेको छ । शनिबार नेपाल–जापान खेल पनि वर्षाले प्रभावित भएको थियो । मंगलबार पनि वर्षाको सम्भावना छ ।

यदि खेल पूरा नभए वा वाशआउट भएमा सीडेड टीम श्रीलंका सेमिफाइनलमा अगाडि बढ्नेछ र नेपाल बाहिरिने छ । त्यो भनेको नेपाली समर्थकका लागि दुर्भाग्यपूर्ण परिस्थिति हो ।

पिच स्पिनरहरूलाई सहयोगी हुने सम्भावना छ । समग्रमा नेपाल फर्म र अनुभवमा अगाडि देखिन्छ भने श्रीलंकाको नाम र केही अनुभवी खेलाडीहरूको उपस्थितिले उनीहरूलाई बलियो देखाउँछ । वर्षा नभए रोमाञ्चक भिडन्तको अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित