काठमाडौँमा शृङ्खलाबद्ध लुटपाटमा संलग्न आरोपमा तीन पक्राउ, प्रहरीमाथि आक्रमण प्रयासपछि गोली चलाइयो
काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध लुटपाट तथा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शृङ्खलाबद्ध लुटपाट तथा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले सञ्चालन गरेको विशेष अपरेसनका क्रममा ‘माझी गिरोह’का मुख्य व्यक्ति भनिएका आयन माझीसहित तीन जनालाई भक्तपुरको ठिमीबाट नियन्त्रणमा लिइएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले पक्राउ पर्नेमा सिन्धुलीको मरिण गाउँपालिका-५ घर भई हाल काठमाडौँको कलंकी बस्ने २४ वर्षीय आयन माझी, मकवानपुरका ३६ वर्षीय मनोजकुमार मोक्तान र ३४ वर्षीय राकेश थिङ रहेको जानकारी दिए।
प्रहरीका अनुसार विशेष सूचनाका आधारमा पक्राउ गर्न पुगेको टोलीमाथि धारिलो हतियार प्रहार गरी भाग्ने प्रयास भएपछि गोली चलाएर माझीलाई नियन्त्रणमा लिइएको हो।
प्रारम्भिक अनुसन्धानबाट उक्त समूहले बिहान तथा रातिको समयमा एक्लै हिँड्ने सर्वसाधारणलाई लक्षित गरी लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ। उनीहरूले बाटो वा ठेगाना सोध्ने बहानामा नजिक पुगेर सुनका सिक्रीलगायत गरगहना लुट्ने र भाग्ने क्रममा पटक-पटक सवारीसाधन परिवर्तन गर्ने गरेको प्रहरीको भनाइ छ।
प्रहरीका अनुसार उक्त समूह १५ वटाभन्दा बढी मोटरसाइकल चोरी तथा २७ भन्दा बढी लुटपाटसम्बन्धी मुद्दामा संलग्न रहेको आशंक छ।
मुख्य आरोपित माझी यसअघि पनि डाँका तथा चोरीसम्बन्धी मुद्दामा पटक-पटक कारागार बसेर छुटेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले जेन जेड आन्दोलनका बेला लुटिएका अत्याधुनिक हतियार खरिद गर्ने योजना बनाएको विषयसमेत खुलेको प्रहरीको दाबी छ।
पक्राउ परेकाहरूको साथबाट लुटपाटमा प्रयोग भएको भनिएका दुईवटा मोटरसाइकल, पाँचवटा नक्कली नम्बर प्लेट र एउटा खुकुरी बरामद गरिएको एसएसपी घिमिरेले जानकारी दिए।
प्रहरीले समूहका अन्य व्यक्तिको खोजी जारी राखेको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




