Logo
Logo
समाचार

कोप-३१ मा नेपालको नेतृत्व गर्दै शनिबार टर्किए जाँदै परराष्ट्र मन्त्री खनाल

परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गर्ने भएका छन्।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक २० गते २२:४३
४०
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ। परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ अन्तर्राष्ट्रिय सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार टर्किए प्रस्थान गर्ने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार टर्किएको आन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको सम्मेलनमा मन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्नेछन्। 

मन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन पूर्ण बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसैगरी, नोभेम्बर ११ र १२ मा आयोजना हुने विश्व नेताहरूको शिखर सम्मेलनमा पनि उनले सहभागिता जनाउनेछन्।

सम्मेलनका क्रममा नेपालले हिमाली क्षेत्र र हिमनदीमा जलवायु परिवर्तनले निम्त्याएका चुनौती, विपद् जोखिम न्यूनीकरण तथा अनुकूलनका लागि आवश्यक अन्तर्राष्ट्रिय सहकार्यलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

यसै सन्दर्भमा नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा पर्वतीय क्षेत्रका साझा चुनौतीसम्बन्धी उच्चस्तरीय कार्यक्रम आयोजना हुनेछ। उक्त कार्यक्रममा हिमनदी तथा हिमक्षेत्रको संरक्षण, तापक्रम वृद्धिका कारण सिर्जित जोखिम, पर्वतीय समुदायको उत्थानशीलता र दिगो वित्तीय व्यवस्थापनका विषयमा छलफल हुनेछ।

‘पर्वतीय एजेन्डालाई अघि बढाउने : हिमनदी, हिमक्षेत्र, जलवायु जोखिमप्रतिको उत्थानशीलता, साझा जिम्मेवारी र दिगो वित्तीय व्यवस्थापन’ विषयक कार्यक्रममा मन्त्री खनाल सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।खनालले सम्मेलनका अन्य उच्चस्तरीय बैठक तथा विषयगत कार्यक्रममा समेत सहभागिता जनाउनेछन्। त्यसक्रममा विभिन्न मुलुकका समकक्षी मन्त्री तथा विशिष्ट प्रतिनिधिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य र कृषि, वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित सरकारी अधिकारीहरू सहभागी हुनेछन्।

संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तनसम्बन्धी वार्षिक सम्मेलनमा हरितगृह ग्यास उत्सर्जन कटौती, जलवायु अनुकूलन, जलवायु वित्त, ऊर्जा रूपान्तरण तथा जलवायुजन्य क्षति र नोक्सानीजस्ता विषयमा सदस्य राष्ट्रहरूबीच छलफल र वार्ता हुने गर्दछ। यस वर्षको सम्मेलनले जलवायुसम्बन्धी प्रतिबद्धता कार्यान्वयनलाई प्राथमिकता दिएको छ। 

जलवायु परिवर्तनको प्रभावबाट प्रभावित नेपालजस्ता पर्वतीय मुलुकका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग, हिमनदी संरक्षण तथा विपद् जोखिम व्यवस्थापनका विषय सम्मेलनमा महत्त्वपूर्ण रहनेछन्।

परराष्ट्र मन्त्री खनाल सम्मेलनका निर्धारित कार्यक्रम सम्पन्न गरी नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित