Logo
Logo
समाचार

कालीगण्डकी कोरिडोर: बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

मुख्य याममा पर्यटकीय गतिविधि ठप्प भएकाले बेनी–जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

त
तिलिचो न्यूज संवाददाता
२०८३ आश्विन १७ गते १९:४२
६२
0
Comments
Shares
Featured Image
तस्बिर : तिलिचो न्यूज

म्याग्दी । गत साताको वर्षापछिको बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने बेनी-जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा मर्मतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ । असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको बाढी पहिरोले मालढुंगाबाट घाँसासम्म करिब ५० किलोमिटर दूरीमा ४६ भन्दा बढी ठाउँमा सडक अवरुद्ध बनाएको थियो ।

मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको भुरुंग तातोपानी र पर्वतको मालढुंगाबाट म्याग्दीको राहु घाट खण्डमा मर्मतपछि एकतर्फी यातायात सञ्चालन भएको छ । रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरस्थित राहु घाट जलविद्युत् आयोजनाको विद्युत् गृह र स्विचयार्ड परिसरमा रहेको ‘ग्यान टिटावर’ हटाउन भएको ढिलाइ र मौजुदा इन्धन सकिएपछि मर्मतमा चुनौती सिर्जना भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले बताए ।

“तिल्केनीचौर-पोखरेबगर खण्डमा पहिरो पन्छाउने, पहाड काट्ने र फिलिङ गर्न डोजर, लोडर, ब्याकहो लोडर, टिप्पर चलाउन डिजेलको अभाव भएको छ”, उनले भने, “तिल्केनीचौरमा टावर हटाउन भएको ढिलाइले दुई दिनदेखि सडक बनाउने काम प्रभावित बनेको छ ।”

मुस्ताङतर्फबाट इन्धन ढुवानी गर्न अन्तर जिल्ला समन्वय, टावर हटाउन राहु घाट जलविद्युत् आयोजनामार्फत माथिल्लो निकायमा पहल र उच्चस्तरीय टोलीबाट पहिरो प्रभावित सडकको निरीक्षण गरेर सहजीकरण भएको प्रमुख शर्माले उल्लेख गरे ।

रघुगंगाको पिप्ले–भगवती–बेग हुँदै बेगखोला जोड्ने वैकल्पिक बाटो खुलाएर साना सवारी सञ्चालन र इन्धन ढुवानीका लागि काम भइरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । सडक विभागका महानिर्देशक डा विजय जैसीसहितको प्राविधिक टोलीले शुक्रबार पहिरोबाट प्रभावित सडकको निरीक्षण गरेर मर्मतका लागि स्रोतसाधनको अभाव हुन नदिने प्रतिबद्धता जनाए ।

राहु घाट जलविद्युत् आयोजनाका प्रमुख राजबहादुर विष्टले टावर हटाउने विषयमा आफ्नो तहबाट निर्णय गर्न नसकिने भएकाले माथिल्लो निकायको स्वीकृति लिनुपर्ने बाध्यता रहेकाले सोका बारेमा जानकारी नबुझी सुरक्षाकर्मी परिचालन नगर्न सम्बन्धित निकायलाई आग्रह गरे ।

तिल्केनीचौरमा राहु घाट जलविद्युत् आयोजनाको विद्युत् गृहबाट पानी फाल्न बनाइएको ‘टेलरेस डक’, सडक, निर्माण कम्पनीका उपकरण तथा क्याम्पमा बाढीले कटान गरेर क्षति पुर्‍याएको छ । राहुपारे, सिरुवारी, कुनौटा, महभिर, भिरकाटे, धिरच्याङ र रातो पानीमा सडक कटान गरेको छ भने पोखरेबगरको सडक पुलको पहुँच मार्ग बाढीले बगाएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएपछि चीनसँगको व्यापारका लागि एक मात्र विकल्प बनेको कोरला नाकासँगको यातायात सम्पर्क पनि सडक अवरुद्ध भएपछि टुटेको छ । मुख्य याममा पर्यटकीय गतिविधि ठप्प भएकाले बेनी–जोमसोम सडक खुलाउन सरकारले उच्च प्राथमिकता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।

कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

सिफारिस

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट

Tilicho News

अध्यक्ष तथा सम्पादकः

वासुदेव न्यौपाने

सूचना विभाग दर्ता नं.

२१२४ / ०७७-७८

+977-9705161425

tilichonews@gmail.com

© २००६-२०२५ तिलिचो न्युज सर्वाधिकार सुरक्षित