जापानको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा नेपाली युवा विमलले हात पारे पहिलो परराष्ट्रमन्त्री पुरस्कार
नेपालबाट ४ वर्ष अघी जापान आएका २१ वर्षीय विमल नेपाली हाल आइची प्रिफेक्चरको टोयोटा सहरमा कम्पनीमा कार्यरत छन्।
टोकियो । पोखराका २१ वर्षीय बिमल नेपालीले जापानमा आयोजित ६५औँ विदेशी नागरिकद्वारा जापानी भाषा वक्तृत्वकला प्रतियोगितामा जापानको परराष्ट्रमन्त्री पुरस्कार प्राप्त गरेका छन्।
नेपाली युवा विमल नेपालीले जापानको ओकायामा प्रिफेक्चरस्थित इहारा सिटी नागरिक सभागृहमा अक्टोबर ३ तारिख शनिबार आयोजित प्रतियोगितामा जापानकी राजपरिवार सदस्य प्रिन्सेस ताकामादो हिसाकोसहित २ सय जनाको उपस्थिति थियो।
अन्तर्राष्ट्रिय शैक्षिक प्रवर्द्धन संघलगायत संस्थाको आयोजनामा सम्पन्न प्रतियोगितामा भिडियो छनोट प्रक्रियाबाट छनोट भएका १० देशका १२ जना प्रतियोगीले सहभागिता जनाएका थिए। यस प्रतियोगिताका लागि १०० भन्दा बढी आवेदन परेको थियो।
नेपालबाट ४ वर्ष अघी जापान आएका २१ वर्षीय विमल नेपाली हाल आइची प्रिफेक्चरको टोयोटा सहरमा कम्पनीमा कार्यरत छन्। सन् २०२३ मा जापान आएका उनले जापानी भाषामा आफ्नो विचार प्रस्तुत गर्दै विदेशी नागरिकमाथि हुने विभेद र त्यसलाई सामना गर्ने तरिकाबारे धारणा राखेका थिए।
उनले सामाजिक सञ्जालमा विदेशी नागरिकलाई विभेद गर्ने खालका भिडियोहरू देखेपछि त्यसको जवाफस्वरूप आफूले पनि भिडियो पोस्ट गरेको अनुभव सुनाएका थिए। त्यस क्रममा आफूले अध्ययन गरेको व्यावसायिक विद्यालयमा आफ्नो व्यवहारबारे आत्मसमीक्षासहितको पत्र लेख्नुपरेको अनुभवसमेत उनले सुनाए।
त्यस अनुभवबाट आफूले प्रतिशोध लिनुभन्दा संयमित रहने साहस र एकअर्काको भिन्नतालाई सम्मान गर्ने महत्त्व सिकेको उनले बताए।
उनले आफ्नो मन्तव्यमा भनेका थिए, ‘भिन्नतालाई अस्वीकार गर्नुको सट्टा त्यसलाई आफ्नो शक्ति बनाएर एकअर्कासँग हातेमालो गर्दै अघि बढौँ।’
विभिन्न संस्कृति र पृष्ठभूमिबाट आएका मानिसबीच आपसी समझदारी, मित्रता र सहकार्यको सम्बन्ध विकास गर्नुपर्ने सन्देश उनले जापानी भाषामार्फत प्रभावकारी रूपमा प्रस्तुत गरेका थिए। विमलको प्रस्तुति र विचारलाई उच्च मूल्याङ्कन गर्दै निर्णायकहरूले जापानको परराष्ट्रमन्त्री पुरस्कार प्रदान गरेका हुन्।
जापानमा रहेर जापानी भाषा, संस्कृति र समाजमा आफ्नो पहिचान स्थापित गर्दै आएका नेपाली युवाले राष्ट्रियस्तरको प्रतियोगितामा प्राप्त गरेको यो सफलता नेपाली समुदायका लागि गौरवको विषय बनेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




