Logo
Logo
समाचार

कानुन समितिमा जेनजी आन्दोलनबारे चर्काचर्कीपछि एमाले सांसद सिद्धिकीले गरिन् बैठक बहिष्कार

सरकारका कामकारबाहीबारे प्रश्न उठाउँदै सिद्धिकीले भनिन्,‘त्यसो हो भने तपाईंले आफ्ना प्रधानमन्त्रीको बायोडाटा हेर्नुस्। सभापति रविजीको ब्याकग्राउन्ड हेर्नुस्। तपाईंकै सरकार हुँदाहुँदै मधेसमा भएको काण्डको समीक्षा गर्नुस्। तपाईंकै सरकार हुँदाहुँदै अहिले डिजास्टर म्यानेजमेन्ट गर्न नसकेको सवालमा हेर्नुस्। तपाईंकै सरकार हुँदाहुँदै बच्चीहरू अपहरणमा परेर बलात्कृत भएर मारिएका घटना हेर्नुस्।’

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १४ गते १८:५७
१३
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

काठमाडौँ- संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद स्मृति सेन्चुरी र नेकपा एमाले सांसद साजिदा खातुन सिद्धिकीबीच भनाभन भएको छ। भनाभनपछि सिद्धिकीले बैठक बहिष्कार गरेकी छन्।

बैठकमा सेन्चुरीले गत वर्षको जेनजी आन्दोलनका क्रममा गोली चलाउनेहरूमाथि कारबाही हुनुपर्ने विषय उठाउँदै केही युवाहरू अझै जेलमा रहेको बताइन्। उनले भनिन्, ‘गत वर्ष भदौ २३ गते गोली चलाउने ती बच्चाहरूमाथि नै ड्याङड्याङ गोली ताक्नेहरू अहिले खुल्ला खुल्ला ठूला भाषण गर्दै, यो देश मैले नै हो, मेरो बागडोर हो भनेर हिँडिरहेका छन्। अनुहार मात्रै देखेको छ, उनीहरू थुनामा हुनुपर्छ भनेपछि यो कहाँसम्मको मानवअधिकार हो? कहाँसम्मको न्याय हो? यो हुनु हुँदैन।’

सेन्चुरीले उक्त प्रश्न उठाएपछि सिद्धिकीले आपत्ति जनाएकी थिइन्। सिद्धिकीले आफूलाई व्यक्तिगत रूपमा लक्षित गरेर बहस गरिएको भन्दै असन्तुष्टि जनाइन्।

उनले भनिन्,‘अब हामी नबोल्ने, किनभने तपाईंहरूले जे पनि निर्णय गर्दा व्यक्ति व्यक्तिको नाम लिएर तपाईंहरूको बहस हो यो? तपाईंसँग गर्नुपर्ने के मसँग गर्ने होइन नि। जेनजी आन्दोलनको होस् या कैदीबन्दीको होस् अथवा अर्को सवाल होस्, मेरो नाम लिने होइन नि।’

समिति सभापति समीक्षा बास्कोटाले बैठकमा बस्न आग्रह गरे पनि सिद्धिकीले बैठक बहिष्कार गरिन्। बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै सिद्धिकीले समितिको बैठकमा सांसदहरूले आफ्ना धारणा सभापतिमार्फत राख्नुपर्ने बताइन्। उनले आफ्नो नाम लिएर बोल्ने अधिकार कसले दिएको भन्ने प्रश्न गर्दै भनिन्, ‘मेरो नाम लिएर बोल्ने भनेको उहाँलाई कसले अधिकार दियो? कसले अधिकार दियो? माननीयले राख्ने कुरा भनेको सभापतिमार्फत हो नि त। सभापतिलाई सुनाउनुपर्‍यो के।’

उनले समितिमा नेकपा एमालेलाई र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निरन्तर आलोचना गर्ने गरिएको दाबी गर्दै त्यसको साटो सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताइन्। उनले भनिन्, ‘सदैव एमालेलाई, हैन, केपीलाई गाली गर्ने, सदनमा पनि त्यही भइरहेको छ, समितिमा पनि त्यही भइरहेको छ, बाहिर पनि त्यही भइरहेको छ।’

