इरानविरुद्ध ‘अहिलेसम्मकै सबैभन्दा कडा’ अमेरिकी प्रतिबन्ध, यी देशहरूमा पनि पर्नेछ असर

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि आर्थिक दबाब बढाउन नयाँ अभियान सुरु गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यसलाई ‘अभूतपूर्व’ कदम भनेका छन्। उनले विदेशमा इरानका ‘आर्थिक बाटाहरू बन्द गर्नु’ यसको मुख्य उद्देश्य रहेको बताए।
यस अभियानअन्तर्गत अमेरिकाले इरानमाथिको आर्थिक प्रतिबन्धलाई अझ कडा बनाएको छ। दर्जनौँ व्यक्ति, कम्पनी र पानीजहाजहरूको नाम प्रतिबन्धको सूचीमा थपिएको छ।
अमेरिकाले इरानसँग अझै पनि काम गरिरहेका विदेशी बैंक, कम्पनी र बिचौलियाहरूमाथि दबाब बढाउने जनाएको छ। यसमा इरानको व्यापार र आम्दानीमा सहयोगी मानिने केही गतिविधिहरू रोक्नका लागि समयसीमा तोक्ने कुरा पनि समावेश छ।
अमेरिकाले यस अभियानलाई ‘अपरेसन इकोनोमिक आइसोलेसन’ अर्थात् आर्थिक रूपमा एक्ल्याउने नीति भनेको छ। अमेरिकाका अनुसार, उसले इरानसँग कुनै पनि प्रकारको व्यापार गर्ने सबै देशहरूलाई एक्ल्याइदिनेछ।
यो अभियान यस्तो समयमा सुरु भएको छ, जब दुई देशबीचको युद्धविराम अत्यन्त नाजुक अवस्थाबाट गुज्रिरहेको छ। महिनौँ लामो सैन्य सङ्घर्षले इरानको अर्थतन्त्रलाई ठूलो नोक्सान पुर्याएको छ। तेल निर्यात र वैदेशिक व्यापारमा अवरोध आएको छ। महँगी अत्यधिक बढेको छ भने राष्ट्रिय मुद्राको अवमूल्यन भएको छ।
आफ्नो मन्तव्यमा अमेरिकी अर्थमन्त्रीले स्पष्ट रूपमा यो अभियानलाई इरानमाथिको सैन्य दबाबको हिस्सा भएको बताए। उनले अमेरिकी सशस्त्र बलले यसको ‘जग तयार पारिसकेको’ बताए।
अमेरिकाले धेरै वर्षदेखि सिपिङ, सुनको व्यापार र इरानी उड्डयन जस्ता क्षेत्रहरूमा विभिन्न प्रकारका प्रतिबन्धहरू लगाउँदै आएको छ। अहिलेको परिवर्तनमा, नयाँ क्षेत्रहरू थप्नुका साथै पहिलेदेखि लागू प्रतिबन्धहरूलाई अझ कडा बनाइएको छ। यसबाहेक, विदेशमा इरानसँग काम गर्ने व्यक्ति वा संस्थाहरूविरुद्ध थप कडाइ गर्ने घोषणा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




