झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणका क्रममा द्विपक्षीय वार्ताहरुमा नेपालको राष्ट्रिय झण्डा नराखिएको विषयलाई लिएर सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रष्टिकरण दिएको छ ।
रास्वपा प्रवक्ता जगदिश खरेलले झण्डालाई प्राविधिक विषय भन्दै अर्थमन्त्रीको भ्रमण उपलब्धीपूर्ण रहेको बताए ।
पार्टी सचिवालय बैठकपछि ब्रिफिङ गर्न आएका खरेललाई सञ्चारकर्मीले झण्डा प्रकरणबारे सोधेका थिए । खरेलले लामो प्रष्टिकरण दिँदै अन्त्यमा झण्डा प्राविधिक कुरा भएको बताएका हुन् ।
भारतीय वित्तमन्त्रीसँग उनको कार्यकक्षमा अर्थमन्त्रीको संक्षिप्त भेट भएको र त्यति नै बेला फोटो खिचिएको उनले बताए ।
नेपालको सन्दर्भ जोड्दै उनले भने, ‘हाम्रै प्रधानमन्त्री वा अर्थमन्त्रीज्यूको कार्यकक्षमा जाँदा पनि नेपालको मात्रै राष्ट्रिय झण्डा देखिन्छ, त्यहाँ अर्को देशको झण्डा राखिँदैन । त्यस्तै, त्यो तस्बिर भारतका वित्तमन्त्रीको आफ्नै कार्यकक्षमा केही समय सामान्य कुराकानीका लागि बस्दाको हो ।’
औपचारिक द्विपक्षीय वार्तामा भने कूटनीतिक मर्यादाअनुसार नै दुवै देशका झण्डा प्रयोग गरिएको प्रवक्ता खरेलले दावी गरे । नेपालको झण्डा डिजिटल डिस्प्लेमा भएको उनले बताए ।
‘दुवै देशका प्रतिनिधिमण्डल (डेलिगेट्स) सहितको औपचारिक द्विपक्षीय संवादमा डिजिटल डिस्प्लेदेखि टेबलसम्म दुवै देशका झण्डा थिए । डा. वाग्ले बस्नुभएको ठाउँमा नेपालको र भारतीय मन्त्री बस्नुभएको ठाउँमा भारतको झण्डा राखिएको थियो,’ उनले भने ।
झण्डाको प्राविधिक विषयलाई अनावश्यक रूपमा उचालेर भ्रमणको उपलब्धि ओझेलमा पार्न नहुने प्रवक्ता खरेलको भनाइ थियो ।
उनले थपे, ‘झण्डा एउटा प्राविधिक कुरा हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको भारत भ्रमणले के भयो त उपलब्धि भन्ने कुरा चाहिँ सबभन्दा महत्त्वपूर्ण कुरा हो । भ्रमण निकै उपलब्धिपूर्ण रह्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




