Logo
Logo
समाचार

काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’ : ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो

त
तिलिचो न्यूज संवाददाता
२०८३ कार्तिक १० गते १८:२६
३४
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले नेपाल प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ मा ७५ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गएको २४ घण्टामा काठमाडौँका विभिन्न स्थानमा सञ्चालन गरिएको विशेष सुरक्षा अभियानमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमध्ये ६० पुरुष र १४ जना महिला छन् । त्यस अपरेसनमा अन्य एक जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले समाजमा शान्ति, सुव्यवस्था कायम गरी आपराधिक गतिविधि रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले विशेष प्रहरी परिचालन गरी स्वीप अपरेसन सञ्चालन गरिएको जानकारी दिए ।

उनका अनुसार सार्वजनिक स्थल, सार्वजनिक यातायातका साधन, सरकारी तथा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय आसपासका क्षेत्रलगायत नागरिकको बढी आवतजावत हुने स्थानलाई लक्षित गरी अभियान सञ्चालन गरिएको हो ।

प्रहरीले सार्वजनिक स्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात गर्ने, होहल्ला तथा हुल हुज्जत गर्ने, दुर्व्यवहार गर्ने, चोरी, लुटपाट, बिचौलियाको गतिविधि सञ्चालन गर्ने तथा गुण्डागर्दीजस्ता आपराधिक गतिविधिमा संलग्न रहेको आशंकामा विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त अभियानका क्रममा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई दण्ड तथा सजाय तोकिएका आठ जना कसुरदारसमेत पक्राउ परेका छन् । त्यसैगरी विभिन्न मुद्दामा अनुसन्धान तथा कानुनी कारबाहीका क्रममा फरार रहेका चार जना प्रतिवादीलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । त्यस्तै अदालतबाट सजाय तोकिएका र चालु मुद्दामा फरार रहेका गरी १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार स्वीप अपरेसनको मुख्य उद्देश्य सार्वजनिकस्थलमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु, फरार कसुरदार तथा प्रतिवादीको खोजी गर्नु र नागरिकलाई सुरक्षित वातावरणमा दैनिक गतिविधि सञ्चालन गर्न सहयोग पुर्‍याउनु हो ।

विशेष गरी सार्वजनिक यातायात, भिडभाड स्थान तथा सेवाग्राहीको बढी उपस्थिति रहने क्षेत्रमा हुने चोरी, लुटपाट, दुर्व्यवहार, बिचौलियाको गतिविधि र गुण्डागर्दी नियन्त्रणलाई अभियानमा प्राथमिकता दिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरीले पक्राउ परेका व्यक्तिको संलग्नता तथा उनीहरूमाथि लागेका आरोपका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित