Logo
Logo
समाचार

किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक ९ गते १३:४४
५९
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

भद्रपुर (झापा) । झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जंगली हात्तीबाट बाली जोगाउने चिन्ता बढेको छ । खेतमा लगाएको धान जोगाउने प्रयासमा रहेका किसानलाई हात्तीको जोखिमबाट बच्न आग्रह गर्दै सशस्त्र प्रहरीले हात्ती प्रभावित क्षेत्रमा जनचेतनामूलक अभियानसँगै सुरक्षा निगरानी बढाएको छ ।

चाडपर्वको समयमा मानिसहरूको चहलपहल बढ्ने र बिहान–बेलुका तथा रातको समयमा जङ्गली हात्तीसँग जम्काभेट हुने जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले प्रभावित बस्तीमा ‘माइकिङ’मार्फत सचेतना फैलाइरहेको छ । हात्तीको आवतजावत हुने क्षेत्रका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र अँध्यारो समयमा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नं २ गण झापाका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्यले हात्तीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न सुरक्षा सतर्कतासँगै जनचेतनामूलक गतिविधिलाई प्राथमिकता दिइएको बताए।

“धानबाली जोगाउने चिन्तामा रहेका किसान तथा स्थानीय बासिन्दाले हात्तीको जोखिमलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । हात्ती देखिएमा नजिक जाने, जिस्क्याउने वा लखेट्ने प्रयास नगरी सुरक्षित स्थानमा जानुपर्छ,” कर्माचार्यले भने ।

उनका अनुसार हात्ती प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको मोबाइल तथा पैदल गस्ती परिचालन गरी निगरानी भइरहेको छ । स्थानीय बासिन्दालाई हात्तीको आवतजावतबारे सचेत गराउने र सम्भावित जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकाय तथा स्थानीयसँग समन्वय गर्ने काम पनि भइरहेको छ ।

धानबाली भित्र्याउने समय नजिकिँदै गर्दा खेतबारीमा जाने, राति बालीको निगरानी गर्ने तथा हात्ती धपाउने प्रयास गर्दा जोखिम हुन सक्ने भएकाले किसानलाई विशेष सावधानी अपनाउन सशस्त्र प्रहरीले आग्रह गरेको छ । हात्तीको बाटो अवरुद्ध गर्ने, नजिकै गएर फोटो वा भिडियो खिच्ने तथा भीड जम्मा भएर हात्तीलाई घेराबन्दी गर्ने कार्यले जोखिम बढाउन सक्ने भएकाले त्यस्ता गतिविधि नगर्न पनि अनुरोध गरिएको छ ।

त्यसैगरी, घर, गोठ तथा आँगन वरपर हात्तीलाई आकर्षित गर्न सक्ने खानेकुरा नराख्न, घर आसपास पर्याप्त उज्यालोको व्यवस्था गर्न र बाक्लो झाडी सफा राख्न आग्रह गरिएको छ । बस्तीमा रहेका बालबालिका, वृद्धवृद्धा तथा अन्य जोखिममा पर्न सक्ने व्यक्तिको विशेष ख्याल गर्न पनि सशस्त्र प्रहरीले अनुरोध गरेको छ ।

झापामा मेचीनगरको बाहुण्डाँगी, बुद्धशान्तिको माथिल्लो क्षेत्र, हल्दिबारीको जलथल, अर्जुनधाराको चुरे क्षेत्र तथा दमक र शिवसताक्षीका केही क्षेत्रमा जङ्गली हात्तीको आवतजावत र क्षतिको समस्या देखिँदै आएको छ । हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई सतर्क रहन र हात्ती देखिएमा नजिक नजान सशस्त्र प्रहरीले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित