Logo
Logo
समाचार

कृषि विकास बैंकले एक मिनेटमै बनाइदिन्छ निःशुल्क व्यावसायिक योजना

२० लाख रुपैयाँसम्मको कृषि कर्जा लिन चाहने साना किसानलाई लक्षित सेवा, हालसम्म ९७० वटा योजना तयार

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १३ गते १६:५०
४५
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । कृषि व्यवसाय गर्ने सोच र लगानीको योजना भए पनि बैंकबाट कर्जा लिन आवश्यक व्यावसायिक योजना बनाउन नसकेर समस्यामा परेका किसानलाई कृषि विकास बैंकले सहजीकरण गर्ने भएको छ । बैंकले साना किसानका लागि एक मिनेटमै निःशुल्क व्यावसायिक योजना तयार गरिदिने सेवा सञ्चालनमा ल्याएको हो ।

‘वन मिनेट बिजनेस प्लान’ नाम दिइएको उक्त सेवामार्फत २० लाख रुपैयाँसम्मको कृषि कर्जा लिन चाहने किसानले निःशुल्क व्यावसायिक योजना बनाउन सक्नेछन् । गत आर्थिक वर्षको फागुनदेखि सुरु भएको यस सेवामार्फत हालसम्म ९७० वटा व्यावसायिक योजना तयार भइसकेका छन् ।

बैंकका अनुसार तयार भएका योजनामध्ये कृषि व्यवसायका ४९३ र पशुपालन क्षेत्रका ४७७ वटा छन् । व्यवसाय सञ्चालन गर्ने क्षमता भए पनि कर्जाका लागि आवश्यक कागजात तथा व्यावसायिक योजना तयार गर्न कठिनाइ भोगिरहेका साना किसानलाई लक्षित गरी सेवा सञ्चालन गरिएको हो ।ठूला तथा मझौला व्यवसायमा लेखा र वित्तसम्बन्धी काम गर्ने जनशक्ति उपलब्ध हुने भए पनि साना किसानसँग त्यस्तो सुविधा नहुने उनको भनाइ छ । नेपाल राष्ट्र बैंकले तोकेको ढाँचामा आवश्यक कागजात तयार गर्न किसानलाई सहज नभएकाले बैंकले प्रविधिको प्रयोगमार्फत सहजीकरण गरेको उनले बताए ।

सेवा लिन किसानले आफ्नो परिचय, ठेगाना, व्यवसायको प्रकृति, खेतीको क्षेत्रफल वा पशुसङ्ख्या, व्यवसाय सञ्चालन हुने स्थान र नजिकको बजारलगायत आधारभूत विवरण बैंकका कर्मचारीलाई उपलब्ध गराउनुपर्छ ।

कर्मचारीले प्रणालीमा विवरण प्रविष्ट गरेपछि कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीले एक मिनेटभित्र व्यावसायिक योजना तयार गर्छ । जिल्लागत लागत दर र औसत बजार मूल्यका आधारमा उत्पादन लागत तथा सम्भावित आम्दानीको प्रक्षेपण गरिन्छ ।तयार हुने योजनामा कुल परियोजना लागत, किसानको लगानी, सम्भावित आवधिक तथा चालु पुँजी कर्जा, ब्याजदर, सेवा शुल्क, बीमा शुल्क र भुक्तानी अवधिसहितका विवरण समेटिन्छन् । यसका साथै अनुमानित आम्दानी, खर्च, खुद नगद प्रवाह र कर्जा भुक्तानी गर्न सक्ने क्षमतासमेत उल्लेख हुन्छ ।

बैंकका कर्मचारीले तयार भएको योजना ग्राहकलाई अध्ययनका लागि उपलब्ध गराउँछन् । विवरण अध्ययन गरेपछि ग्राहकले हस्ताक्षर गरेर कर्जा प्रक्रियाका लागि पेस गर्न सक्छन् । पढ्न नसक्ने ग्राहकलाई कर्मचारीले योजना पढेर बुझाउने र त्यसपछि औँठाछापसहित आवेदन अघि बढाउने व्यवस्था पनि गरिएको छ ।

यद्यपि, प्रणालीबाट व्यावसायिक योजना तयार हुँदैमा कर्जा स्वतः स्वीकृत हुने भने होइन । यो सेवा कर्जा प्रक्रियाका लागि आवश्यक योजना तयार गर्न दिइने सहजीकरण मात्र हो । बैंकले अन्य आवश्यक प्रक्रिया र मूल्यांकन पूरा गरेपछि मात्रै कर्जा स्वीकृत गर्छ ।तथ्यांक र बजार मूल्यमा आधारित योजना

व्यावसायिक योजना तयार गर्दा प्रयोग हुने तथ्यांक, जिल्लागत लागत दर तथा बजार मूल्यलाई अद्यावधिक र विश्वसनीय बनाउन सेवा प्रदायकले व्यवस्थित संयन्त्र विकास गरेको छ ।

यसका लागि कृषि विभाग, प्रदेशस्तरीय मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) तथा विभिन्न स्थानीय बजार केन्द्रलगायत निकायबाट कृषि उत्पादनको लागत र बजार मूल्यसम्बन्धी तथ्यांक संकलन तथा प्रमाणीकरण गरिन्छ ।

यसरी संकलित तथ्यांकका आधारमा जिल्लागत तथा वस्तुगत उत्पादन लागत, प्रचलित बजार मूल्य र कृषि उत्पादनसम्बन्धी विवरणलाई योजनामा समावेश गरिन्छ । यसले किसानको व्यावसायिक योजना निर्माण र बैंकको कर्जा मूल्यांकन प्रक्रियालाई थप सहज बनाउने अपेक्षा गरिएको छ ।समय र खर्च दुवै बचत

सामान्यतया साना किसानको पहुँच व्यावसायिक योजना तयार गर्ने परामर्शदातासम्म सहज हुँदैन । बाह्य परामर्शदातामार्फत यस्तो योजना तयार गराउँदा करिब ५ हजारदेखि १५ हजार रुपैयाँसम्म खर्च लाग्ने र ३ देखि ७ दिनसम्म समय लाग्न सक्ने अवस्था छ ।

यस्तो अवस्थामा कृषि विकास बैंकले उपलब्ध गराएको निःशुल्क सेवाले किसानको समय र खर्च दुवै बचत गर्न सहयोग पुग्ने देखिन्छ ।

विशेषगरी व्यावसायिक योजना बनाउन आवश्यक प्राविधिक ज्ञान, जनशक्ति र आर्थिक स्रोतको अभाव भएका साना किसानलाई यस सेवाले कर्जा प्रक्रियामा प्रवेश गर्न सहज बनाउने अपेक्षा गरिएको छ । साथै, बैंकलाई पनि कर्जा प्रस्तावको मूल्यांकन र प्रशोधन प्रक्रियामा सहजीकरण पुग्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित