जिम्मेवारी सम्हाल्न काठमाडौँ आइपुगे नवनियुक्त भारतीय राजदूत दलेला
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालको परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।

काठमाडौँ। नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न मंगलबार काठमाडौँ आइपुगेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालको परराष्ट्र मन्त्रालय तथा काठमाडौँस्थित भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए।
भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमण सुरु हुनुभन्दा एक दिनअघि दलेला काठमाडौँ आइपुगेका हुन्। मिश्री बुधबारदेखि दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छन्। भ्रमणका क्रममा नेपाल–भारत द्विपक्षीय सम्बन्ध तथा आपसी चासोका विभिन्न विषयमा छलफल हुने कार्यक्रम छ।
भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। उनी यसअघि भारतको विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत थिए।
सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका दलेलाले सन् २०२५ सेप्टेम्बर १ देखि आर्थिक सम्बन्ध सचिवको जिम्मेवारी सम्हालेका थिए। त्यसअघि उनी सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूत थिए।
दलेलासँग नेपालसम्बन्धी कूटनीतिक मामिलामा काम गरेको अनुभवसमेत छ। उनले भारतीय विदेश मन्त्रालयमा नेपाल र भुटानसँगको सम्बन्ध हेर्ने उत्तरी महाशाखामा निर्देशक तथा सहसचिवको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
यसका अतिरिक्त उनले अमेरिका, बंगलादेश, इजरायललगायत मुलुकमा विभिन्न कूटनीतिक जिम्मेवारी सम्हालेका छन्। व्यापार तथा आर्थिक कूटनीतिमा समेत अनुभव रहेका दलेलाले आर्थिक सम्बन्ध सचिवका रूपमा भारतको अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकास साझेदारीसम्बन्धी विषय हेर्दै आएका थिए।
सचिवस्तरका अनुभवी कूटनीतिज्ञलाई नेपालका लागि राजदूत नियुक्त गर्ने भारत सरकारको निर्णयलाई दुई देशबीचको कूटनीतिक सम्बन्धका सन्दर्भमा महत्त्वपूर्ण मानिएको छ।
दलेलाले निवर्तमान भारतीय राजदूत नवीन श्रीवास्तवको स्थान लिनेछन्। श्रीवास्तवले सन् २०२२ जुनदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हालेका थिए।
भारतका नवनियुक्त राजदूतको आगमन र विदेश सचिवको भ्रमणसँगै दुई देशबीच उच्चस्तरीय कूटनीतिक संवादको क्रम अघि बढ्ने भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




