इनम अडियो प्रकरण: बालेनदेखि गगनसम्म निष्पक्ष छानबिन गर्न जेनजी नेताहरूको माग
सार्वजनिक भएका अडियो, ह्वाट्सएप सन्देश तथा बयानसँग जोडिएका आरोपहरूको निष्पक्ष छानबिन गर्न जेनजी नेताहरूले माग गरेका छन्।

काठमाडौं। इनम सापकोटा प्रकरणमा सार्वजनिक भएका अडियो, ह्वाट्सएप सन्देश तथा बयानसँग जोडिएका आरोपहरूको निष्पक्ष छानबिन गर्न जेनजी नेताहरूले माग गरेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहदेखि प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका कांग्रेस सभापति गगनकुमार थापा, प्रधानन्यायाधीश तथा अन्य उच्च पदस्थ सबै व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनीहरुले बताएका छन्।
जेनजी अगुवा रवि किरण हमालले प्रकरणको निष्पक्ष छानबिनका लागि प्रतिनिधिसभाप्रति उत्तरदायी हुने शक्तिशाली स्वतन्त्र लोकपाल गठन गर्नुपर्ने माग दोहोर्याएका छन्। आवश्यक कागजात तथा अभिलेख झिकाउने, सम्बन्धित व्यक्तिहरूलाई उपस्थित गराउने, प्रमाण संकलन गर्ने र कानुनी प्रक्रियाअनुसार कारबाही सिफारिस गर्ने अधिकारसहितको लोकपाल आवश्यक रहेको उनको भनाइ छ।
हमालले प्रधानमन्त्रीदेखि विपक्षी दलका सभापतिसम्ममाथि प्रश्न उठेको अवस्थामा विद्यमान राज्य संयन्त्रबाट निष्पक्ष अनुसन्धान सम्भव हुनेमा आशंका व्यक्त गरेका छन्। साथै, प्रहरी हिरासतमा रहेका सापकोटाको बयान, अडियो तथा निजी सन्देशहरू छानीछानी सार्वजनिक भइरहेको भन्दै सूचना चुहावटको स्रोत र उद्देश्यबारे समेत छानबिन हुनुपर्ने बताएका छन्।
त्यस्तै, जेनजी अगुवा मिराज ढुङ्गानाले राज्य दोहनमा संलग्न जोकोहीलाई उन्मुक्ति दिन नहुने बताएका छन्। उनले सापकोटाबाट प्राप्त सामग्री र बयानका आधारमा कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको डिल भएको तथा न्यायालयको फैसलालाई प्रभावित पार्ने उद्देश्यले प्रधानमन्त्रीबाट निर्देशन आएको आरोपको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्।
अर्की जेनजी अगुवा रक्षा बमले पनि प्रकरणमा जोडिएका सबै उच्च पदस्थ व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने बताएकी छन्। प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश तथा अन्य न्यायाधीश, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वमन्त्री, प्रहरी महानिरीक्षक ९क्ष्न्ए० र प्रमुख प्रतिपक्षी दलका सभापति गगन थापासमेत कोही पनि अनुसन्धानको दायराभन्दा बाहिर हुन नहुने उनको भनाइ छ।
‘यदि यो देशमा विधिको शासन साँच्चिकै छ भने जनतालाई सबै नालीबेली थाहा देऊ,’ बमले भनेकी छन्।
तीनै जेनजी अगुवाहरूले प्रकरणमा उठेका आरोपको राजनीतिक प्रभावभन्दा माथि रहेर प्रमाणका आधारमा निष्पक्ष छानबिन गर्न, सत्यतथ्य सार्वजनिक गर्न र दोषी देखिएकालाई कानुनअनुसार कारबाही गर्न माग गरेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




