जेन जेड आन्दोलनमा गोली नचलाउनु र दमन नगर्नु भनेको हुँ, काँक्रो खाएर बियाँ हामीलाई टाँस्ने काम नहोस्’ : ओली
नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताएका छन् ।

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा सरकारबाट दमन नगर्नु भन्दाभन्दै गोली घुसपैठ गरेर गोली चलाइएको बताएका छन् ।
पार्टी केन्द्रिय कार्यालय च्यासलमा शनिवार आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
। उनले गत वर्ष कत्लेआम नरहत्याको योजना रचना गरिएको बताए । २३ गते अनावश्यक ढंगले नवयुवाहरूको र अरु युवाहरूको हत्याको काण्ड गराउने काम योजनावद्ध रहेको जिकिर गरे। त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाइएको बताए । काँक्रा आफूले खाएर बियाँ आफूहरूको मुखमा लगाइदिने षड्यन्त्र गरेको बताए । आन्दोलनमा आफूहरूले गोली नचलाउन र दमन नगर्न भनेको भएपनि कसरी गोली चल्यो भन्नेकुरा षड्यन्त्रपूर्ण रहेको बताए।
अध्यक्ष ओलीले भने, ‘अहिले विभिन्न प्रकारका अन्तर्राष्ट्रिय खोज, अध्ययन, अनुसन्धानवाला विभिन्न रिपोर्टहरूले पनि देखाएका छन् । सामाजिक सञ्जालहरूले देखाएका छन्, सञ्चार माध्यमहरूले देखाएका छन् । त्यसकारण यसमा मैले धेरै केही भन्नुपर्दैन जस्तो लाग्दछ । गत वर्ष एउटा आम कत्लेआम, नरहत्याको योजना रचना गरियो । रचना गरेकै हो यो योजना । त्यस योजना अन्तर्गत २३ गते अनावश्यक ढंगले नवयुवाहरूको र अरु युवाहरूको हत्याको काण्ड घटाउने काम भयो योजनावद्ध ढंगले, षड्यन्त्रपूर्ण ढंगले । त्यसलाई निहुँ बनाएर भोलिपल्ट राष्ट्रव्यापी रूपमा लुटपाट, हिंसा, आतंक, अराजकता फिजाउनुथियो, त्यो फिजाइयो, २४ गते । अनि काँक्रा उनीहरूले चोरेर खाए, बियाँ हाम्रो गालामा ल्याएर टाँसे । केही हामीले भनेका हौँ, हाम्रो गालामा बियाँ टाँस्न ल्याउनुपर्दैन । यो षड्यन्त्र हामीले पनि बुझेका छौँ, नेपाली जनताले बुझेको छ । अझ हामी बुझाउँदै लानेछौँ । केहीले बुझेको नबुझ्यै गर्ने बुझ पचाउने, केही तत्त्वहरू त भन्छन्, यो बाहिरको कुनै हात होइन, यो भूराजनीतिको कुनै अर्थ छैन यहाँ । हामीले बिगारेको हो, हाम्रो नेतृत्वले बिगारेको हो आदि इत्यादि यस्ता खालका कुराहरू गर्नेहरू पनि छन् । उतैबाट छापेका छन्, खोज अध्ययन गरेर उतैको संलग्नता, वाह्य संलग्नता उतैबाट छर्लङ्ग छ । उतैबाट भण्डाफोर गर्छन्, यहाँकाहरु त्यसको डिफेन्ड गर्न जान्छन् । होइन, होइन, त्यो हाम्रै, हाम्रै भित्रको कुरा हो । गोली किन चलाएको त हाम्रै भित्रको हो भने ? हामीले त चलाएनौँ, नचलाउनु भनेको थियो । प्रधानमन्त्री म थिएँ, मैले नचलाउनु, दमन नगर्नु भनेको थिएँ । दमन भयो किन ? दमन हुनुभन्दा अगाडि तोडफोड हुनुभन्दा अगाडि आगजनी हुनुभन्दा अगाडि फोरकास्ट हुँदै गए । सिंहदरबार जलाउने कुरा यो ८२ भदौ २४ गते सिंहदरबार जलाउने कुरा त्यसै दिन चलेको रु उसै दिनको आक्रोश, आवेश, उत्तेजना मात्रै होइन, अगाडिदेखि चलेको थियो । हाम्रा घरहरू जलाइएका तस्बिरहरू अगाडिदेखि देखाइएका थिए । सिंहदरबार जलाएको तस्बिर अगाडिदेखि देखाइएको थियो । संसद भवन जलाइएका तस्बिर अगाडिदेखि देखाइएका थिए । त्यसर्थ यो वास्तवमा नेपाललाई अराजकताको भुमरीमा राखेर आफ्ना प्यादाहरुको कथित सरकार जडान गरेर आफ्ना स्वार्थहरू पूरा गर्ने षड्यन्त्रहरू यी कुराहरू भएका हुन् । देशमा संविधान छ, जनताले बनाएको संविधान छ । जनताले बनाएको, निर्वाचनद्वारा बनाएको सरकार छ भने असंवैधानिक ढंगले, गलत ढंगले त्यस संविधानलाई ध्वस्त पार्ने काम सडकबाट । केही हजार मान्छेले ३ करोड नेपालीले वैधानिक ढंगले दिएको फैसलालाई केही हजार मान्छे अगाडि सारेर मिलेमतो र साठगाँठका साथ ध्वस्त पार्ने काम । आज त्यसैको सिलसिलामा असंवैधानिक सरकार, असंवैधानिक प्रतिनिधि सभा विघटन, यसलाई वैधानिकता दिने २४ गतेको राष्ट्रिय दहन, राष्ट्रिय क्षति, त्यसका अपराधीहरूलाई छुट दिने त्यो कर्म अत्यन्त जायज र सामान्य हो भन्ने स्थापित गर्ने । यसका निम्ति आयोग बनाइए, कोही भएका आयोगहरू त्यसमा जिब्रो चपाएर बसे अथवा लहैलहैमा फैसला सुनाए अथवा प्राप्त भएका नतिजाहरू प्रकाशित गर्न डराए। जे जे भो, राम्रो भइराखेको छैन । संविधान सम्मत छैन, लोकतान्त्रिक विधिबाट नेपाल अगाडि बढाउन दिइएको छैन ।’
अध्यक्ष ओलीले लोकतान्त्रिक विधिबाट नेपाललाई अघि बढ्न नदिइएको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




