जलपर्यटन व्यवसायमा सावधानी अपनाउन आग्रह
फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ ।

गण्डकी । फेवातालसहित पोखराका विभिन्न तालमा हुने गरेका जलपर्यटन सम्बन्धी गतिविधिलाई कानुनअनुसार व्यवस्थित गरी सुरक्षित ढङ्गले सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय, कास्कीले सार्वजनिक रूपमा आग्रह गरेको छ ।
कार्यालयले मङ्गलबार विज्ञप्तिमार्फत डुङ्गा, कायाकिङ र सर्फिङ बोटलाई सम्बन्धित निकायमा दर्ता गरेर मात्र सञ्चालन गर्न भनेको छ । लाइफ ज्याकेट विना ती गतिविधिमा भाग लिनबाट पूर्ण रूपमा रोक लगाउनुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी रमेश घर्तीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
व्यवसायीले सेवाग्राही के–कस्तो अवस्थामा जलपर्यटसँगसम्बन्धी गतिविधिमा भाग लिएका छन् भनेर नियमित निगरानी गर्नुपर्ने छ । सोह्र वर्षमुनिका बालबालिकालाई अभिभावकविना एक्लै कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न नदिन आग्रह गरिएको छ । त्यस्तै तोकिएको स्थानमा मात्र कायाकिङ र सर्फिङ बोट सञ्चालन गर्न अनुरोध गरिएको छ ।
पूर्वस्वीकृति लिएकोभन्दा बढी संख्यामा कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न भनिएको छ । पर्यावरणीय स्वच्छता र सुन्दरतामा आँच नआउने गरी जलपर्यटन गतिविधि सञ्चालन गर्न अनुरोध गरिएको छ । यीलगायत विभिन्न १५ वटा बुँदामा डुङ्गा, कायाकिङ र सर्फिङ बोटसम्बन्धी सावधानी अपनाउनुपर्ने विषय समेटिएको छ ।
हावाहुरी, वर्षा र चट्याङ परेका बेला डुङ्गा, कायाकिङ र सर्फिङ बोट सञ्चालन नगर्न विज्ञप्तिमार्फत सचेत गराइएको छ । सूचनाको अवज्ञा गरी त्यस्ता गतिविधि सञ्चालन गर्दा सावधानी अपनाएको नपाइएमा कानुनबमोजिम कारबाही हुने कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




