हिमाली भेगका गोठालाका भरपर्दा साथी भोटे कुकुर

काठमाडौं: म्याग्दीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पशुपालन गर्ने किसानका लागि भोटे कुकुर अपरिहार्य बनेका छन्। धवलागिरि गाउँपालिका-५ मल्कवाङका हिमबहादुर छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेडाबाख्राको सुरक्षाका लागि पाँचवटा भोटे कुकुर पालेका छन्। २० वर्ष युएईमा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालका अनुसार घना जङ्गल र विकट भूगोलमा कुकुर किसानका लागि भरपर्दो साथी र सुरक्षाकर्मी हुन्।
म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रमा घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर पाल्नु बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका-४ सिम्कोशका आस्मान पुर्जाले बताए। स्थानीय किसानहरू कम्तीमा ३० किलोग्रामभन्दा बढी तौल भएका दुईवटा भोटे कुकुर पाल्ने गर्छन्। यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर खतराको सङ्केत गर्ने र गोठालालाई सचेत गराउने क्षमता राख्छन्। यस्ता कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेका छन्।
अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेडापालन गर्दै आएका छन्। उनका अनुसार चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने जङ्गलमा कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन्। कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्ने अवस्था आउँछ। अर्का किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेडाबाख्रा फर्काउन र हराएका पशु खोज्न पनि कुकुरले सघाउँछन्।
मनिराम पाइजाका अनुसार कुकुरले गोठालाको दैनिकी सहज बनाउँछन्। पशु चराउन लैजाँदा बथानको पछि लाग्ने, अप्ठ्यारो भीरमा जान नदिने र साँझ परेपछि पशुलाई गोठमा फर्काउने काम कुकुरले गर्छन्। गोठमा पालिएका कुकुरलाई पिठोको खोले, भेडाको दूध र मासु खुवाउने गरिन्छ। हाल आधुनिक जीवनशैलीका कारण परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा परे पनि भोटे कुकुर भने पुस्तौंदेखि गोठालाका अभिन्न सारथि बनेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