सरकारका कामकारबाहीबारे प्रश्न उठाउँदै सिद्धिकीले भनिन्,‘त्यसो हो भने तपाईंले आफ्ना प्रधानमन्त्रीको बायोडाटा हेर्नुस्। सभापति रविजीको ब्याकग्राउन्ड हेर्नुस्। तपाईंकै सरकार हुँदाहुँदै मधेसमा भएको काण्डको समीक्षा गर्नुस्। तपाईंकै सरकार हुँदाहुँदै अहिले डिजास्टर म्यानेजमेन्ट गर्न नसकेको सवालमा हेर्नुस्। तपाईंकै सरकार हुँदाहुँदै बच्चीहरू अपहरणमा परेर बलात्कृत भएर मारिएका घटना हेर्नुस्।’

जेनजी आन्दोलनका क्रममा भएका घटनामा दोषी र निर्दोषलाई एउटै ढंगले व्यवहार गर्न नहुने आफ्नो धारणा रहेको उनले बताइन्। उनले भनिन्,‘जेनजी आन्दोलनका लागि आएर अपराध गरिरहेका मानिसहरू जेल जानुपर्छ भन्ने सबैको मान्यता हो। तर जेनजी आन्दोलनमा निष्पक्ष भएका बच्चाहरू, जो फसाइएका छन्, जो केही थाहा नभएर बाहिर आउनुभयो, उहाँहरूलाई छोड्नुपर्छ भन्ने हाम्रो माग हो।’

आन्दोलनका नाममा भएका गम्भीर आपराधिक घटनामा समेत उन्मुक्ति दिन नहुने उनको भनाइ थियो। उनले भनिन्,‘जेनजी आन्दोलन भन्दैमा देश पनि ध्वस्त बनाउने? मान्छे मार्दै हिँड्ने? प्रहरीलाई नाङ्गै बनाएर भित्री कपडामा हिँड्न बाध्य बनाउने? देश ध्वस्त भयो। जेनजीका नाममा आएर सबैलाई माफी हुनुपर्छ? त्यो हो भने देश ध्वस्त बनाउनुस्, देश बेचिदिनुस्, सबैले माफी गर्छ। तपाईंकै हातमा छ, सरकार तपाईंको छ।’

सिद्धिकीले आन्दोलनका नाममा हुने अपराधलाई निरुत्साहित गर्न आवश्यक रहेको बताइन्। उनले भनिन्, ‘देश बनाउने होइन, ध्वस्त बनाउने जो आउनुभयो, उहाँलाई छोडिदिने हो भने सदैव अपराध न्यूनीकरण हुने भएन नि। देश सदैव आन्दोलनका नाममा, राजनीतिका नाममा, जातियताका नाममा, क्षेत्रका नाममा, वर्गका नाममा ध्वस्त हुने भयो नि।’

समितिमा बहुमतका आधारमा आफूहरूका धारणा दबाइएको आरोप पनि सिद्धिकीले लगाइन्। समितिमा सत्तापक्ष र प्रतिपक्षको अवधारणा नभए पनि बहुमत सदस्यको प्रभाव रहने गरेको उनको भनाइ थियो। उनले भनिन्,‘समिति भनेको फेयर हुन्छ, समिति भनेको क्लियर हुन्छ। समितिमा हामी सबै माननीयहरूले आफ्नो भ्वाइस राख्ने हो, क्लियरली गरेर समितिबाट रिपोर्ट पठाउने हो भन्ने कुरा छ नि, तर त्यो रहँदैन। जहाँ पावर छ, जहाँ धेरै हुनुहुन्छ, उहाँहरूको लाग्छ।’

उनले समितिमा एमालेका सदस्यहरू अल्पमतमा रहेको उल्लेख गर्दै भनिन्, ‘चेपेकै नै छ नि। त्यो त सदनमा पनि देखिरहनुभएको छ, यहाँ पनि देखिरहनुभएको छ।’

समितिमा आफूले कुनै अनुचित विषय नउठाएको दाबी गर्दै सिद्धिकीले बैठकको रेकर्ड उपलब्ध गराउनसमेत माग गरिन्। उनले भनिन्, ‘मैले समितिमा नाजायज के छलफल गरेको थिएँ? तपाईंसँग रेकर्ड होला, त्यो रेकर्ड पनि मलाई पठाइदिनुहोला। मैले नाजायज के छलफल गरेको थिएँ?’

उनले समितिको बैठकमा आफूलाई सम्मानजनक व्यवहार हुनुपर्ने बताउँदै बैठक बहिष्कार गरेको बताइन्। ‘माननीयले राख्ने कुरा भनेको सभापतिमार्फत हो। मेरो नाम लिएर बोल्ने भनेको उहाँलाई कसले अधिकार दियो? कसले अधिकार दियो?’ उनले प्रश्न गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

चुनावी मैदानमा हार्दिकता प्रस्तुत गर्दै उम्मेदवार

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित