कांग्रेसमा गण्डकीको दाबी, उपसभापति र सहमहामन्त्रीमा धेरै (को–को छन् चर्चामा)
नेपाली कांग्रेसको १५औं महाधिवेसन अन्तर्गत गण्डकीबाट दर्जनौं केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

पोखरा । नेपाली कांग्रेसको १५औं महाधिवेसन अन्तर्गत गण्डकीबाट दर्जनौं केन्द्रीय सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
अहिलेसम्म सामाजिक सञ्जाल मार्फत ३० भन्दा बढीले केन्द्रीय सदस्य उम्मेदवार बन्ने घोषणा गरेका छन् । पदाधिकारीमा भने उपसभापति र सहमहामन्त्रीमा बढी दाबी छ ।
उपसभापतिमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको दाबी छ । उनले उम्मेदवारी घोषणा सार्वजनिक गरिसकेका छन् । यस्तै तनहुँका गोविन्द भट्टराई पनि उपसभापतिका आकांक्षी हुन् । दुवै जना शेरबहादुर देउवा पक्षबाट विशेष महाधिवेशनपछि हालको संस्थापनमा खुलेका हुन् । उनीहरू हाल केन्द्रीय सदस्य छन् ।
केन्द्रीय प्रवक्ता तथा सदस्य देवराज चालिसे र निवर्तमान सहमहामन्त्री जीवन परियार पनि उपसभापतिका उम्मेदवार हुन् । तर परियारले उम्मेदवारीबारे विचार गर्ने बताएका छन् । चालिसे निकटकाले भने उपसभापतिमै उम्मेदवारका रूपमा चर्चा गरिरहेका छन् । गण्डकीबाट महामन्त्रीमा नवलपुरका शंकर तिवारीले आकांक्षा गरेका छन् । तर, उनको दाबी बलियो नरहेको नेताहरूले बताएका छन् ।
सहमहामन्त्रीमा पनि ३ जनाको नाम चर्चामा छ । आदिवासी जनजातिबाट ओम घर्ती दाबेदार छन् । खुलामा कास्कीका सभापति किशोरदत्त बरालको नाम सुनिएको छ । मुस्लिम वा अल्पसंख्यक क्लस्टरमा गोरखाका अब्दुल सत्तारको नाम चर्चामा छ । पर्वतका अर्जुन जोशी पनि पदाधिकारीका लागि सम्भावित नाम हो । तर, उनले हालसम्म घोषणा गरेका छैनन् । केन्द्रीय सदस्यमा भने अत्यधिक धेरै नाम सुनिएको छ, तीमध्ये कसले उम्मेद्वारी दिन्छन् भन्ने प्रस्ट छैन ।
नेपाली कांग्रेस गण्डकी कार्यसमितिले उम्मेदवारीपछि आन्तरिक छलफल गर्ने तयारी गरेको छ ।
‘उम्मेदवार कति भन्ने अहिले नै प्रस्ट भएको छैन । दाबी धेरैले गरेको देखिन्छ,’ प्रदेश महामन्त्री विष्णुप्रसाद लामिछाने भन्छन्, ‘उम्मेदवारी दर्ता हेरौँ अनि प्रदेशको छुट्टै भेला राख्ने भन्ने सल्लाह भैरहेको छ ।’ केन्द्रीय महाधिवेशनपछि जिल्ला र प्रदेशको अधिवेशन तयारी गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




