कमलाको ‘सयपत्री’ पौरख : तरकारी छोडेर फूल खेती
तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ। घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ

बागलुङ। तिहारको आगमनसँगै बागलुङ नगरपालिका–१ रामरेखा मैनडाँडाकी कमला थापाको व्यस्तता निकै बढेको छ। घर छेउको खेतमा हुर्किएका विरुवा र फक्रिएका फूल स्याहार्नु उनको दैनिकी बनेको छ । ती फूललाई ग्राहकसम्म पुर्याउन झनै भ्याइनभ्याइ छ ।
तीन वर्ष पहिलेसम्म गोलभेडा, बन्दा र काउली फल्ने खेतमा यतिबेला कमलाले सयपत्री फुलाएकी छन् । तरकारी खेती गर्दा बजार नपाउने समस्या थियो।
ढोकोमा बाकेर बजार बजार पुग्नु पर्ने बाध्यता थियो । ग्राहकले भनेअनुसारको मूल्यमा दिनुपर्थ्यो । उब्जाउदेखि बिकाउनसम्म समस्या हुने भएपछि थापाले फूल खेती गर्ने निधो गरिन् । तरकारी फलाउने बारीभर उनले २०८१ मा सयपत्री लगाइन् । त्यतिबेला उनलाई लागेको थियो – फूल खेतीबाट के हुने हो ? नाफा हुन्छ कि घाटा ? दोधारबीच थालेको खेती अहिले फस्टाउँदा उनको खुसीको सीमा छैन ।
फूलको माग पनि बढेको छ । एउटा टनेलबाट सुरू गरेको खेती अहिले चार वटामा विस्तार भएको छ । उनले पाँच हजार रुपैयाँमा बिउ किनेर खेती थालेकी थिइन्।
अहिले लगानीसमेत बढाएर करिब तीन लाख पुर्याएकी छन् । उनको फूल फर्म बागलुङ कालिका मन्दिर नजिकै रहेको हुँदा मन्दिरमा जाने भक्तजनले पनि लैजान्छन्।
थापाले मौसमी तथा बेमौसी रुपमा फूल उत्पादन गर्दै आएकी छिन् । बेमौसमा बूढी मूल्य पर्ने उनको भनाइ छ । बेसिजनमा प्रति किलो ४ सयदेखि ६ सय रुपैयाँसम्म पर्ने गरेको थापाले बताइन् । तिहारको बेला जताजतै फूलफूल्ने हुँदा मूल्य कम पर्ने उनको भनाइ छ। तरकारी खेतीभन्दा फूल खेती गर्न सजिलो हुने उनको अनुभव छ । ‘दुःख गरेर तरकारी फलायो । भनेको समयमा बिक्री नहुने ! ढोकोमा बोकेर बजार बजार पुग्नुपर्ने । तर भनेको अनुसारको मूल्य नपर्ने समस्या थियो,’ थापाले भनिन्, ‘तरकारी खेती गर्दा धेरै मल चाहिने, विषादी चाहिने हुन्थ्यो । मिहिनेत पनि धेरै नै हुन्थ्यो तर फूल खेतीमा त्यति धेरै दुःख हुँदैन । माग पनि राम्रो छ ।’
थापाले यस वर्ष २० हजार रुपैयाँको बिउ लगाएकी थिइन्। टनेलभित्र एकै प्रकारका फूल लगाउँदा लामो समयसम्म राम्रो नफूल्ने भन्दै टनेल फेरेर खेती गर्नुपर्ने उनको अनुभव छ । बेसिजनमा फूलको मागअनुसार पूर्ति गर्न नसकेको थापाले बताइन् । थापाले फूल बिक्री गरेरै वार्षिक चार लाख रुपैयाँ आम्दानी गर्दै आएकी छिन् ।
फूल खेतीबाट थापाको चार जनाको परिवारलाई जीविका चलाउन सहज भएको छ । उनका श्रीमान पनि बागलुङ जिल्ला अदालतमा जागिरे छन् । खेती विस्तार गर्ने चाहना हुँदाहुँदै पनि जग्गा अभावका कारण सीमित ठाउँमा मात्रै काम गरिरहेको उनले सुनाइन् । ‘अहिले दाइ र मेरो जग्गामा फूल खेती गर्दै आएको छु । ठाउँ सानो छ । जग्गा हुन्थ्यो भने ठूलो क्षेत्रफलमा फूल लगाउन मन थियो,’ उनले आफ्नो इच्छा सुनाइन् ।
सरकारले आफूजस्ता किसानलाई अनुदान, तालिम र प्राविधिक सहयोग गर्नुपर्ने उनको भनाइ छ । सरकारबाट सहयोग पाएमा खेती विस्तार गर्नसक्ने र दुई/चार जनालाई रोजगारी दिनसक्ने उनले बताइन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




