एनसेल बिजनेसले ल्यायो ‘क्लाउडसुइट’, नेपाली मुद्रामै डोमेन र वेब होस्टिङ

काठमाडौं । एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक संस्था तथा अन्य संघ–संस्थालाई लक्षित गर्दै ‘एनसेल बिजनेस क्लाउडसुइट’ सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीका अनुसार नयाँ प्लेटफर्ममार्फत डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एउटै स्थानबाट लिन सकिनेछ।
क्लाउडसुइटमा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन प्रशासनलगायतका सुविधा समावेश गरिएको एनसेलले जनाएको छ।
अन्तर्राष्ट्रिय वेब होस्टिङ सेवा प्रयोग गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै क्लाउडसुइटमार्फत नेपाली मुद्रामै सेवा उपलब्ध गराइएको कम्पनीको भनाइ छ। साथै, यस सेवामार्फत वेबसाइट र सम्बन्धित डेटा नेपालमै होस्ट हुने एनसेलले जनाएको छ।
कम्पनीले क्लाउडसुइटअन्तर्गत ‘बेसिक’ र ‘प्रो’ गरी दुई प्रकारका वेब होस्टिङ प्याकेज ल्याएको छ। बेसिक प्याकेजको मासिक शुल्क १ हजार रुपैयाँ तोकिएको छ। यसमा ३ जीबी साझा स्टोरेज, व्यावसायिक इमेल, एसएसएल सर्टिफिकेसन, स्वचालित ब्याकअप र सुरक्षा सुविधा उपलब्ध हुनेछन्।
त्यस्तै, प्रो प्याकेजको मासिक शुल्क २ हजार रुपैयाँ रहेको छ। यसमा थप स्टोरेज तथा डेटा ट्रान्सफरका साथै २० वटासम्म व्यावसायिक इमेल खाता, १० वटा डेटाबेस र पाँच वटासम्म सबडोमेन प्रयोग गर्न सकिने सुविधा दिइएको छ। प्रो प्याकेजमा पनि एसएसएल, स्वचालित ब्याकअप र सुरक्षा सुविधा समावेश छन्।
एनसेलका चिफ इन्टरप्राइज बिजनेस अफिसर डिओन एसेन्सिओले डोमेन र भरपर्दो वेब होस्टिङ डिजिटल उपस्थितिको आधार भएकाले व्यवसायलाई डिजिटल रूपान्तरणमा सहज बनाउन क्लाउडसुइट ल्याइएको बताए।
उनका अनुसार स्थानीय पूर्वाधार, नेपाली मुद्रामा भुक्तानी र नेपालमै डेटा होस्टिङको व्यवस्थाले व्यवसायलाई आफ्नो डिजिटल सम्पत्तिमाथि थप नियन्त्रण कायम गर्न सहयोग पुग्नेछ।
कम्पनीले डेटा नेपालभित्रै होस्ट हुने भएकाले ग्राहकले आफ्नो वेबसाइट तथा अन्य डिजिटल सम्पत्ति देशभित्रै राख्न सक्ने जनाएको छ। यसबाट डेटा व्यवस्थापनमा थप नियन्त्रणका साथै नियामक आवश्यकताहरू पूरा गर्न पनि सहज हुने एनसेलको दाबी छ।
एनसेलका अनुसार क्लाउडसुइटको पहिलो चरणमा डोमेन दर्ता र वेब होस्टिङ सेवामा केन्द्रित गरिएको छ। आगामी चरणमा प्लेटफर्ममार्फत थप डिजिटल सेवाहरू विस्तार गर्ने कम्पनीको योजना छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया (0)
प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्।
कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!




