कृषि विकास बैंक लगातार दोस्रो वर्ष साफाको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित
बंगलादेशको ढाकामा आयोजित विशेष समारोहमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले अवार्ड ग्रहण गरे ।

काठमाडौं । कृषि विकास बैंक लिमिटेड दक्षिण एसियाली लेखा व्यवसायीहरूको क्षेत्रीय संस्था साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा)बाट लगातार दोस्रो वर्ष ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ ।
साफाले दक्षिण एसियाली सार्वजनिक क्षेत्रका बैंकहरूको समूहअन्तर्गत प्रदान गर्दै आएको ‘उत्कृष्ट वार्षिक प्रतिवेदन, एकीकृत प्रतिवेदन तथा संस्थागत सुशासनसम्बन्धी सूचना प्रकाशन’ विधामा कृषि विकास बैंकलाई यो सम्मान प्रदान गरेको हो ।
बैंकले आर्थिक वर्ष २०८१/८२ मा प्रकाशित गरेको वार्षिक प्रतिवेदनका आधारमा वित्तीय पारदर्शिता, जवाफदेहिता, प्रतिवेदनको गुणस्तर तथा संस्थागत सुशासनका क्षेत्रमा गरेको उत्कृष्ट कार्यको मूल्यांकन गर्दै साफाले यो अवार्ड प्रदान गरेको हो ।

बंगलादेशको ढाकामा आयोजित विशेष समारोहमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले अवार्ड ग्रहण गरे ।
कृषि विकास बैंकले यसअघि पनि गत वर्ष साफाको यही अवार्ड प्राप्त गरेको थियो । लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रियस्तरको यो सम्मान प्राप्त गर्नुलाई बैंकको वित्तीय प्रतिवेदन प्रणाली, पारदर्शिता र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्ट्सको सञ्जाल साझेदार संस्था हो । यसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानलगायत दक्षिण एसियाली क्षेत्रका ११ वटा चार्टर्ड एकाउन्टेन्ट्स संस्थाहरू आबद्ध छन् ।
साफाले प्रत्येक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित हुने विभिन्न संस्थाका वार्षिक तथा वित्तीय प्रतिवेदनहरूको मूल्यांकन गरी पारदर्शिता, जवाफदेहिता, प्रतिवेदनको गुणस्तर र संस्थागत सुशासनका आधारमा विभिन्न विधामा पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




