इन्द्रध्वजाको लिंगो उठाउन नालाबाट भोटाहिटी ल्याइयो रुख(तस्बिरसहित)
यस वर्ष तिथिको गणनाअनुसार शुभ साइतमा सल्लाघारीबाट रुख काटेर ल्याउने प्रक्रिया शुरु गरिएको थियो । हरितालिका तीजको दिनदेखि भने रुखलाई तान्दै काठमाडौं ल्याउने पक्रिया शुरु गरिएको उनले जानकारी दिए।

काठमाडौँ । इन्द्रजात्रामा इन्द्रध्वजाको लिंगो उठाउन काभ्रे र भक्तपुरको सीमानाका नालाबाट रुख (य:सिं)काटेर भोटाहिटीमा ल्याइएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० स्थित सल्लाघारीबाट रानी सल्लाको रुखलाई काटेर विभिन्न धार्मिक विधि पूरा गर्दै काठमाडौं ल्याइएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले उपलब्ध गराएको शुभ साइतअनुसार रुख काट्ने, क्षमा पूजा गर्ने तथा काठमाडौं ल्याउने प्रक्रिया अगाडी बढाइने गरेको केन्द्रिय मानन्धर संघका सचिव केके मानन्धरले जानकारी दिए।
पूर्वीय परम्परामा रुख काट्नु प्राण लिने कार्यसरह मानिने भएकाले रुख काट्नुअघि क्षमा पूजा गर्ने प्रचलन रहेको छ । यस वर्ष तिथिको गणनाअनुसार शुभ साइतमा सल्लाघारीबाट रुख काटेर ल्याउने प्रक्रिया शुरु गरिएको थियो । हरितालिका तीजको दिनदेखि भने रुखलाई तान्दै काठमाडौं ल्याउने पक्रिया शुरु गरिएको उनले जानकारी दिए।
पहिलो दिन सोमबार भलाँतेमा राखिएको र मंगलबार काठमाडौँको नगर प्रवेश बिन्दु भोटाहिटी आइपुगेको हो । भोटाहिटीमा रहेको मण्डलालाई केन्द्र बनाएर रुखलाई विशेष विधिअनुसार राखिनेछ । त्यसपछि स्थानीय तलाछि टोलका मानन्धर समुदायले पूजा गर्ने र केही दिनपछि विभिन्न समुदायको सहभागितामा वसन्तपुरस्थित हनुमानढोका दरबार परिसरमा पुर्याइने छ । हनुमानढोका दरबारमा पुगेपछि निर्धारित तिथिमा रुखलाई ठड्याइनेछ ।
उक्त रुख ठड्याएसँगै काठमाडौं उपत्यकामा विशेषगरी काठमाडौंमा विधिवत् रूपमा इन्द्रजात्रा शुरु भएको मानिन्छ । यस वर्ष इन्द्रजात्रा असोज ९ गते पर्ने र जात्रा करिव एक सातासम्म विभिन्न विधि तथा सांस्कृतिक गतिविधिसहित मनाइने मानन्धरले जानकारी दिए ।






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




