Logo
Logo
समाचार

कोरलाका ४६ स्थानमा पहिरो, सडक पूर्ण रूपमा सञ्चालन हुन एक साता लाग्ने

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालन हुन एक साताभन्दा बढी समय लाग्ने बताए ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १३ गते ०२:२१
६९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । उत्तर-दक्षिण जोेड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला खण्डका ४६ स्थानमा भारी वर्षाका कारण आएको बाढी पहिरो र नदी कटानले क्षति पुर्‍याएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी अजिता शर्माको अध्यक्षतामा आज जिल्ला प्रशासन कार्यालयमा बसेको विपद् व्यवस्थापन समितिको बैठकमा कोरला सडकका आयोजना प्रमुख तेजस्वी शर्माले सडक पूर्ण रूपमा सञ्चालन हुन एक साताभन्दा बढी समय लाग्ने बताए । 

जिल्लास्थित विभिन्न सरोकार भएका निकायका प्रतिनिधिको उपस्थितिमा बसेको बैठकमा असोज ८ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातले पुर्‍याएको क्षति तथ्यांक प्रस्तुत गर्दै कोरला सडकका आयोजना प्रमुख शर्माले पर्वत-मालढुंगा खण्डमा पाँच, बेनीबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्सेसम्म १६, म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरबाट जोमसोम हुँदै कोरलानाकासम्मको विभिन्न २५ ठाउँमा लेदो र ग्रेगानसहितको बाढी पहिरो र नदी कटानले क्षति पुर्‍याएको जानकारी दिए।

आयोजना प्रमुख शर्माका अनुसार भारी वर्षाका कारण आएको बाढीपहिराले कोरलानाका सडकको पर्वत–मालढुंगा सडक खण्डको लाटीखोला, फर्से, जुकेखोला, केराबारी र लामाखेत सडकमा क्षति पुगेको छ ।

म्याग्दीको बेनीबाट अन्नपूर्ण गाउँपालिका(३ रुप्सेसम्मको सडक खण्ड अन्तर्गत गलेश्वर, रघुगङ्गा पुल, बैसरी एक, बैसरी दुई, बैसरी तीन, बेगखोला, महभिर, भिरकाटे, पोखरेबगर, तातोपानी, नारच्याङ, जलथले, सुकेबगर, खामभित्ता, दाना, लाटो खोला, रुप्से खोलालगायत सडकमा लेदोसहितको बाढी पहिरो र नदी कटानले सडक संरचनामा ठूलो क्षति पुगेको उनले बैठकमा जानकारी दिए।

त्यसैगरी म्याग्दी र मुस्ताङको सिमाना काभे्रभिरबाट कोरलानाकासम्मका सडक पनि आंशिक तथा मध्यम क्षति पुगेको प्रमुख शर्माको भनाइ छ । उहाँका अनुसार म्याग्दी-मुस्ताङ सिमाना काभ्रेभिरबाट मुस्ताङखण्डको खहरे खोला, घाँसा, कैकु खोला, लेते खोला, मार्फा, पान्डा खोला, एक्लेभट्टी, कागबेनी, तिरीबारी, ग्रीन ताङ्वे, ताङ्वे खोला एक, ताङ्वे खोला दुई र छुसाङ खोलामा क्षति पुगेको छ ।

यस्तै बाढीपहिरोले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-३ को घ्याकर खोला, चैले, समर खोला, झो खोला, स्याङवचे, घमी, चराङ, छोसेर र नेपाल-चीन सिमाना नजिकै रहेको लोमान्थाङ गाउँपालिका-४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलगायत स्थानको सडकमा क्षति पुगेको आयोजनाले प्रमुख शर्माले बैठकमा उल्लेख गरे ।

बैठकमा सडकको अवस्था सडक सञ्चालनसम्बन्धी जानकारी दिँदै उहाँले म्याग्दी खण्डमा बाढी पहिरो र नदी कटानले केही स्थानमा सडक संरचना पूर्ण रूपमा क्षतिग्रस्त भएका उल्लेख गरे । तातोपानी-पोखरेबगर जोड्ने कालीगण्डकी नदीमा निर्मित पक्की पुलको एप्रोज (पहुँचमार्ग) बाढीले क्षति पुर्‍याएको बताए । उनले पर्याप्त जनशक्ति र उपरकणको व्यवस्थापन गर्न सकिएमा एक सातामा सडक पूर्ण रूपमा सञ्चालन गर्न सकिने अवस्था रहेको जानकारी दिए ।

जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष एवं प्रजिअ शर्माले वर्षाले अवरुद्ध कोरला सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने गरी सबै निकायसँग समन्वय र सहजीकरण गरिएको बताए । वर्षाले सडक अवरुद्ध भएपछि विभिन्न समस्या देखिन थालेका भन्दै उनले धार्मिक पर्यटकको आवागमन रोकिएकाले सडकलाई उच्च प्राथमिकता राखेर सञ्चालन गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित