Logo
Logo
समाचार

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

त
तिलिचो न्यूज
२०८३ भदौ ८ गते ०३:२२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

नारायणगढ । पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि पर्यटकीय नगरी सौराहा नजिकै खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा पर्यटकको उत्साहजनक उपस्थिति देखिन्छ । केन्द्रमा रहेका हात्तीका छावासँगै हरेक वर्ष खोरसोरमा आउने जङ्गली हात्ती ‘गोविन्दे’ र ‘रोनाल्डो’ पनि पर्यटकका मुख्य आकर्षण बनेका छन् ।

खोरसोर हात्ती प्रजनन तथा तालिम केन्द्रका प्रमुख मणिपुरण चौधरीका अनुसार वर्षातको समय भए पनि पर्यटकको आगमन रोकिएको छैन ।दैनिक सयौँ पर्यटक हात्ती हेर्न तथा छावासँग रमाउन केन्द्रमा आउने गरेका छन् ।

असोजदेखि भने पर्यटकको चाप अझ बढ्ने चौधरीले बताए । साउनदेखि केन्द्र प्रवेशका लागि टिकट काट्नु नपर्ने व्यवस्था गरिएको छ । यो पर्यटकीय दृष्टिले अफ सिजन मानिए पनि केन्द्रमा हात्ती अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या उल्लेख्य उनले बताए ।

प्रमुख चौधरीले भने, “अहिले अफसिजन भए पनि पर्यटकहरू निरन्तर आइरहनुभएको छ । यहाँ बर्सेनि रोनाल्डो, गोविन्दे, धुर्वे, सेरगजलगायत जङ्गली हात्ती आउने र केही समय खोरसोरमा बस्ने गर्छन् । यसपटक रोनाल्डो करिब दुई महिना खोरसोरमा बसेर फर्किएपछि अहिले गोविन्दे आएको छ । गोविन्दे आएको करिब एक महिना भयो ।” उनले असोजपछि यहाँ पर्यटकको भीड बढ्ने र यो क्रम जेठसम्म रहने बताए ।

हाल खोरसोरमा आएको गोविन्दे मात्तिएको अवस्थामा रहेकाले अन्य जङ्गली हात्तीलाई लखेट्ने र घरपालुवा हात्तीको पछिपछि लाग्ने गरेको छ । यसले कर्मचारी तथा पर्यटकका लागि जोखिम बढाएको प्रमुख चौधरीले बताए । उनका अनुसार अहिले गोविन्देसँगै ‘सेरगज’ र ‘भीमगज’ नामका जङ्गली हात्ती पनि रातिको समयमा खोरसोर आउने गरेका छन् । गोविन्देले उनीहरूलाई लखेट्ने गरेको उहाँले जानकारी दिए ।

जङ्गली हात्तीको जोखिमलाई ध्यानमा राख्दै पर्यटकको सुरक्षाका लागि विशेष सतर्कता अपनाइएको प्रमुख चौधरीले जानकारी दिए । उनले भने, “हामीले कर्मचारी खटाएर पर्यटकलाई सावधानी अपनाउन लगाउने गरेका छौँ । जङ्गली हात्तीको नजिक जान नदिई सुरक्षित दूरीबाट मात्रै अवलोकन गराउने व्यवस्था मिलाएका छौँ ।”

हाल केन्द्रमा नौ वटा माउ र छ वटा छावा रहेका छन् । पाँच वटा पोथी हात्ती गर्भवती छन् । तीमध्ये एउटा हात्ती यही वर्ष र अन्य चार वटा आगामी वर्ष व्याउने प्रमुख चौधरीले जानकारी दिए ।

हिजोआज पर्यटक हात्ती चढेर जङ्गल सफारी गर्नुभन्दा हात्ती प्रजनन केन्द्रमा हात्ती र छावा हेर्न बढी आउने गरेका छन् । खोरसोर आउने पर्यटक छावासँग फोटो खिच्ने, खेल्ने तथा रमाउने गर्छन् । हात्तीका छावासँग रमाउन र अवलोकन गर्न मात्र नभई हात्तीसम्बन्धी अध्ययन तथा अनुसन्धानका लागि स्वदेशी तथा विदेशी पर्यटक तथा अनुसन्धानकर्ता खोरसोर आउने गरेको प्रमुख चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित